Logo
Logo

सुन तस्करको प्रहरीलाई लाखौँ अफर


30.4k
Shares

काठमाडौं । नेपालमा भित्रभित्र ठूला मात्रामा सुन तस्करी भइरहेको पछिल्ला घटनाक्रमले देखाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिुद्युतीय चुरोटमा लुकाएर तस्करी गर्नेदेखि सीमा क्षेत्रमा सुन बरामदका घटनाले यसमा ठूलो गिरोह सक्रिय रहेको देखाउँछ ।

शनिबार रुपन्देहीमा सशस्त्र प्रहरीले करिब दुई केजी सुन बरामद गरेको घटनाले पनि यसमा ठूलै समूहको सक्रियता प्रष्ट हुन्छ । सशस्त्र प्रहरीको बयरघाट बिओपीले बा १२ च ३८२० नम्बरको मारुती कारमा लुकाएर भारत लैजान लागिएको सुन बरामद गरेको थियो ।

प्रहरीले कारका चालक दाङ घर भएका हुमानन्द गिरीलाई पनि पक्राउ गरेको छ । बरामद सुनको मूल्य करिब दुई करोड रुपैयाँ छ । सुन बरामद गरेको थाहा पाएलगत्तै एक तस्करले बिओपी इन्चार्ज रहेका सशस्त्र प्रहरीका इन्सपेक्टर शरण बहादुर खड्कालाई फोन गरेर लाखौंको अफर गरेका थिए । तर, उनले आफ्नो इमान बेचेनन् । सुन र गाडीलाई भन्सारमा बुझाएका छन् । सशस्त्र प्रहरीमा नाकाको सरुवामा विगतमा जस्तो सेटिङ नहुँदा इमान्दार अधिकृतहरुले अवसर पाउन थालेका छन्, जसको परिणाम यसरी देखिन थालेको छ ।

यसरी पक्राउ गरेलगत्तै लाखौंको अफर गर्नुले सो समूहले सेटिङमै सुन तस्करी गर्दै आएको प्रष्ट हुन्छ । नेपाल प्रहरीलाई पनि लाइन मिलाएको आशंका गरिएको छ ।

यदि, पक्राउ परेका युवकमाथि गहन अनुसन्धान हुन सकेमा तस्करीमा संलग्न उपल्लो तहको गिरोह समेत पक्राउ पर्ने सम्भावना छ । तर, भन्सारका कर्मचारीसँग अनुसन्धानको त्यो क्षमता नै छैन । यदि, गृह मन्त्रालय सक्रिय भएर यो विषयमा गम्भीर अनुसन्धानका लागि प्रहरीलाई खटाए सुन तस्करीमा संलग्न ठूलो गिरोह पत्ता लाग्ने सम्भावना छ ।

उता, विद्युतीय चुरोटमा सुन तस्करी घटनाको अनुसन्धानमा सिआइबीलाई सकस भएको छ । सुन बिक्रीमा संलग्न व्यक्तिहरू फरार भएपछि सुन त बरामद हुन सकेको छैन नै यसको धेरै पाटो खुल्न बाँकी नै छ । भन्सारका नासु रेवन्त खड्कासहित चार जनालाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

भन्सार एजेन्ट र नासुको योजनामा सुन रहेको सुटकेश नै साटेर अर्काे विद्युतीय चुरोट राखिएको थियो । यो घटनामा भन्सारका अन्य कर्मचारीको पनि मिलेमतोको आशंका गरिएको छ । भन्सार प्रमुख अरुण पोखरेल लगायतमाथि पनि छानबिन चलिरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्