Logo
Logo

राष्ट्रियसभा निर्वाचनको तयारी तिव्र, तोकियो मतदानस्थल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । निर्वाचन आयोग आगामी ९ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका निम्ति तीव्ररुपमा काम भइरहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
निर्वाचनको मिति धेरै समय बाँकी नभएको र चुनावको मिति नजिकिँदै आएकाले ध्यान तयारीमा दिएको आयोगले जनाएको छ । उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ ।
यही १५ पुसमा सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने निर्वाचनका लागि यही २० पुसमा उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिन्ह् प्रदान गरिसकेको छ । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ । आगामी २० फागुनमा पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
उक्त निर्वाचन प्रयोजनका लागि आयोगले प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ ।
त्यस्तै, प्रदेश नं ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ ।
सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्