Logo
Logo

अहिले विराटनगर निदाएको जस्तो छ : मुख्यमन्त्री कार्की


1k
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चालाउन आवश्यक भएको बताएका छन् । शनिबार विराटनगरस्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

‘आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनैबेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो, तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ, न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडोजस्तो भएको छ’ मुख्यमन्त्री कार्कीले भने ।

विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उनको भनाइ छ । प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जिवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

विराटननगरको निर्माणमा माडवारी समुदायले पु¥याएको योगदानको चर्चा गर्दै यहाँको माडवारी समुदायलाई बाहिरा पलायन हुन नदिन विराटनगरले योजना बनाउन आवश्यक भएको उनको सुझाव छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न हुनेगरी विराटनगर–१९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले विराटनगरलाई पुनर्जिवनमा सहयोग पुग्ने उनले बताए । उनले विराटनगर विमान स्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यालाई पुनः निरन्तरता दिन आवश्यक भएको औल्याए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक र राजनीतिज्ञहरुको नगरीको रुपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बताए ।

सो अवसरमा नेपाल राष्ट्रिय माडवारी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तल, माडवारी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्वअध्यक्ष ताराचन्द खेतान लगायतका व्यक्तिहरुले विराटनगर अतिथि सदन निर्माणका बारेमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्