काठमाडौं । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको छ । आइतबार महानगर प्रहरीको टोली बिभिन्न हलहरुमा पुगेर सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन नगर्न आग्रह गरेको हो ।
सो क्रममा महानगर प्रहरीले सोमबारदेखि नेपाली फिल्म मात्रै प्रदर्शन गर्न आग्रह गरेको थियो । यसअघि आइतबार नै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताएका थिए ।
महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन् । सो क्रमम हल सञ्चालकहरुले महानगरको निर्देशनलाई पालना गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भने, ‘हामी मेयर बालेनको निर्देशन मान्न तयार छौँ ।’
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका थिए । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई नचसच्चाएको महानगरले जनाएको छ ।