काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद भूमिका खेलेको आरोप लागेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरमाथि अर्काे गम्भीर आरोप लागेको छ । भूमाफियासँग मिलेर प्रहरी कार्यालय नै उठाउन लागेको आरोप उनीमाथि छ ।
पञ्चायतकालदेखि ललितपुरको लगनखेलको बसपार्कमा रहेको वडा प्रहरी कार्यालय सारेर त्यहाँ व्यापारिक भवन बनाउन एक समूहले चलखेल गरिरहेको छ । जसको मतियार आइजिपी कुँवर समेत भएको आरोप छ ।
ललितपुर महानगरपालिकाले केही व्यापारीसँग मिलेर सो सरकारी जग्गामा व्यापारिक भवन बनाउन लागेको हो । त्यसका लागि १२ नम्बर वडा कार्यालयको भवन भत्काइसकेको छ भने, त्यही रहेको प्रहरी कार्यालय पनि भत्काउने तयारी छ । स्थानीयले माफियाको चलखेलको विरोध गरेका छन् तर, प्रहरी महानिरीक्षक कुँवर आफैं ललितपुर पुगेर प्रहरी कार्यालय सार्न हस्ताक्षर गरेपछि यतिबेला उनको नियतमाथि अनेक प्रश्न उठेका छन् ।
गत १९ बैशाखमा ललितपुर महानगरपालिकाको कार्यालयमा गएर उनले प्रहरी कार्यालय भत्काएर व्यापारिक भवन बनाउन हस्ताक्षर गरेका हुन् । मातहतको प्रहरी कार्यालयलाई समेत बेवास्था गरेर आइजिपी आफैं त्यसरी महानगरपालिकाको बैठकमा गएर प्रहरी कार्यालय सार्न हस्ताक्षर गर्नुले उनको नियमतमाथि समेत प्रश्न उठेको छ ।
करिब दुई रोपनी जग्गामा व्यापारी केबी महर्जनले आँखा लगाउँदै आएका छन् । सो जग्गाको पछाडि उनले थप जग्गा किनेर राखेका छन् । तर, सो जग्गामा जाने बाटो सानो छ । वडा र प्रहरीको भवन भत्काएर नयाँ बनाउँदा बाटो बढाउन पाइने र त्यसबाट उनको जग्गाको करोडौं मूल्य बढ्नेछ । त्यसका लागि अहिले त्यहाँ व्यापारिक भवन बनाउन लागिएको हो । अझ रमाइलो त सो जग्गामा भवन बनाउने ठेक्का समेत सेटिङमा उनै महर्जनले पाएका छन् । उनको जग्गालाई समेत फाइदा हुने गरी नक्सापास मिलाइएको छ ।
यस्तो नीतिगत भ्रष्टाचारमा प्रहरी महानिरीक्षक समेत हिस्सेदार बनेका छन् । इमान्दार छवी भएका कुँवरलाई यो प्रकरणले ठूलै धक्का लाग्ने देखिन्छ । यो चलखेलविरुद्ध स्थानीयले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा समेत उजुरी गरेका छन् ।
बसपार्कमै रहेको प्रहरी कार्यालय उठाएर गल्लीभित्र लैजादा त्यहाँको शान्ति सुरक्षा समेत प्रभावित हुनसक्ने उनीहरुको चिन्ता छ । आइजिपी बनाउन सहयोग गर्ने समहूले नै कुँवरलाई सो विषयमा हस्ताक्षर गर्न दबाब दिएको स्रोत बताउँछ ।