काठमाडौं, १० पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्नेमा सकस भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नो प्रिय व्यक्तिलाई अगाडि सारेपछि सकस भएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले भावी सभामुखका लागि संसदीय दलका नेतासमेत रहेका सुवास नेम्बाङलाई अगाडि सारेका छन् । त्यस्तै अर्का अध्यक्ष दाहालले अग्नि सापकोटालाई भावी सभामुखको उम्मेदवारका रुपमा अगाडि सारेका छन् ।
सभामुखका दुवै प्रत्यासी अध्यक्षद्वयका निकटस्थ र प्रिय पात्र मान्छिन् । प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिएका नेम्वाङ नै भावी सभामुखको चर्चा भइरहेका बेला सापकोटा पनि सम्भावित देखिएका छन् । सभामुख छान्ने विषयमा अध्यक्षद्वय आ–आफ्नै लाइनमा देखिए पनि अन्य नेता भने मौन छन् ।
नेकपाका एक नेताका अनुसार नेम्बाङलाई नै सभामुखको जिम्मेवारी दिने अध्यक्ष ओलीको चाहना छ । कसलाई सभामुख बनाउने भन्ने सन्दर्भमा अध्यक्षद्वयबीच पटक–पटक छलफल भइसकेको छ । तर, उनीहरु निर्णयमा पुग्न सकेका छैन ।
अध्यक्ष दाहाल निकट मानिएका नेता सापकोटा पनि सभामुखका लागि विश्वासयोग्य मानिन्छन् । तर, प्रधानमन्त्री ओली भने नेम्बाङलाई नै सभामुख बनाउने अढानमा छन् ।
निर्वमान सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी प्रयासको मुद्दा जेल गएपछि सभामुख पद रिक्त छ । सभामुख चयनबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको छ । त्यसअघि नै सभामुखको उम्मेदवारको टुंगो लगाउन नेकपामा सकस देखिएको छ ।
आज बिहीबार उपसभामुख तुम्बाहाङ्फेले पनि राजीनामा बुझाउने तयारी गरेकी छन् । सभामुख र उपसभामुखको मैदान खाली गर्न नेकपाले आग्रह गरेपछि तुम्बाहाम्फे राजीनामा दिन तयारी भएकी हुन् । यसअघि उनले सभामुखकै दावी गर्दै आएकी थिइन् । स्रोतका अनुसार तुम्बाहाम्फेलाई कानुनमन्त्री बनाइने तयारी गरिएको छ ।
संविधानको धारा ९१ को उपधारा ९२० को १ बमोजिम प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था छ । त्यस्तै, फरक दलको हुनुपर्नेछ । सभामुख र उपसभामुख दुवै लिन नमिल्ने भएपछि नेकपाले उपसभामुख राष्ट्रिय जनता पार्टी वा राष्ट्रिय जनमोर्चालाई दिने तयारी गरेको बुझिएको छ ।