काठमाडौं, ६ पुस ।
करिब एक दर्जन चर्चित फिल्म बनाएका रोज राणा पछिल्लो समय चर्चामा छैनन् । कतिपयले उनी फिल्मी क्षेत्रबाट टाढिएको ठानेका छन्, तर होइन उनले फिल्म क्षेत्रलाई माया मार्न सक्ने अवस्थामा छैनन् । फेरि फिल्म बनाउने तयारीमा लागेका छन् ।
डेढ दशक अगाडिको ब्लकबस्टर फिल्म ‘खलनायक’ को सिक्वेल निर्माणमा उनी यतीबेला जुटेका छन् ।
खलनायक २ को निर्देशन गोविन्दा सिंह भण्डारीले गर्दैछन् । यसअघि उनले ‘रणवीर’ निर्देशन गरेका थिए । यसमा उनको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । उनको कामबाट प्रभावित भएर निर्माता राणाले निर्देशक भण्डारीलाई ‘खलनायक २’ निर्देशन गर्ने जिम्मेवारी दिएका हुन् । माघ दोस्रो हप्ताबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्टलाई अन्तिम रुप लिने काम भइरहेको छ ।
ऋषि न्यौपाने निर्दे्शित फिल्म ‘खलनायक’ मा एक जमानाका तीन सुपरस्टार अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीको प्रमुख भूमिका थियो । तर, यसको सिक्वेलमा यी तीन अभिनेता नदोहोरिने निर्माता राणा बताउँछन् । उनी फिल्ममा अहिलेका चल्तीका अभिनेतालाई लिने तयारीमा छन् । केही अभिनेतासँग उनले डिल गरिराखेका छन् ।
‘खलनायक २’ का लागि खलनायकको भने टुंगो लागेको छ । फिल्ममा निर्माता रोज आफैं भिलेनको भूमिकामा देखिने भएका छन् । निर्देशकको आग्रहमा आफैं भिलेनको भूमिकामा देखिन लागेको उनले बताए । त्यसका लागि अहिले सुगठित शरीर बनाउन केही दिनदेखि जिम धाइरहेको छन् । राणाले यसअघि केही फिल्ममा लिड रोलमा अभिनय गरिसकेका छन् ।