मस्को । युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए ।
आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ । झुरावलेभको युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको बताइएको छ ।
रूसी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनी सेनाले क्लस्टर हतियारद्वारा आक्रमणका कारण चार जना पत्रकार घाइते भएका छन् । उद्धारका क्रममा आरआईए नोभोस्तीका पत्रकार रोस्तिस्लाभ झुरावलेभको क्लस्टर युद्धसामग्री विस्फोटका कारण भएको चोटका कारण मृत्यु भएको थियो ।’
सेनाले अन्य संवाददाताहरूलाई सामान्य चोट लागेको जनाएको छ । युक्रेनमा मस्कोको १७ महिनाभन्दा लामो आक्रमणका क्रममा रूसी युद्ध संवाददाताहरूको प्रभाव निकै बढेको छ ।