काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको बताएको छ ।
प्रतिष्ठानका अध्यक्ष रिता थापामगरले सोमबार एक विज्ञप्ति जारी गर्दै रोमानियामा सपुतमाथि भएको क्रियाकलाले सम्पूर्ण नेपाली कलाकारको मन दुखेको बताएका हुन् ।
‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव प्रकाश सपुतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा आफ्नो प्रस्तुति दिइरहेका बेला बोत्तल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानको ठहर छ ।
आयोजक, त्यहाँस्थित कुटनैतिक नियोग एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको समेत ध्यानाकर्षण गराउँदै यस्ता घटनाले कलाकारको मनोबल गिर्नुका साथसाथै आफ्नै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छनीय क्रियाकलापले सम्पूर्ण नेपाली कलाकारहरूको मन दुखेको छ ।’ प्रतिष्ठानले दोषिमाथि कारबाही गर्न समेत माग गरेको छ ।
आइतवार राति रोमानियाको बुचारेस्टस्थित हेरस्त्राउ पार्कमा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल– २’ कार्यक्रममा प्रस्तुति दिइरहेका सपुतमाथि दर्शकले बोतल प्रहार गरेका हुन्। रक्सीसहितको बोतल उनको अनुहारमा लागेको भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा छाएको छ।