Logo
Logo

नेकपा स्थायी कमिटी बैठकको एजेण्डाभित्र सीमा विवाद


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकको एजेण्डमा सीमा विवाद पनि समेटिएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो । स्थायी कमिटिको बैठक पार्टी केन्द्र कार्यालय धूम्रबाहीमा दिउँसो १ बजे सुरु भएको छ ।
स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तयबारे छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । पछिल्लो समय भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीति नक्सामा नेपालको भूभाग समेत समेटेकाले चौचर्फी विरोध भइरहेको छ । यसैबेला नेकपाले आफ्नो स्थायी कमिटि बैठकमा लिखित रुपमा एजेण्डामा समेटेको हो ।
बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी थिए । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्ररूपमा सुधार भइरहेको जानकारी गराएका थिए । बैठकले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गरेको थियो ।
यसअघि यही मंसिर २३ गतेको सचिवालय बैठकले २७ गतेका लागि बैठक तय गरेको थियो । तर, स्थायी कमिटीको तयारीका कारण स्थगित गरिएको थियो । नेकपाका अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अन्य नेताहरुसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका हुन् ।
यही मंसिर ४ गते बसेको सचिवालय बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो । कार्यविभाजनपछि पार्टीको काममा अध्यक्ष दाहालको सक्रियता बढेको छ । करिब एक वर्षपछि नेकपाको स्थायी कमिटि बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्