सुर्खेत, २७ मंसिर । वर्षासँगै हिमपात भएपछि चिसो बढेको छ । साथै सुर्खेतमा बिहानैदेखि वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई सास्ती भएको छ ।
यही १९ मंसिरदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भएपनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका–४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए ।
उनले भने, ‘बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ । वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।’ स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उनको भनाइ थियो ।
चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टंकबहादुर महतले भारी हिमपातले थरथर काँपेर परीक्षार्थी लेख्न बाध्य भएका बताए । उनले हिमपातले विद्यार्थी शिक्षक सबैलाई परीक्षा दिन लिन गाह्रो भएको छ । चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन । हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ । गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए ।
कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ । सरकारी कर्मचारी आगो बालेर कार्यालय सञ्चालन गरिरहेका जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए ।