Logo
Logo

वान एक्स बेट प्रकरण- कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्ता


12.5k
Shares

काठमाडौं । अनलाइन गतिविधिमा सट्टेबाज ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका कलाकारसहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरे गर्दै मुद्दा दायर गरेको हो ।

यो प्रकरणका मुख्य योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धितालसहित ११ जनाविरुद्धको मुद्दा अदालतमा दर्ता भएको जनाइएको छ ।

खड्कासहितका केही व्यक्ति वान एक्स बेटको एजेन्ट भएर कारोबार गरे गराएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको आरोप छ।

उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ। यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

प्रहरीले जेठ ३१ र ३२ गते दुई पटक अनलाइन जुवा प्रकरणमा यसका एजेन्ट र कयौँ कलाकारलाई पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म २० जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्