बेइजिङ, १० पुस, (एजेन्सी) । चीन र अमेरिकाबीच व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापार यस वर्षको नोभेम्बरयता २३ प्रतिशतले कमि आएको छ ।
पछिल्लो केही समययता चीन र अमेरिकाबीच व्यापार युद्ध जारी छ । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुका अनुसार अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट अमेरिकातर्फको व्यापारमा कमी आएको छ । उनीहरुका अनुसार व्यापारमा २३ प्रतिशतले कमी भई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ ।
अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाइ छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको बस्तु आयात भएको देखिएको जनाइएको छ । तर, एक अर्को समाचारअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको छ ।
संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भएपनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो । अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ ।