Logo
Logo

रानीपोखरीमा एसएसपीहरुको शिर निहुरियो


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ६ मंसिर । महानगरीय प्रहरी आयुक्त डीआइजी विश्वराज पोखरेलले सोमबार पदबहाली गर्दा उनकै ब्याचका दुई एसएसपी उत्तमराज सुवेदी र सहकुलबहादुर थापाको शिर निहुरिएको छ ।

नेपाल प्रहरीमा ब्यवसायिक रुपमा सफल र बरिष्ठतामा अगाडि रहेका एसएसपीहरु धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, सहकुल थापाहरुलाई बढुवा नगरी पोखरेललाई डीआइजीमा पदोन्नति गरिएको थियो । राजनीतिक दबाबका आधारमा आइजीपी सर्वेन्द्र खनालले बाध्यताबस उनलाई रिक्त एक डीआइजी पदमा बढुवा गरेपछि प्रहरीमा असन्तुष्टी छाएको थियो । राजनीतिक दबाब झेल्न नसकी उनले पोखरेललाई बढुवा गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कीर्ते मुद्दामा नेकपाका सांसद तथा तत्कालीन डीआइजी नवराज सिलवालमाथि मुद्दा चलाउनका लागि रविन्द्रसिंह धानुकलाई सरुवा गरी विश्वराज पोखरेललाई काठमाडौं परिसरमा खटाएको थियो । तर तिनै आफ्नै सांसदमाथि मुद्दा चलाउन गएका पोखरेललाई नेकपाले नै बरिष्ठता मिचेर डीआइजीमा बढुवा गरी अहिले महानगरीय आयुक्त कार्यालयको प्रमुखमा सरुवा गरेको छ । उनले पदबहाली गर्दा एसएसपी सुवेदी र थापाको शिर निहुरिएको थियो । त्यसै पनि डीआइजी भएकाले एसएसपी सुवेदी र थापाले उनलाई सलाम गर्नैपर्ने हुन्छ । सुवेदी महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख छन् भने थापा अपराध महाशाखाका प्रमुख हुन् । महानगरीय आयुक्तको पदबहालीमा उनीहरु अनिवार्य उपस्थित हुनैपर्ने हुन्छ । मन अमिलो बनाएर भए पनि उनीहरु उपस्थित भएका थिए ।

डीआइजी विश्व पोखरेललाई उनीभन्दा अघिल्लो ब्याचका एसएसपी हुँदाहुँदै जम्प गरी डीआइजी बढुवा गर्ने काम राजनीतिक पहुँचका आधारमा भएको थियो । पोखरेललाई महानगरीय आयुक्त कार्यालयमा सरुवा गर्दा बरिष्ठ डीआइजी सूर्य उपाध्याय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख थिए । उपाध्यायले पोखरेललाई ब्रिफिङ गर्नुपर्ने भएपछि उनी बिदा बसे । बरिष्ठ डीआइजी कनिष्ट मातहत हुनेगरी सरुवा गरिएपछि उपाध्याय बिदामा बसेका थिए । उनलाई आइतबार प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । यदि बुधबारै विमानस्थलका डीआइजीलाई पनि सरुवा गरिएको भए सरुवा विवादरहित हुन सक्थ्यो । तर प्रहरी प्रधान कार्यालयले त्यसो नगरी कनिष्ट डीआइजीलाई महानगरीय आयुक्तमा सरुवा गर्दा उपाध्याय बिदामा बस्ने परिस्थिति निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्