काठमाडौं । बडवाइजर बियरले बजार लिँदा राज ब्रुअरीको कारोबार बढेको छ । कम्पनीले ९ महिनामै ७८ करोड ७० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२२/२३ को ९ महिनामा कम्पनीले बडवाइजर बियरको बिक्रीबाट मात्रै ८९ प्रतिशत आम्दानी गरेको हो ।
अघिल्लो वर्ष २०२१/२२ मा बडवाइजर बिक्रीबाट कम्पनीले ५९ प्रतिशत हिस्सा आर्जन गरेको थियो । अमेरिकन ब्राण्डको यो बियर कम्पनीले सन् २०२१ मार्चमा नेपालमै उत्पादन हुने गरी लन्च गरेको थियो ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिले २०२१/२२ मा १ अर्ब ३ करोड, २०२०/२१ मा ६७ करोड ६० लाख, २०१९/२० मा २८ करोड ६० लाख र २०१८/१९ मा ४६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले दुईवटा विदेशी बियर ब्राण्ड बडवाइजर र वार्सटाइनरका साथै तीनवटा स्वदेशी बियर ब्राण्डहरु नमस्ते, माउन्टेन आइस र हात्ती ८ उत्पादन गर्दै आएको छ ।
कम्पनीले युरोप, भारत र नेपाली सप्लायरबाट बियर उत्पादनलाई आवश्यक कच्चा पदार्थ आयात गर्दै आएको छ । कम्पनीका देशभर एक सयभन्दा बढी डिलर आउटलेट छन् ।
कम्पनीमा शतप्रतिशत सेयर स्वामित्व राजबहादुर शाहको रहेको छ । कम्पनीले १ अर्ब ६० करोड ४९ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छछ ।
१ अर्ब १५ करोड ३९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी रेटिङ पाएको छ । ४५ करोड १० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि इक्रा नेपालबाट एनपी ए फोर रेटिङ पुनः पुष्टि गरिदिएको छ ।