Logo
Logo

कामपाले धमाधम होर्डिङ बोर्ड हटाउँदै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिकाले सहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायतका सामग्री हटाउन सुरु गरेको छ । सहरीलाई नै प्रदूषण हुने गरी अवस्थित रुपमा राखिएका यस्ता प्रचार सामग्री शुक्रबारदेखि हटाउन सुरु गरेको छ ।
यसक्रममा बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको छ । नगर प्रहरी महाशाखा प्रमुख एवं नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाका अनुसार भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, ब्यानरलगायत सहरलाई कुरूप बनाउने सबै सामग्री हटाउँदैछ ।
यसैबीच शुक्रबार मात्रै कामपाले भित्ते लेखन तथा सडकमा जथाभावी माटो खसाल्ने १० कम्पनी र व्यक्तिलाई कारवाही गरेको छ । जथाभावी होर्डिङ बोर्ड र पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई रु १० हजार र काठमाडौँ जब इम्प्लोइमेण्टलाई रु पाँच हजार जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए ।
सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि कामपाले क्रमशः रु पाँच–पाँच हजार जरिवाना तिराएको छ । शुक्रबार मात्रै विभिन्न व्यक्ति र संस्थाबाट कामपाले रु ५८ हजार जरिमाना असुलेको छ । भित्ते लेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा तीन वटा टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ । ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर शहर सुन्दर बनाउने अभियानलाई कामपाले तीव्रता दिएको हो ।

प्रतिक्रिया दिनुहोस्