रंगमञ्चको दृश्य केवल देखिने पात्रहरूको मात्र परिणाम हुँदैन । पर्दापछिका पात्रहरूको भूमिकाविना रंगमञ्चको परिकल्पना गरिन्न । अर्थात्, रंगमञ्चमा प्रस्तुत हुने परिघटनामा पर्दा अगाडि र पछाडिका सबै पात्रहरूको प्रयत्नको प्रतिफल हुन्छ ।
पर्दा अगाडिका पात्रहरूको संसार उज्यालो देखिन्छ । पर्दापछिका पात्रहरू अँध्यारोमै जीवनका रंगहरू भर्छन् । जो सधैँ आफू अँध्यारोमा बसेर पर्दाअघिका पात्रहरूको जीवनमा बहुरंगी प्रकाश छर्छन् । पर्दाअघिका पात्रहरू नायक भएर जिउँछन् । तर, पर्दापछिका पात्रहरू सधैँ ओझेलमा रहन्छन् । रंगमञ्चको नियम नै यस्तै हो, सायद ।
सन्दर्भ कमरेड सीता दाहालको हो । जसले नेपाली राजनीतिक मञ्चमा पर्दापछाडि रहेर पर्दाअघि रहेका जीवनसाथी कमरेड प्रचण्ड र सिंगो माओवादी आन्दोलनमा लागेकाहरूको राजनीतिक जीवनमा प्रकाश थपिरहिन् । आज माओवादी आन्दोलन र प्रचण्डको राजनीतिक जीवनमा जुन चमक छ, जुन राप र ताप छ, त्यसको आधा हिस्सामा सीताको योगदान छ ।
आज जस्तोसुकै भाष्य स्थापित गर्न खोजिए पनि इतिहासमा ‘जनयुद्ध’ युगान्तकारी परिवर्तनको सन्दर्भ थियो । जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड व्यक्ति नभएर आन्दोलन थिए । सीता प्रचण्डको जीवन र राजनीति दुवै पक्षका सारथि थिइन । जीवन बाच्ने क्रमका अप्ठ्यारा परिस्थिति र युगान्तकारी परिवर्तनका लागि रचिएको कठिन जनयुद्धमा सीता र प्रचण्डको साथ छुटेन ।
पचासको दशकदेखि माओवादीले जनयुद्ध प्रारम्भ गर्दा सुप्रिमो प्रचण्डसँगै सारथि सीता पनि होमिइन । जीवन खुकुरीको धारमा राखेर रोल्पा र रुकुमका रणमैदानहरूमा प्रचण्डले परेड खेल्दा सीताको साथ छुटेन । युद्धमोर्चाको अग्रपङ्क्तिमा सीताको नाम कहिले सुनिएन, कहिले देखिएन । तर, पचासको दशकदेखि नेपाली राजनीतिमा अविच्छिन्न रूपमा जोडिएको नाम हो, सीता दाहाल ।
कलिलो उमेरमा प्रचण्डसँग पारिवारिक सम्बन्ध विस्तार भयो । वंश निरन्तरताको प्राकृतिक र सामाजिक नियममा सँगै बाँधिए । दश वर्षसम्म चलेको जनयुद्ध र शान्ति प्रक्रियापछि एक राजनीतिज्ञको बलियो सारथि र उच्चकोटीको सल्लाहकार भूमिकामा प्रस्तुत भइन । प्रचण्डको हर दुःखका सारथि उनै सीता प्रचण्डको उच्चतम् सफलतामा पनि सारथि भूमिकामै अस्ताइन् ।
प्रकृतिको सामान्य नियम हो– दुःख गर्नेले सुखमा हक राख्छ । मेहनत गर्ने प्रतिफलका स्वाभाविक हिस्सेदार हुन्छन् । तर, सीताले दुःखपछिको सुखमा हक मागिनन्, मेहनतपछिको प्रतिफलमा व्यक्तिगत हिस्सेदारी दाबी गरिनन् । दुलहीको रूपमा प्रचण्डसँग समर्पित सीताले जीवनका हर दुःख र हर सफलताहरू पनि प्रचण्डलाई नै समर्पण गरिन् ।
आजको व्यवस्था जनयुद्धको उपलब्धि हो । जुन जनयुद्ध प्रचण्डसहित नेतृत्वको त्याग, बलिदान र समर्पणको प्रतिफल हो । त्यसमध्येकी एक हुन्, सीता दाहाल । यस अर्थमा, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व स्थापित गर्ने सवालमा सीताको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । अर्थात्, मुक्तिको त्यो अभियान र यो प्रतिफलमा सीताको योगदान स्मरणयोग्य छ ।
जनयुद्धपछि माओवादीले संसदीय राजनीतिको बाटो रोज्यो । पहिलो संविधानसभामा अभूतपूर्व सफलता प्राप्त ग¥यो । त्यसयता माओवादी सत्ताभन्दा बाहिर छैन । प्रचण्ड र सीताजस्तै सँगै युद्धमा होमिएका हरेकले योगदानको प्रतिफल भन्दै सत्ता भोगेका छन् । तर, प्रत्यक्ष रूपमा सत्ता भोग्नेहरूको लामो सूचीमा हजारौँ पटक हेर्दा पनि सीताको नाम भेटिन्न । यो भन्दा ठूलो त्याग, समर्पण र सादगीपन कता भेट्नु ?
संसदीय राजनीतिमा माओवादी उन्माद पिँधका जनताले पनि महसुस गरेकै हुन् । सत्ता र शक्तिको आडमा बालुटारबाट अनैतिक रूपमा देश कब्जा गर्ने ‘फस्ट लेडी’हरू पनि देखिएकै हुन् । शारीरिक र मानसिक रूपमा तन्दुरूस्त हुँदै सीताले दुई पटक ‘फस्ट लेडी’ हुने अवसर पाएकी थिइन । तर, कुनै नराम्रो काममा उनको नाम जोडिएन । अर्थात्, बालुवाटारको त्यो राप र तापयुक्त आसनमा पनि सीता सधैँ शान्त रहिन् ।
आज प्रचण्डमाथि परिवारवादको आरोप लाग्छ । तर, इतिहास बिर्सनु हुँदैन । सीता त्यस्तो महान् आमा हुन् जसले आफूसँगै सन्तानलाई पनि मुक्तियुद्धमा सामेल गराइन् । स्वभावले प्रचण्ड भावुक छन् । त्यो आट राख्दैनन् । त्यस्तो लाग्दैन कि– प्रचण्डको चाहनामा प्रचण्ड र सीताका सन्तानहरू युद्धमा होमिए । लाग्छ– मुटुका टुक्राहरूलाई युद्धमा होम्ने उनै सीता हुन् । सन्तानलाई युद्धमै होमे पनि सन्तानप्रति सीताको मातृभाव सबैलाई महसुस भयो ।
मिडिया जगतमा सीता दुर्लभ पात्र हुन् । फस्ट लेडी भएका कारण तस्बिरहरूमा प्रसस्तै देखिन्छन् । तर, अखबारका पन्नाहरू र टेलिभिजनका पर्दाहरूमा सीताका धारणाहरू विरलै सुन्न पाइन्छ । दशक पहिले एबीसी टेलिभिजनले एउटा कार्यक्रममार्फत सीताको राजनीतिक बुझाइहरू समेटेको थियो । सायद त्यो नै सीताको अन्तिम राजनीतिक धारणा थियो । जुन धारणा हिजो, आज र भोलि पनि सान्दर्भिक छ, रहनेछ ।
कार्यक्रममा सीताले महिला मुक्तिको सन्दर्भमा जनयुद्धले खेलेको भूमिकाबारे बोलेकी छिन् । उनको भनाइको सार थियो– महिला मुक्ति सामान्य विषय होइन । महिलाले मात्र चाहेर मुक्ति सम्भव छैन । तर, मुक्तिको सन्दर्भमा महिला आफैले पहिलो पाइला चाल्नुपर्छ । त्यो पाइला जनयुद्धबाट सुरु भएको छ । यसमा हाम्रो भूमिका छ । यसले, युग युगसम्म अर्थ राख्ने छ ।’ यसरी हेर्दा सीताको राजनीतिक बुझाइ असामान्य बुझिन्छ ।
जनयुद्धमा सीताहरूले बन्दुक बोकेर नहिँडेको भए आज पनि महिला मुक्तिको सन्दर्भ टाढै रहन्थ्यो । संवैधानिक रूपमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भयो । आज ७५३ वटा स्थानीय सरकारमा प्रमुख र उपप्रमुखमध्ये एक महिला निर्वाचित हुन्छन् । सीताले भने झैँ प्रतिनिधित्वको सन्दर्भमा यो व्यवस्थाको अर्थ युग युगसम्म रहन्छ । त्यसैले यो व्यवस्थाका निर्विकल्प हकदार सीता पनि हुन् ।
आज जनयुद्ध, जनयुद्धका नेतृत्व र समग्र माओवादी आन्दोलनप्रति नकारात्मक धारणा राख्नेहरू धेरै छन् । जनयुद्धलाई हिंसा र जनयुद्धका नेतृत्वलाई हिंस्रकका रूपमा परिभाषित गर्ने क्रम बढ्दो छ । माओवादी नेतृत्वमा हाबी हुँदै गएको विचलनले पनि यस्तो परिस्थिति बनेको हुनसक्छ । तर, बिर्सन नहुने सत्य के हो भने आज माओवादीमाथि घृणाको हिलो छ्याप्न पाउने स्वतन्त्रताका निम्ति माओवादीले जनयुद्ध लडेको थियो । सीता दाहालहरूले लडेका थिए ।
नेपाली समाजमा ‘मृत्युपछि बखान’ आलोचनाको विषय हो । सीताको सन्दर्भमा सोही दुखान्त दोहोरियो । आज राजनीतिक परिवर्तनमा सीताले पर्दापछिबाट गरेको योगदानको चर्चा हुँदै छ । त्यसो त जीवित रहँदा सीताबारे सकारात्मक र नकारात्मक दुवै कोणमा समाचार बनेनन्, बहस भएनन् । तर, मृत्युपछि उनको राजनीतिक योगदानको चर्चा हुँदै छ । सीताको सादगी जीवनबारे बहस हुँदै छ । यसलाई सकारात्मक मान्नुपर्छ । धेरै मानिस त मृत्युपछि चर्चा गर्न लायक पनि हुँदैनन् ।
सीता जीवनभर प्रचण्डका असल सारथिका रूपमा परिचित भइन । तर, उनको भूमिका एक श्रीमतीका रूपमा मात्र सीमित थिएन । मुक्तिका निम्ति रचिएको क्रान्तिको पक्षमा अदम्य साहसका साथ रणमैदानमा आफूलाई निरन्तर सामेल गराएकी तर, ओझेलमा परेकी पात्र थिइन्, सीता । यस अर्थमा, सीताको राजनीतिक जीवन एउटा प्रेरणाको जीवन हो । जुन जीवनले अन्यायविरूद्ध विद्रोह गर्नुपर्छ, मुक्तिका लागि आफै मैदान उत्रनुपर्छ र राजनीति गर्नुको अर्थ सत्ता भोग्नु मात्र होइन भन्ने प्रेरणा मिल्छ ।
सीताको जीवनमा सायदै सुखका दिन थिएनन् । प्रचण्डसँगको जीवन सुरुवाती चरणमा गरिबीको चपेटामा थियो । त्यति नै बेला सन्तान हुर्काउने जिम्मेवारी सीताकै थाप्लोमा आइलाग्यो । लगत्तै, जनयुद्धमा परिवारसहित होमिनुप¥यो । शान्ति प्रक्रियापछि एकपछि अर्को गर्दै सन्तान वियोग खेप्नुपर्याे । जीवनको उत्तराद्र्धमा दुई वर्ष अचेत अवस्थामा रहनु प¥यो । दुःख दुःखमै जीवन लीला त्याग्नुप¥यो ।
अन्त्यमा,
कमरेड सीता दाहालले फगत जीवन बाचिनन् । आमूल परिवर्तनको महान् अभियान ‘जनयुद्ध’मा जीवन समर्पण गरिन् । वर्तमान व्यवस्थाको सुन्दर बगैँचामा अधिकारका रूपमा लहलहाउँदै गरेका, पक्रँदै गरेका र फूलेका फूलहरूले छरेका बास्नामा सीता दाहालको त्याग र समर्पण आभास हुन्छ ।
हार्दिक श्रद्धा सुमन !