Logo
Logo

मान्छेले आफैलाई माया गर्न किन छाडे ?


2.5k
Shares

जन्म नै मृत्युको सुरुवात हो । जन्मपछि मृत्यु निश्चित छ । तर, मान्छेलाई सबैभन्दा ठूलो डर मृत्युकै हुन्छ । हरहमेसा मृत्युको भयले गाँजिरहन्छ । मृत्युलाई जित्ने अनेकौं उपाय खोजिरहेको हुन्छ, मान्छे । काललाई पर धकेल्ने प्रयास भइरहन्छ । जीवन लम्बाउने यत्न हुन्छ । तर, हुने हार दैव नै नटार । काललाई न कसैले रोक्न सक्छ, न त छेक्न नै ।

जतिसुकै जटिल रोग लागे पनि मानिस कोही मर्न चाहँदैनन् । रोगसँग जुधेर भएपनि बाँच्छु भन्ने आशा मानिसमा हुन्छ । बाँच्ने रहर नभएका मानिस सायदै होलान् । इच्छा मृत्युको वरदान पाएका भीष्म पिताम्हलाई पनि थियो– बाँच्ने रहर ।

सामान्य ज्वरो, रुघाखोकी लाग्दा पनि मरिने पो हो कि भनेर हामी आत्तिन्छौँ । अस्पताल धाउँछौँ । औषधि खान्छौँ । मृत्युदेखि कति डर हुन्छ भन्ने कुरा कोरोनाकालमा सबैले अनुभूति गरेकै हो । तर, हामी निश्चित अवधिमात्रै बाँच्छौँ । अजम्बरी होइनौं ।

मान्छेलाई जीवनप्रति अघात प्रेम हुन्छ । लोभ छ । तर, पछिल्लो समय मान्छेमा त्यो प्रेम र लोभ हराउन थालेको छ । जति बाँचिन्छ खुसीसाथ, प्रेमपूर्वक, उमंगमय बाँच्नुपर्ने हो । तर, हामीकहाँ यसरी बाँच्ने कला नै छैन । त्यसैले दिनहुँ सयौँले आफैंलाई त्याग्छन् ।

मान्छेलाई जीवनप्रति अघात प्रेम हुन्छ । लोभ छ । तर, पछिल्लो समय मान्छेमा त्यो प्रेम र लोभ हराउन थालेको छ । जति बाँचिन्छ खुसीसाथ, प्रेमपूर्वक, उमंगमय बाँच्नुपर्ने हो । तर, हामीकहाँ यसरी बाँच्ने कला नै छैन । त्यसैले दिनहुँ सयौँले आफैंलाई त्याग्छन् ।

प्रेममा धोका पायो, आत्महत्या । घरझगडा भयो, आत्महत्या । फेल भयो, आत्महत्या । आर्थिक संकट आयो, आत्महत्या । ब्युटिपार्लर जान नपाउँदा आत्महत्या । गेम खेल्न नदिँदा आत्महत्या । हर समस्याको समाधानका रुपमा आत्महत्यालाई लिन थालियो ।

आफ्नो जीवन समाप्त गर्ने कुरा अप्रिय निर्णय हो । तर, यस्तो अप्रिय निर्णय लिनेको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक २० सेकेन्ड एकजना र एक वर्षमा १० लाखभन्दा बढीले आत्महत्या गर्छन् ।

नेपालको पछिल्लो पाँच वर्षको अवधिलाई हेर्न हो भने दैनिक १७ जनाले आत्महत्या गरेको पाइन्छ । प्रहरीको तथ्यांक अनुसार २०७५-७६ मा ५ हजार ७८५, ०७६-७७ मा ६ हजार २५२, ०७७-७८ मा ७ हजार १४१, ०७८-८९ मा ६ हजार ८३० र २०७९-८० मा ४ हजार ८४८ जनाले आत्महत्या गरेका छन् ।

प्राणीमध्ये मान्छेलाई सर्वोत्कृष्ट भन्छौँ । तर, यी तथ्यांकले वास्तविकता टाढा भएको महसुस गराउँछ । नत्र, आठ लाख ७० हजार प्राणीमध्ये मान्छेले मात्रै दिनहुँ किन गर्छन्, आत्महत्या ? आफैँलाई मार्नु सर्वोत्कृष्ट होइन ।

पृथ्वीमा भएको हरेक प्राणीको मृत्यु निश्चित छ । र, मान्छेको जीवनमा मात्रै उतारचढाव आउँदैन । सबै प्राणीको आआफ्नै बाध्यता छ । विवशता छ । संघर्ष छ । तर, तिनीहरूले आत्महत्या गरेको कतै सुनिँदैन । मरिन्छ कि भन्ने भय पनि हुँदैन ! न भूतको कुरा, न त भविष्यकै चिन्ता । वर्तमानमै रमाइरहेको हुन्छ । पातलाई हुँदैन शिशिरसँगै झर्छु भन्ने डर । बतासले झार्छ र मरुँला भनेर त्यो आत्तिएर हाँगामा टाँसिएको पनि होइन ।

तर, मान्छे दिनहुँ मर्ने भयमा बाँचिरहेको हुन्छन् । भूत र भविष्यको चिन्ताले वर्तमानमा बाँच्नै भुलिसके । त्यसैले त आफूलाई मारिरहेका छन् ।

पछिल्लो समय आत्महत्याको घटना डर लाग्दोरुपले बढ्दै गएको छ । जसमा नेतादेखि कलाकारसम्म छन् । विश्वमा आत्महत्या गर्ने चर्चित कलाकारको सूची लामै छ । नेपालमा पनि थुप्रै कलाकारले आत्महत्या गरेका छन् । निर्देशक आलोक नेम्वाङ, नायिका श्रीषा कार्की, ज्योती खड्का, जेनिशा कार्की, गायक यम बुद्ध लगायतले आत्महत्या गरे । त्यस्तै केही दिनअघि मात्रै कलाकार सारुक ताम्राकारले आत्महत्या मारे ।

कलालाई शब्द कोशमा व्याख्या गरिएको छ– ‘मानिसको जीवन निर्वाह तथा उच्च ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको महत्वपूर्ण क्षेत्र ।’ तर, तिनै कलालाई आँगालेका कलाकारले बाँच्ने कला भुल्न थाले ।

हुन त आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारण हुनसक्छ ।

युगयुगान्तरदेखि चलिरहेको छ जीवन र मृत्युको लुकामारी । तर, बनाउन सकिएकै छैन बाँच्ने र बचाउने आधार तथा परिवेश । डरभर, दबाब र बलमिच्याइँमा बाँच्नुपर्ने बाध्यता । हुन त भूत र भविष्यमा बाँच्ने होइन, वर्तमानमा बाँच्ने हो ।

खासमा भूतबाट पाठ सिक्ने र भविष्यमा सिकाउने हो । तर, भूत र भविष्य नै मान्छेको वर्तमानलाई समाप्त पारिरहेको छ ।

मानिसको स्वभाव अजिव छ । अधिकांशको समय सोच, चिन्तन नकारात्मक कुरामा व्यतीत हुन्छ । जसका कारण भय, सन्ताप, रोग र अनेकथरी निराशाले जीवन समाप्त भएको पत्तै हुँदैन ।

के कारणले आफ्नो जीवन आफैंले समाप्त गर्न आँट गर्छ त मानिस ? आत्महत्यालाई पनि हालसम्मका विभिन्न वैज्ञानिक सिद्धान्तअनुरूप व्याख्या गरिएको छ । तर, कुनैपनि सिद्धान्त पूर्ण भने छैनन् । तर, आत्महत्याको कारकमध्ये एक डिप्रेसन पनि हो । हालसम्मको अनुसन्धान अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेसनको शिकार भएको पाइएको छ ।

आत्महत्या गर्नेहरूलाई समाजले कायर ठान्छ । दुःखबाट राहत पाउनका आत्महत्याको बाटो रोजेको भन्छ । आत्महत्या समस्याको परिणाम हो । तर, यो जटिल समस्या भएपनि न्यूनीकरण भने गर्न सकिन्छ ।

डिप्रेसनको शिकार भएका व्यक्तिलाई गर्ने सबैभन्दा राम्रो सहयोग भनेको सहानुभूति हो । बाँच्ने अनेक विकल्प दिनु हो ।

डिप्रेसनमा गएकालाई परामर्श वा उपचारको जरुरी हुन्छ । उसलाई उचित परामर्श र उपचार दिन सके आत्महत्याबाट रोक्न सकिन्छ । यसका लागि परिवार र समाज सचेत हुनुपर्छ । सबैको संलग्नता र प्रयासले डिप्रेशनबाट मानिसलाई जोगाउन सकिन्छ । किनकि, डिप्रेसन मनोवैज्ञानिक उपचारबाट निको हुने रोग हो ।

प्रतिक्रिया दिनुहोस्