Logo
Logo

मीनबहादुरको ९० लाख कसले खायो ?


36k
Shares

काठमाडौं । बूढापाकाहरु भन्थे– ‘पाप धुरीबाट कराउँछ’ नभन्दै पशुपतिनाथको जलहरी काण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विवादमा तानिएका छन् । एउटा कम्युनिष्ट विचारधाराका प्रधानमन्त्रीले पशुपतिनाथमा सुनको जलहरी लगाउने निर्णय गर्नु नै शंकाको घेरामा थियो । नभन्दै, पशुपतिनाथको नाममा गरिएको भ्रष्टाचारले ओली विवादमा परे ।

संसद्मा ओलीको नियतमाथि प्रश्न उठ्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः छानबिन गर्न बाध्य भयो । त्यसपछि हराएको सुन एकाएक थप्ने काम भइरहेको छ । यसले पनि जलहरीमा भ्रष्टाचार भएको पुष्टि हुन्छ ।

अख्तियारले गरेको छानविनको क्रममा पनि जलहरी बनाउँदा सुनको परिणाम हिनामिना भएको पाइएको छ भने, भाटभटेनी सुपरस्टोरका मालिक मीनबहादुर गुरुङले जलहरी निर्माण गर्न दिएको ९० लाख रुपैयाँको हिसाब किताब नै गोलमाल गरिएको छ । त्यसैगरी कतिपय व्यक्तिले जलहरी निर्माण गर्न सुन, चाँदी दिएको भए पनि उक्त कुरा कोषले खर्चमा देखाएको छैन । अख्तियार स्रोतका अनुसार व्यापारी सुवास संघाईले जलहरी बनाउन मूल भट्टलाई दिएको भनिएको एक किलो सुनको पनि हिसाब–किताब छैन ।

जलहरी प्रकरणमा ठूलो घोटाला भएको कुरा महालेखाको प्रतिवेदनमा उल्लेख गरिएपछि मात्र जलहरी काण्ड बाहिर आएको हो । नत्र गुपचुप हुने थियो ।

महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ । अख्तियारको छानविन क्रममा रिङ थपिएको भेटिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीसाथ पशुपतिनाथ पुगेर ‘संकल्प पूजा’ गर्नुका साथै सुनको जलहरी राख्ने घोषणा गरेका थिए । त्यस क्रममा उनले जलहरी बनाउन सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने पनि बताएका थिए । त्यसपछि कोषले सरकारबाट आउने रकममा ५० करोड ११ हजार रुपैयाँ थपेर करिब १ सय ८ केजीको जलहरी बनाउने निर्णय गरेको थियो । त्यसकै लागि किस्ता–किस्तामा राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन किनिएको थियो ।

करिब साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ । पशुपति क्षेत्र विकास कोषले भने १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो । जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट गरेपछि अख्तियारले पुनः छानविन गरेर कारबाही गरेपछि मीनबहादुर गुरुङले ज्यालाका लागि दिएको ९० लाखको हिसाब देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्