काठमाडौं । गएको साता अदालतका कर्मचारी र कानुन व्यवसायीबीचको विवादको विषयमा वित्थैमा न्यायका याचक मारमा परे । आपसी झगडाका कारण तीन चार दिनसम्म अदालतमा प्रशासनिक कामसँगै मुद्दा पनि प्रभावित बने । अदालतका कर्मचारीले काम ठप्प पार्दा रिट निवेदन, मुद्दा दर्तादेखि अदालती प्रक्रिया मुद्दा सुनुवाइसम्म असर पर्यो ।
गत असार १३ गते ललितपुर जिल्ला अदालतमा अदालती कामको सिलसिलामा अधिवक्ता अमिर लामिछाने र अदालतमा कार्यरत सुब्बा प्रेमिका तामाङविच भएको विवादले अराजक रुप लिएको हो । तर बिषय भने अति सामान्य रहेको प्रत्यक्षदर्शी ललितपुर बारका कानुनव्यवसायीको भनाइ छ ।
केबल एउटा मुद्दामा भएको आदेश हेर्न माग्ने क्रममा विवाद शुरु भएको थियो । अदालतकी ति कर्मचारीले खाजा खर्चका नाममा ‘घुस खान’ खोज्दा विवाद भएको दाबी कानुनव्यवसायीको छ । तर, यता कर्मचारीले भने अधिवक्ता लामिछानेले कर्मचारीमाथि मुक्का प्रहार गर्दै कुटपिट गरी घाइते बनाएपछि परिस्थिति बिग्रिएको दाबी गर्दै आएका छन् ।
यही निहुँमा अदालतका कर्मचारी र कानुन व्यवसायीले मुलुकभरका अदालत ठप्प पारे । अदालतका कर्मचारीले प्रशासनिक काम रोक्न पेन डाउनमै उत्रिएका थिए । यता नेपाल बार एशोसिएसनले देशैभरि बहस पैरवी नगर्ने घोषणा ग¥यो ।
जसका कारण अनाहकमा सेवाग्राही न्यायका लागि अदालत आउँदै फर्किँदै गर्नुपर्यो । हातपातको घटनापछि अधिवक्ता लामिछानेलाई प्रहरीले पक्राउ समेत गरेको थियो । कर्मचारीहरूको संगठन ट्रेड युनियनको आह्वानमा देशभरका अदालतमा आइतवार पेन डाउन समेत गरियो । व्यक्ति व्यक्तिको झगडामा ट्रेड युनियनले हात हालेपछि परिस्थिति झन् गिजोलिएको टिप्पणी अहिले अदालत र बारमा गरिएको छ ।
वास्तवमा उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको एउटा सामान्य विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । जबकि विवाद उत्पन्न भएकै दिन अदालत परिसरमै मिलाउन सकिने बिषय रहेको ललिततपुर बारका प्रत्यक्षदर्शी कानुनव्यवसायी बताउँछन् ।
कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै कर्मचारी ट्रेड युसनियनले देशभरका अदालतमा काममा नजाने घोषणा गर्दै आन्दोलनमा उत्रिएका थिए । जस्का कारण सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भयो । अदालतमा रहेका कर्मचारीका आधिकारीक ट्रेड युनियनहरूले कामै रोक्नका लागि विज्ञप्ति जारी गरेका थिए ।
ट्रेड युनियनको उक्साहटमा कर्मचारी तामाङले अधिवक्ता लामिछानेविरुद्ध प्रहरीमा कुटपिट र अभद्र व्यवहारमा जाहेरी समेत दिन पुगिन् । त्यसपछि लामिछाने पक्राउ परी एक दिन प्रहरी थुनामा राखिए ।
यता नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा अवहेलना निवेदन पनि दिएकी छन् । हातपातको बिषयमा कानुनी कारबाहीको विकल्प हुँदाहुँदै देशभरका अदालतका काम प्रभावित हुने गरी आन्दोलनमा उत्रिएको भन्दै कर्मचारीको आलोचना भएको छ । कानुनी प्रक्रियामा पनि जाने, काम पनि ठप्प पार्ने दोहोरो चरित्र कर्मचारीबाट प्रदर्शित भयो ।
यता उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेको रिहाइ माग गर्दै काउण्टर आन्दोलनमा उत्रिएपछि कर्मचारी पछि हट्न बाध्य भएका थिए । अन्तिममा कर्मचारी र कानुनव्यवसायीको लिखित समझदारीपछि तत्काललाई विवाद सल्टिएको छ । तर हजारौं सेवाग्राहीले अनाहकमा पाएको दुःख हैरानीको क्षतिको जिम्मा भने अहिलेसम्म कोही लिन तयार देखिएको छैन ।
सेवाग्राहीको सास्तीप्रति क्षमायाचना गर्ने नैतिकता सम्म कसैले देखाएनन् । अन्ततः आफै सिर्जित यो विवादलाई ‘सामाजिक सञ्जालमार्फत विषयान्तर गरिएको’ भनेर फेसबुकमाथि दोष थोपर्दै सहमति गरिएको छ ।