Logo
Logo

कलैया उपमहानगरमा तालाबन्दी प्रकरणः मेयरले मात्रै घुस लिएपछि आफ्नै पार्टीका बने बिरोधी


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौँ, पुस २ । पैसा चिन्ने व्यक्तिले जस्तो ठुलो पदमा पुगे पनि पदको मर्यादाको कदर नगरी पैसा मात्र कमाउने तिर लाग्ने भनाईलाई सत्य साविक गरेका छन् कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले ।

कलैया उपमहानगरमा तालाबन्दी गरिसकेपछि उपमयेर रहिमा खातुन

कलैया उपमहानगरपालिकाको प्रमुख बन्नु भन्दा पहिला जग्गाको कारोबार, व्याजमा पैसा लगानी गर्ने र कोल्ड स्टोल सन्चाल गरी पैसा मात्र कमाउने छवि बनाएका यादवले अहिले पनि पैसाकै पछि लागेर जुन पार्टीबाट चुनाव जितेका थिए त्यसै पार्टीलाई नै बदनाम गराएका छन् ।
उपमहागरपालिकाको प्रमुख पदमा पुगेपछि जसरी पछि पैसा मात्रै कमाउने धन्धामा लाग्दा आफनै पार्टीका उप प्रमुख रहेकी रहिमा खातुन लगायत नेता–कार्यकर्ता टाढिदै गएका छन् ।

काँग्रेस पार्टीबाट तेस्रो चरणको स्थानीय तहको निर्वाचवमा कलैया उपमहानगरपालिकाको प्रमुखमा राजेश राय यादव र उपप्रमुखमा काँग्रेस पार्टीकै रहिमा खातुन निर्वाचित हुँदा पार्टीका नेतादेखि कार्यकर्ताहरु खुशीले गदगद बनेका थिए ।
बाराको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकामा राम्रो विकास गरेर जिल्लाभरि नै काँग्रेस पार्टीको राम्रो सन्देश दिनुको साट्टो भ्रष्ट कर्मचारीहरुको पछि लागेर पैसा मात्रै कमाउन शुरु गरेपछि प्रमुख र उप प्रमुखबीच विवाद शुरु भएको छ ।

विवाद बढदै गएपछि उप प्रमुख रहिमा खातुनले मंगलबार कलैया उपमहानगरपालिकालको कार्यालयमा ताला बन्दी समेत गरेकी छिन् ।
तालाबन्दी गर्ने कार्यमा उप प्रमुख खातुनलाई काँग्रेस पार्टीबाट निर्वाचित १ नम्बरका वडा अध्यक्ष हरिओम साह सोनाले साथ दिएका छन् ।
काँग्रेस पार्टीमा खासै लगानी नगरेको भए पनि काँग्रेस केन्द्रीय सदस्य राधेचन्द्रका छोरा भएका कारणले पार्टीले टिकट दिएको र उपमहागरपालिका प्रमुख बनेपछि कांग्रेसी पार्टीका नेता, कार्यकर्तालाई पैसाको अगाडि कुनै इज्जत र मान सम्मान नगर्ने गरेकाले काँग्रेस पार्टीबाट नै निर्वाचित एक वडाध्यक्षले बताए ।

नगर प्रमुख यादवलाई बाराका काँग्रेसको देउवा गुटले पार्टी सभापति बनाउने भित्रभित्रै तयारी समेत गरेका छन् ।
तर नगर प्रमख बन्दा पैसाकै पछि लागेको, पार्टीका नेता कार्यकर्तालाई बेवास्ता गरेको देखेर अरुलाई नै पार्टी सभापति बनाउनेतिर समेत देउवा गुटकै केही नेताहरु लागेका काग्रेस बाराका एक नेताले बताए ।

मेयर राजेश राय यादव

शुरुमा निर्वाचित भएको केही महिनासम्म कलैया उपमहागरपालिकालाई राम्रो तरिकाले स्वच्छ छवि बनाएर चलाए । पछि भ्रष्ट कर्मचारीको परिचय पाएका माधवप्रसाद यादव र मुस्ताक अंसारीले आफू बच्नको लागि नगर प्रमुख यादवलाई समेत भ्रष्ट तरिकाले पैसा कमाउने कार्यमा संलगन गराउन सफल भएपछि यादव अहिले पैसामात्रै चिन्ने गरेका ती वडा अध्यक्षले बताए ।

अहिले आएर प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले कमिसन आउने काम मात्रै गर्ने गरेको र प्रमुख यादवले आफुलाई पनि कमिसन आउने भएपछि त्यसैलाई समर्थन गर्ने गरेका कारणले कलैया उपमहानगरपालिका भाँडभैलो भएको वडा अध्यक्षहरुले गुनासो गरेका छन् ।

उपमेयर रहिमा खातुनले मेयरले स्थानीय सरकार संचालन ऐन अन्तर्गत महिनामा २ पटक बोर्ड बैठक नराखेको र आर्थिक बर्ष २०७५-०७६ को आयब्यय पटक पटक भन्दा पनि बोर्डमा प्रस्तुत नगरेको जस्ता कारण तालाबन्दी गर्नुपरेको बताइन् । उनले भनिन्–नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखाको कामको विवरण हावाहुरी पीडितलाई बितरण गरेको राहत पारदर्शी गरिएको छैन । चौधौं नगरसभा गते असार १० भए पनि नगर सभा सदस्यहरुको घर घरमा गई २ हजारका दरले पैसा दिएर माइन्युटमा सही गराएको, बोर्ड बैठकमा बहुमत पु¥याउनका लागि सदस्यहरुका छोरा र आमाबाबुको नाममा आर्थिक सहयोग निकासा गरी उपमहानगरको बजेट ब्यक्तिगत सम्पत्ति जस्तो मेयरले दुरुपयोग गरेका छन् ।

बोर्डको निर्णयविना दर्जनौं आसेपासेलाई ज्यालादारीमा नियुक्ति गरी नगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप पनि उनको छ, बोर्डको निर्णयविना उपमहानगरको बजेट आसेपासेलाई बितरण गरेका छन् । खुल्ला दिसामुक्त अभियानका लागि दातृसंस्थाबाट प्रदान गरिएको रकम पारदर्शी रुपम खर्च नगरेको र औषधि खरिदमा ठूलो रकम हिनामिना भएको र कमिसनका लागि लाखौं रुपैयाँको लामखुट्टे नियन्त्रणको औषधि खरिद गरी उपमहानगरमा थन्क्याएर राखिएको छ । सरसफाई कार्यमा अनियमितताकै लागि मेयरबाट आफन्तलाई ठेक्का दिइएको छ । महागढी मेलामा बोर्ड निर्णयविना नै रकम निकासा गरेका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामअयोध्या मण्डललाई क्यान्सर जस्तो गम्भीर रोग लागेकाले उपचारका लागि ५ लाख रकम सहयोगका लागि पटक पटक अधिकाशं जनप्रतिनिधिले भन्दा पनि मेयर यादवले लेखाबाट भुक्तानी नै हुन नदिएको उपमेयर खातुनको आरोप छ । बोर्डले निर्णय गरेको सहयोग समेत मेयर यादवले रोकेका छन् । वडाध्यक्ष हरिओम साह सोनालले तालाबन्दीपछि बैठक बसिरहेको छ । निकास निस्कन सक्छ भन्ने प्रतिक्रिया दिए । उनका अनुसार क्यान्सर पीडित वडाध्यक्षलाई सहयोग दिने निर्णय गरेर भुक्तानी रोकिएको र बोर्ड बैठक नबसेको लगायतका धेरै कारण तालाबन्दीको अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्