Logo
Logo

चित्रमार्फत संस्कृति आदान-प्रदान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ पुस । नेपाल, भारत र बंगलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर चित्र कोरे । काठमाडौंको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदान–प्रदान गरेका हुन् ।
भारतबाट सहभागी ११, बंगलादेशबाट १० र नेपालका पाँच कलाकारका ६० भन्दा बढी चित्र प्रदर्शनीका क्रममा उनीहरुले शनिबार ‘कला डेमोस्ट्रेसन’मार्फत एकअर्कामा सिकाइ हस्तान्तरण गरे । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको संयोजनमा उक्त कार्यक्रम भएको थियो ।
समाजका अध्यक्ष एनवी गुरुङले कुनैपनि चित्र सम्बन्धित देशको प्रतिनिधित्व गर्ने प्रमुख माध्यम हुने भएकाले कलाकारलाई एकअर्काको संस्कृति बुझ्न र सिक्न सजिलो होस् भन्ने ध्येयले कार्यक्रम गरिएको बताए ।
सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत चित्रकला विभाग प्रमखु बुद्धि गुरुङ, कलाकार डिबी राई र दीपेन्द्रमान बनेपाली सहभागी थिए भने भारतबाट अमलेस मजुम्दार र बंगलादेशबाट असन अहमद ।
नेपाली कलाकारले नेपालको सम्पदा, रहनसहन र पर्यटकीय क्षेत्रलाई आधार मानेर जलरङमार्फत कला सिर्जना गरेका थिए । भारतबाट मजुम्दारले कल्पनामा आधारित ग्रामीण बस्ती र बंगलादेशका अहमदले आफ्नै देशको पदमार्गमा रहेको मन्दिरसहितको दृश्यलाई उतारेका थिए ।
यस्तो सामूहिक चित्रकला कार्यशालाले नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने र पुराना कलाकारलाई एकअर्कामा अनुभव साटासाटको अवसर मिल्ने कला प्रदर्शनीमा सहभागी भारतीय कलाकार अंकित देवा भौमिकले बताए । उनले काठमाडौं कलाका दृष्टिकोणले अति सुन्दर भएकाले भारतका कलाकारले पशुपतिमा पुगेर पनि कला सिर्जना गरेको र आइतबार नगरकोट र भक्तपुरमा पुगेर चित्र बनाउने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्