कम्युनिष्ट नेतृत्व विचार, आदर्श र सिद्धान्तबाट च्युत भइसकेका छन् । मूल्य र मान्यताबाट विचलित नेताले नेतृत्व गर्ने कम्युनिष्ट पार्टी बलियो हुने कुरा हुँदैन । नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त हुँदा जनतासँग कम्युनिष्ट शक्तिको सम्बन्धको दूरी धेरै लामो भइसक्यो ।
कम्युनिष्ट नेता र उनीहरूले नेतृत्व गर्ने दलले बाटो बिराए पनि बहुसङ्ख्यक जनता ‘सेन्ट्रल टू लेफ्ट’ नै रुचाउँछन् । पछिल्लो आम निर्वाचनकै परिणामलाई हेर्दा हुन्छ । तीनै तहमा ‘सेन्ट्रल टू लेफ्ट’ धारकै प्रतिनिधि करिब ७० प्रतिशत निर्वाचित भए । नेपालको सन्दर्भमा ‘सेन्ट्रल टू लेफ्ट’ धारलाई नै कम्युनिष्ट मान्नुपर्ने हुन्छ । तर, त्यो मत विभाजित छ ।
कम्युनिष्ट विभाजित हुँदा बहुसङ्ख्यक जनताको आस्था नै निरीह बनेको छ । आचरणगत रूपमा कम्युनिष्ट नरहे पनि आफूलाई कम्युनिष्ट नै दाबी गर्ने नेकपा एमाले संघ र प्रदेश सरकारमा छैन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा छन् । तर, धरातल अत्यन्तै कमजोर छ । यसरी कम्युनिष्ट शक्ति विभाजित हुँदा गैरकम्युनिष्ट शक्ति निर्णायक बनेको छ ।
संसदीय अभ्यासमा तेस्रो शक्तिको साथ लिएर पहिलो पार्टीले सरकारको नेतृत्व गर्नु स्वाभाविक मानिन्छ । पहिलो दलको साथ लिएर तेस्रो पार्टीले बिरलै सरकार गठन गर्छ । ८८ सिट भएको कांग्रेसको साथमा ३२ सिट मात्र भएको माओवादीले सरकारको नेतृत्व गर्दा १० सिट भएको एकीकृत समाजवादी सारथि बनेको छ । सेन्ट्रल टू लेफ्ट धारकै १२ सिट भएको जसपा पनि सँगै छ । सरकार निर्माण र सञ्चालनमा यो भन्दा बिजोग अवस्था हुँदैन ।
पृथक् परिस्थिति बन्दा कमजोर धरातलमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने अवसर पाए । जुन सरकार तासको घर झैँ कुनै पनि बेला ढल्न सक्छ । सत्ता जोगाउन प्रचण्ड अनेक बाँध बाँधिरहेका छन् । राजनीतिक आदर्शबाट च्युत हुँदै गेरु धारण गरेका प्रचण्ड पशुपतिको दर्शन लगायतमा गतिविधिमा तल्लीन छन् । प्रचण्डका गतिविधि सत्ता जोगाउने भन्दा फरक उद्देश्यका होइनन् ।
यत्ति नै बेला ‘समाजवादी मोर्चा’ घोषणा भएको छ । माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी संलग्न छन् । यत्ति नै बेला यो मोर्चा घोषणा गर्नुलाई पनि प्रचण्डको सत्ता जोगाउने प्रयासकै रूपमा हेरिएको छ । जुन मोर्चासँग ५४ सिट हुन्छ । सरकारकै सारथीहरु मिलेर मोर्चा बने पनि प्रचण्ड सरकारलाई बलियो आड भने मिल्दैन ।
प्रचण्डले बहुमत सरकारको नेतृत्व गरिरहेका छन् । कमजोर धरातल भए पनि सरकार ढलिहाल्ने परिस्थिति चाहिँ बनिसकेको होइन । यस्तो अवस्थामा सत्तारुढ कांग्रेसलाई चस्को पर्ने गरी घोषणा गरिएको ‘समाजवादी मोर्चा’को धरातल भने आज बनेको होइन । यो मोर्चाको धरातल बुझ्न एकीकृत समाजवादी गठनको चरणसम्म फर्कनुपर्ने हुन्छ ।
दुईतिहाइ बहुमतको बलियो सरकार नेतृत्व गर्ने क्रममा केपी शर्मा ओलीले व्यवस्था मास्ने प्रयत्न गरे । त्यसपछि नेकपा विभाजन भयो । सँगै, एमाले विभाजित हुँदा एकीकृत समाजवादी गठन भयो । एकीकृत समाजवादी गठनको अन्तर्य अन्र्तय एमालेबाट विद्रोह मात्र थिएन । एकीकृत कम्युनिष्ट पार्टी निर्माण थियो । कालान्तरमा त्यो ‘समाजवादी केन्द्र’ निर्माणमा पुग्यो । त्यसको पहिलो प्रारूप हो– समाजवादी मोर्चा ।
माओवादी र एकीकृत समाजवादी मूलतः एकीकृत कम्युनिष्ट पार्टी गठनकै पक्षमा थिए । तर, बाबुराम भट्टराई नेतृत्वको ‘नेसपा’ र उपेन्द्र यादव नेतृत्वको ‘जसपा’ समेत सामेल हुने क्रममा ‘समाजवादी केन्द्र’को अवधारण अघि बढ्यो । संविधानमै सुनिश्चित समाजवादी यात्रालाई आधार मानेर कालान्तरमा एउटै पार्टी अर्थात् ‘समाजवादी केन्द्र’ निर्माण गर्न सकिन्छ भन्ने चारै शक्तिको बुझाइ हो ।
भविष्यमा एउटै पार्टी बनाउने उद्देश्यका साथ घोषणा गरिएको मोर्चाले साझा एजेन्डाहरू तय गरेको छ । मोर्चाको नेतृत्व चक्रीय प्रणालीमा हुने छ । तल्लो तहसम्म मोर्चाको संरचना बन्ने छ । साझा एजेन्डा र नेतृत्वबाट पार्टी एकताको आधार तय हुने मोर्चामा आबद्ध दलहरूको बुझाइ हो । तर, सोचे जसरी यो मोर्चाले एकीकृत पार्टीकै रूप धारण गर्ने कुरामा अनेक आशङ्का गर्ने सुविधा छ ।
समृद्ध समाजवादी सपना र उद्देश्यका साथ मोर्चाले साझा एजेन्डाहरू तय गरेता पनि यसको मूल उद्देश्य सत्ताका लागि शक्ति आर्जन गर्नु नै हो । तर, चार दल मिलेर बनेको वर्तमान मोर्चाले सत्ता शक्तिका लागि हस्तक्षेपकारी उपस्थिति जनाउने अवस्था छैन । शक्ति सन्तुलनमा थोरै मात्र हलचल हुँदा पनि संघ र प्रदेश सरकारमा यो मोर्चाको उपस्थिति नरहन सक्छ । त्यसैले सत्ताका लागि शक्ति आर्जन गर्ने प्रयासमा यो मोर्चा कामयाबी हुँदैन ।
तत्कालका लागि यो मोर्चा हस्तक्षेपकारी हुन नसके पनि उद्देश्य अनुरूप अघि बढ्ने हो भने आगामी निर्वाचनसम्म पुग्दा फरक परिस्थिति बन्न सक्छ । परिपक्व परिस्थिति निर्माण गर्दै राजनीतिक दलको रूपमा समाजवादी केन्द्र निर्माण भए आगामी निर्वाचनबाट अपेक्षाकृत शक्ति आर्जन हुनसक्छ । र, आज चाहेको ‘सत्ताका लागि शक्ति’ आगामी निर्वाचनबाट प्राप्त हुने सम्भावना रहन्छ ।
समाजवादी मोर्चा हुँदै समाजवादी केन्द्रको चरणसम्म पुग्ने सन्दर्भ त्यति सहज छैन । माओवादी र एकीकृत समाजवादी पूर्ण कम्युनिष्ट धारणका शक्ति हुन् । जसपा र नेसपाले आफूलाई कम्युनिष्ट नभएर समाजवादी शक्तिको रूपमा मात्र व्याख्या गर्छन् । चारै शक्तिको साझा लक्ष समाजवाद नै भए पनि कुन चरित्रबाट समाजवादी यात्रा तय गर्ने भन्ने सन्दर्भमा ठूलो मतभेद रहन सक्छ । जुन मतभेदले समाजवादी केन्द्र निर्माणको उद्देश्य पूरा नहुन पनि सक्छ ।
समाजवादी आचरण स्वीकार गरे पनि माओवादी र एकीकृत समाजवादीले कम्युनिष्ट आचरण छोड्न नसक्ने, जसपा र नेसपाले कम्युनिष्ट आचरण स्विकार्नै नसक्ने अवस्थामा समाजवादी केन्द्र बन्न सक्दैन । त्यस्तो अवस्थामा कम्युनिष्ट आदर्शबाट प्रेरित समाजवादी आचरणको पार्टी निर्माण गर्नु उपयुक्त हुन्छ ।
साना–साना पार्टीहरू मिलेर ठूलो पार्टी बन्ने सन्दर्भ नौलो होइन । विगतमा यस्ता प्रयासहरू भएका छन् । तर, सत्ता र शक्तिका लागि मात्र दलहरू एक भएको दुःखद दृष्टान्त प्रशस्तै छन् । सोही आलोकमा समाजवादी केन्द्र बन्नु र नबन्नुमा सार्थक फरक रहँदैन ।
२१औँ शताब्दीको उत्तरार्द्धमा पनि बाँकी रहेका तमाम सामाजिक, आर्थिक र राजनीतिक समस्याहरू समाधान गर्दै समाजवादसम्म पु¥याउन सक्ने राजनीतिक शक्ति निर्माण आजको आवश्यकता हो । नेतृत्वले युगको आवश्यकता बुझ्ने हो भने बन्ने ‘समाजवादी केन्द्र’ समाजवादी यात्राको संवाहक बन्न सक्ने सम्भावना रहन्छ ।