काठमाडौं । नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धिकरण अभियानप्रति समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै महासंघले ‘शुद्धिकरण’ को विषयलाई दुरुपयोग गर्दै पूर्वाग्रही गतिविधि तत्काल रोक्न महासंघ नेतृत्वसमक्ष माग गरेका छन् । शुद्धिकरणसम्बन्धी मापदण्डको एकरुपता कायम गरी देशभरि एउटै मापदण्डसहित यस अभियानलाई अगाडि बढाउन अध्यक्ष सुवेदीले महासंघको प्रदेश र केन्द्र नेतृत्वसँग माग गरेका छन् ।
अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘महासंघले अगाडि सारेको शुद्धीकरण अभियानप्रति समाजवादी प्रेस संगठनको पूर्णतः साथ, समर्थन र सहयोग रहे पनि पत्रकारिता गर्ने पत्रकारहरु मात्रै महासंघको सदस्य हुनुपर्छ भन्ने मूलध्येयका साथ यस संगठनसमेतको प्रस्तावमा महासंघको २०७९ पुस ८–९ मा सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाले उक्त प्रस्ताव पारित गरेकामा त्यस विपरीत स्मरणीय छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ ‘शुद्धिकरणको विषय र उद्देश्य सकारात्मक हुँदाहुँदै पनि विभिन्न जिल्ला शाखाले सदस्यता नवीकरणका सिलसिलामा पूर्वाग्रहवस काम गरेको पाइएको छ । बिना आधार र तर्क सदस्यको सूचीबाट ‘शुद्धिकरणमा पारिएको’ सन्दर्भमा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफूखुशी मापदण्ड तय गर्ने, फरक संगठन वा समूहमा आवद्ध भएकै नाममा ‘शुद्धिकरण गरियो’ भन्नेजस्ता मनोमानीपूर्ण काम भएका छन् । कतिपय पत्रकारहरु राजनीतिक दल वा अन्य संस्थाको सदस्य भए पनि कार्यकारी भूमिकामा नरहँदा ‘शुद्धिकरण’ नगर्ने पूर्वसहमति उल्लंघन भइरहेका छन् । हाम्रो संगठनका महासचिव रामकुमार एलन, संस्थापक चमिना भट्टराईसहित थुप्रै साथीहरु त्यस्तो पूर्वाग्रही मापदण्डको शिकार हुनुभएको छ ।
त्यसबाहेक यस संगठनमा आवद्ध देशभरका थुप्रै साथीहरुलाई छानीछानी ‘शुद्धिकरण’ का नाममा महासंघको सदस्य हुनबाट बञ्चित गरिएको छ । नयाँ सदस्यता आवेदन गर्नुहुने संगठनका केन्द्रीय सदस्य एवं माउण्टेन टेलिभिजनका संवाददाता कुशल दलामी ९बाँके० सहितका साथीहरु यस संगठनमा आवद्ध भएकै नाममा महासंघको सदस्य हुनबाट बञ्चित हुने स्थिति छ । हाम्रो संगठन शुद्धिकरण पक्षधर हुँदाहुँदै पनि पूर्वाग्रही भूमिका र मापदण्डको शिकार भई सदस्यता सूचीबाट नाम हटाइएकोप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।’