Logo
Logo

तराईमा चिसोको कहर, जनजीवन प्रभावित


- दृष्टि न्युज/संवाददाता

0
Shares

महोत्तरी, २ पुस । मध्यपूर्वी तराईमा चिसोको कहर बढेसँगै जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि लगातार चिसो हावासँगै लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो ।
मंगलबार दिउँसोदेखि घाम देखिन छाडेको छ भने लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मललबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले झनै बढाएको छ । महोत्तरीको पूर्वपश्चिम राजमार्ग वरपर तुसारोसँगै सिरेटो चलेको छ भने मध्य र दक्षिणी क्षेत्रमा भने बाक्लो हुस्सुले ढाकेको छ ।
तुसारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारु चहलपहल स्वात्तै घटेको छ । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानले बताएका छन् ।
बढ्दो जाडोले यस भेगका गरीब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलका पिर्ता सादा मुसहरले बताए । चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहारसम्भार कठिन भएको छ ।
यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेको छ । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरीब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघसंस्थाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्