Logo
Logo

मनले खाएको भेटेकी छुइनँ-सुस्मा खेवा, अभिनेत्री तथा मोडल


- दृष्टि न्युज/संवाददाता

0
Shares

सन् २०१७ की ‘मिस नेपाल हङकङ’ सुस्मा खेवा यतिखेर नेपालमा छिन् । उनी आफ्नो डेब्यू फिल्म ‘घरजम’को प्रमोशनका लागि यहाँ आएकी हुन् । सन् २००८ देखि हङकङलाई कर्मथलो बनाउँदै आएकी सुस्मा मोडलिङ र अभिनयमा रुचि राख्छिन् । उनी ‘घरमजम’बाट उत्साहित छिन् । फिल्मको विशेष–शोमा भेटिएकी सुस्माले भनिन्, ‘घरजम मेरो डेब्यू फिल्म हो । तर, फिल्मबाट राम्रो प्रतिक्रिया पाइरहेकी छु । त्यसैले म उत्साहित छु ।’ नेपाली कला क्षेत्रमै ‘करिअर’ बनाउने लक्ष्य लिएकी सुस्माले भनिन्, ‘अब मोडलिङ र फिल्मी अभिनयलाई एकसाथ अगाडि बढाउनेछु ।’ ‘घरजम’ कल्चरल फिल्म हो । सुस्मा व्यवसायी फिल्ममा काम गर्न चाहन्छिन् । पछिल्लो समय नेपाली फिल्म राम्रो बन्न थालेको उनको बुझाइ छ । यिनै पूर्वमिस नेपाल हङकङ तथा ‘घरजम’ अभिनेत्री सुस्मा खेवासँग एमपी सुब्बाको जम्काभेट :

हङकङ बस्न थाल्नुभएको कति भयो ?

म हङकङ बसेको एक दर्शकभन्दा बढी भयो । सन् २००८ देखि म ढुक्कले हङकङ बस्न थालेकी हुँ । त्यसअघि पनि आउ–जाऊ गर्थेँ ।

यसपटक केका लागि नेपाल आउनुभएको हो ?

मेरो फिल्म ‘घरजम’ नेपालको विभिन्न सहरमा विशेष ‘शो’ भइरहेको छ । यही फिल्म प्रमोशनका लागि आएकी हुँ । यो मेरो डेब्यू फिल्म पनि हो ।

आफ्नो डेब्यू फिल्मबाट कस्तो रेस्पोन्स पाउनुभयो ?

अहिलेसम्म राम्रै ‘रेस्पोन्स’ पाइरहेकी छु । यो फिल्मको सार्वजनिक ‘शो’ भएको छैन । पूर्वको विभिन्न सहरमा भएको विशेष ‘शो’हरुबाट भने राम्रै प्रतिक्रिया आइरहेको छ । फिल्म हेर्ने जतिले मन पराएका छन् ।

फिल्ममा आउनुअघि के गर्नुहुन्थ्यो ?

म्युजिक भिडियोहरुमा मोडलिङ गर्थेँ । मोडलिङ त अझै पनि गर्छु । अहिलेचाहिँ यो फिल्मले गर्दा ध्यान यतैतिर छ ।

‘मिस नेपाल हङकङ’ भएपछि मोडलिङ सुरु गर्नुभएको हो ?

होइन, ‘मिस नेपाल हङकङ’ हुनुअघि पनि म्युजिक भिडियोहरुमा मोडलिङ गर्थेँ । मिस नेपाल हङकङको उपाधि जितेपछि चाहिँ अलि बढी सक्रिय भएकी हुँ ।

तपाइँको पहिलो फिल्म हो, ‘घरजम’ । यो फिल्म सुटिङको अनुभव कस्तो रह्यो ?

यो पूरै फिल्ममा गाउँघरमा खिचिएको छ । कल्चरल फिल्म भएकाले पहाडी गाउँमा सुटिङ गरिएको छ । मेरो सानैदेखि सहरमा बस्ने बानी । त्यसैले सुरुमा निकै गाह्रो भयो । अभिनयभन्दा गाउँको वातावरणसँग नजिक हुन केही समय लाग्यो । तर, पहिलो फिल्म भएकाले ‘एक्साइटेड’ थिएँ । त्यसैले गाह्रो हुँदा पनि सजिलो महशुस गरेँ ।

यो फिल्मबाट के सिक्नुभयो ?

फिल्म ‘घरजम’बाट धेरै कुरा सिक्न पाएँ । सबैभन्दा ठूलो कुरा आफ्नो भाषा, संस्कृति र कलाबारे बुझ्ने मौकापाए । नत्र मलाई केही थाहा थिएन ।

फिल्म ‘घरजम’ले के सन्देश दिन्छ ?

यो फिल्मले छोरा र छोरी एउटै हो भन्ने सन्देश दिन्छ । पूर्वी नेपालमा विशेषगरी लिम्बू समुदायमा छोरीलाई लाहुरेसँग विवाह गरिदिने चलन छ । तर, यो फिल्मको सारचाहिँ माया गरेको मान्छेसँग घरजम गर्नुपर्छ भन्ने हो ।

वास्तविक जीवनको घरजमबारे चाहिँ के सोच्नुभएको छ ?

अहिलेसम्म केही सोचेकी छैन । अहिले समय पनि भएको छैन । त्यो सोच्ने दिन पनि आउँला नि । अहिलेसम्म मनले खाएको पनि भेटेकी छैन ।

नेपाली फिल्म कतिको हेर्नुहुन्छ ?

पहिले हेर्दिनँथिएँ । तर, अहिलेचाहिँ हेर्न थालेकी छु । पछिल्लो समय नेपाली फिल्म पनि राम्रो बन्न थालेको छ । खुसी लाग्छ ।

नेपाली फिल्मका कलाकार को–को चिन्नुहुन्छ ?

खासै चिन्दिनँ, त्यतिधेरै नेपाली फिल्म हेरेकी छैन । मैले चिनेको भनेको अनमोल केसी, अनुपविक्रम शाही अनि स्वस्तिमा खड्कालाई चिन्छु ।

नेपाली फिल्म निकै ग्ल्यामर्स बन्न थालेको छ । अहिले चलेको ‘ग्ल्यामर्स टे«ण्ड’सँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ ?

सक्छु भन्ने हिम्मत छ किनकि, म पनि नेपाली फिल्म क्षेत्रमा केही गरौँ भनेर लागेकी हुँ । त्यसैले अहिले नेपाली फिल्म क्षेत्रमा चलिरहेको जति ग्ल्यामर्स दिन सक्छु ।

‘आइटम डान्स’का लागि अफर आयो भने नि ?

त्यसका लागि त सोच्नुपर्छ । पहिले गीत सुन्छु अनि मात्र निर्णय गर्छु । मन प¥यो भने ‘आइटम’ डान्स पनि गर्छु ।

प्रतिक्रिया दिनुहोस्