Logo
Logo

आइजीलाई एसपीको चुनौती


12.1k
Shares

रुपन्देही । प्रहरी प्रधान कार्यालयले काजमा रहेका वा सरुवा–बढुवा भई अन्यत्र पदस्थापना भइसकेका प्रहरी कर्मचारीलाई यथाशीघ्र आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिए पनि रुपन्देहीमा अवज्ञा भएको पाइएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा आन्तरिक सुदृढीकरण ल्याउने तयारीस्वरुप अन्यत्र दरबन्दीका प्रहरीलाई यथाशीघ्र फिर्ता रवाना गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिए पनि त्यसको दुई महिना बितिसक्दा समेत रुपन्देहीमा पालना भएको छैन ।

सोर्सफोर्स भएका र हाकिमलाई चाकडी गर्न सक्नेलाई थमौती गर्ने र नसक्नेलाई दरबन्दीमा फिर्ता गरेर भेदभावपूर्ण कार्य गर्ने क्रम रुपन्देहीमा चलेको छ ।

कार्यक्षमतामा अत्यन्तै कमजोर मानिने रुपन्देहीका प्रहरी उपरीक्षक भरतबहादुर विकले इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ दरबन्दीका प्रहरी सहायक निरीक्षक मिलन जिसीलाई काखी च्याप्दै आएको स्रोतले बताएको छ ।

‘अनुसन्धान अधिकृत नभएको भन्दै तोकिएको दरबन्दीमा रमाना गर्न एसपी विक स्वयंले नै मानिरहेका छैनन्’ स्रोतले भन्यो । ४ वर्षदेखि कहिले चौकी इन्चार्ज त कहिले क्राइम इन्चार्ज बस्दै आएका असइ जिसीलाई भने थमौती दिइरहेका छन् ।

‘प्रहरी चौकी मेउडीहवा, प्रहरी चौकी बसपार्क इन्चार्ज हुँदै क्राइमको इन्चार्जमा खटिएका उनीसँग वडा प्रहरी कार्यालय भैरहवा दरबन्दी भएका प्रसह निवासबहादुर सिंह क्षेत्रीसमेत सँगै हुन्छन् । तर, यी क्राइम इन्चार्जसमेत रहेका असइ मिलन जिसीलाई भने एसपी विकले अझै दरबन्दीमा रवाना गरेका छैनन्’ स्रोतले भन्यो ।

विभागीय निर्देशन दिँदासमेत एसपी विकले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई रद्दीको टोकरीमा हालेका छन् ।

यसअघि यहाँका विवादित घुमुवा प्रहरी सहायक निरीक्षक कमल भट्टराईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले रोल्पा लखट्यो भने एसपी विक स्वयंले प्रहरी हवल्दार जन्तलाल गुप्तालाई इलाम दरबन्दीमा रमाना गरेका थिए । त्यस्तै, अर्का प्रसह तारा यादवलाई कपिलवस्तु रमाना गरिएको थियो ।

त्यस्तै, प्रहरी चौकी चिलियाबाट सइ प्रकाश शाहीलाई जिल्ला फिर्ता बोलाएको थियो । तर, असई मिलन जिसीलाई भने रुपन्देहीका एसपी विकले न दरबन्दी फिर्ता गर्न सके, न आन्तरिक ड्युटीमा नै खटाए ।

जबकि, काजमा बसेका र अन्यत्र दरबन्दीका प्रहरी कर्मचारीलाई रमाना गर्न प्रहरी प्रधान कार्यालयले बारम्बार परिपत्र गर्दै आइरहेको छ । एसपी विकले आनाकानी गर्दै आफ्नो दरबन्दी भएका कार्यालयमा प्रहरी कर्मचारीलाई हाजिर हुन नदिएर अन्याय गरिरहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्