काठमाडौं । बसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक भएको एक सय दिन पुरा भएको छ । सय दिनमा उनले संगठनमा सुधारको कुनै सन्देश दिन सकेका छैनन् । बरु कमजोर कमाण्डका कारण उनको आलोचना हुन थालेको छ ।
सय दिनको अवधि पुग्दा पनि उनले आफ्नो कार्ययोजना समेत तयार गर्न सकेका छैनन् । दुई वर्षका लागि महानिरीक्षकमा नियुक्त भएकोमा तीन महिनासम्म कार्ययोजना नै बनाउन नसक्नुले उनको कार्यक्षमताको कमजोरी बाहिरिएको छ । सामान्यतया आइजिपीले आफ्नो कार्यकालको कार्ययोजना बनाउने प्रचलन छ ।
कुँवरले कार्ययोजना बनाउने जिम्मा एआइजी टेकप्रसाद राईलाई दिएका थिए । राइले प्रारम्भिक खाका बनाएपनि महानिरीक्षक कुँवरले त्यसलाई अन्तिम रुप दिएर कार्यान्वायनमा लैजान सकेका छैनन् ।
त्यो त सुरुदेखि नै कमाण्ड कमजोर भएको आरोप कुँवरमाथि लागेको छ । भुटानी शरणार्थी प्रकरणमै आइजिपी कुँवरले चाहेजस्तो भएन । उनलाई आइजिपी बनाउन भूमिका खेल्ने बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस नेताहरुकै उनले गाली खानुप¥यो । अर्काेतर्फ त्यो अपराधमा संलग्नलाई संरक्षण दिएको गम्भीर आरोप समेत उनीमाथि लागेको छ । यद्यपि, यो विषयमा सरकारले छानबिन नगरेपछि उनीमाथिको संकट टरेको छ ।
काज सरुवाको विकृती रोक्न भने उनले केही सकारात्मक प्रयास गरेका छन् । करिब पाँच हजार प्रहरीलाई दरबन्दीमा पठाए । मधेसमा वर्षाैदेखि तस्करीको सेटिङ मिलाउँदै आएका घुमुवालाई २४ घन्टे रमाना दिएर पहाडी र हिमाली जिल्लामा लखेटेर शुद्धीकरणको प्रयास गरे ।
पछिल्लो समय ललिता निवास प्रकरणमा अनुसन्धानको आँट गरेर उनले प्रहरीको छवी माथि उठाएका छन् । तर, यो मुद्दामा प्रहरीले कत्तिको गहनताका साथ अनुसन्धान गर्ने आँट गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
एसपी र डिएसपी बढुवामा उनले चलखेल रोक्न सकेनन् । विगतमा कारबाहीमा परेकाहरु बढुवा हुँदा इमान्दार अधिकृतहरु छुटे । बढुवामा एआइजी लगायत बिचौलियाले खुलेआम चलखेल गर्दा पनि त्यसमा छानबिन गराउने हिम्मत पनि नगरेपछि उनी निरिह भएको आरोप लाग्ने गरेको छ ।
त्यसो त प्रहरीमा नियमित सरुवा हुन सकेको छैन । चैतमा हुनुपर्ने इन्सपेक्टर सरुवा निकाल्न नसकेपछि आफैं काज खटाउन थालेका छन् । एसपी र डिएसपीको सरुवा पनि टकरावकै कारण हुन नसकेको स्रोत बताउँछ ।
आगामी दिनमा सरुवा–बढुवामा कति न्यायोचित निर्णय गर्न सक्छन् र प्रहरीभित्रको चेन अफ कमाण्डलाई बलियो बनाउन सक्छन्, त्यसले कुँवरको भविष्य निर्धारण हुनेछ । तर, एक सय दिनको मूल्याङकनमा उनले प्रहरी संगठनलाई बलियो बनाउन सक्नेमा भने प्रश्न गर्ने प्रशस्त ठाउँ छन् ।