कोलम्बो । श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ ।
एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ ।
केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन् ।
चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ ।
सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो ।
कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ ।