गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक ऐन बनेको लामो समय बितिसके पनि अझै यो कार्यान्वयनमा आउन सकेको छैन । अहिले सरकार आवश्यक कार्यविधि तथा नियमावली बनाइरहेको बताइरहेको छ भने गैरआवासीय नेपालीहरू यसको यथाशीघ्र कार्यान्वयनको प्रतिक्षामा छन् ।
नेपालको संविधान २०७२ मा व्यवस्था भएको यो संवैधानिक प्रावधानले ऐन बन्न आठ वर्ष लाग्यो । यसका लागि अनेकौ प्रयत्न र प्रपञ्च भए । लामो राजनीतिपछि बल्ल–बल्ल ऐन त बन्यो तर कार्यविधि र नियमावली बनेर कार्यान्वयनमा आउन अझ कति समय लाग्ने हो यसै भन्न सकिने अवस्था छैन ।
यसै पनि नेपाल रात रहे अग्राख पलाउने देशका रूमा बदनाम छ । यही क्रममा कार्यविधि र नियमावलीमाथि पनि राजनीति नहोला भन्न सकिन्न । अहिले पनि गैरआवासीय नेपाली नागरिकतालाई लिएर गैरआवासीय नेपाली नागरिकहरूमा तीन किसिमको कित्ताकाट पाइन्छ ।
पहिलोथरि, गैरआवासीय नेपाली नागरिकताको समर्थन गर्छन्
दोस्रोथरि, वंशजको नागरिकताकै निरन्तरता चाहन्छन्
तेस्रोथरि, गैरआवासीय नेपाली नागरिकताकै पनि औचित्य देख्दैनन्
पहिलोथरिको कुरा गर्दा, बहुमत संख्यामा रहेका उनीहरू अहिले प्राप्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताकै पक्षधर छन् । बर्तमान नेपालको संविधान २०७२ मा यही प्रावधानको व्यवस्था भएकाले अहिलेका लागि यसको विकल्प नभएको उनीहरू ठान्छन् । उनीहरू यही किसिमको गैरआवासीय नेपाली नागरिकता नै दीर्घकालसम्मका लागि व्यवहारिक हुने धारणा राख्छन् । पुस्ता बित्दै जाँदा यो नागरिकताको खासै अर्थ र उपादेयता नहुनेमा पनि उनीहरू ढुक्क छन् ।
दोस्रोथरिको कुरा गर्दा, केही संख्यामा रहेका उनीहरू अहिले प्राप्त गैरआवासीय नेपाली नागरिकतालाई औचित्यहीन ठान्छन् र वंशजको नागरिकताकै निरन्तरता चाहन्छन् । उनीहरू ‘पैसा चल्ने भोट नचल्ने’ भन्दै राजनीतिक अधिकारसहितको दोहोरो नागरिकता नै हुनुपर्ने धारणा राख्छन् । झट्ट सुन्दा लोकप्रिय देखिने यो भनाइ लोकरिझ्याइँका हिसाबले बिकाउ छ । र, अहिलेको गैरआवासीय नेपाली संघ (एनआरएन) मा राजनीति गर्नेहरूका लागि यो नै बिकाउ नारा पनि भएको छ । एनआरएनको चुनावमा उम्मेद्वार हुनेले यो कित्ताभन्दा अर्को कित्तामा रहेर चुनाव नै जित्न नसक्ने अवस्था छ । यही बाध्यताका कारण यो अव्यवहारिक कित्तामा अझै पनि थुप्रै मानिस अल्झिएका छन् ।
तेस्रोथरिको कुरा गर्दा, यो कित्तामा नयाँ पुस्ताका खासगरी नेपालको सहरी इलाकामा जन्मिएका र अंग्रेजी माध्यममा बोर्डिङको शिक्षादीक्षा पाएका छन् । राजनीतिक सचेतना नै नरहेको यो तप्कालाई गैरआवासीय नेपाली हुनु वा हुनुसँग नै कुनै मतलव छैन । त्यसैले उनीहरू यस विषयमा कुनै धारणा राख्दैनन् । उनीहरूका बाबुआमाले बोकेको धारणामा खासै सहमत नभए पनि असहमत पाइदैनन् ।
यो कित्ताकाट चाँहि मूलत राजनीतिक विषयसँग जोडिएको छ तर जब आर्थिक कुरा आउँछ त्यस कोणबाट भने दुई किसिमको कित्ताकाट पाइन्छ ।
पहिलोथरि, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात भएकाहरू
दोस्रोथरि, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात नभएकाहरू
पहिलोथरिको कुरा गर्दा, नेपालमा जग्गा–जमिन र बैंकमा मौज्दात भएकालाई अहिले भएकै गैरआवासीय नेपाली नागरिकता ठीकै लाग्छ । उनीहरू यही प्रावधानअनुसार आफ्नो अर्थतन्त्रको मेसो मिलाउन चाहन्छन् । उनीहरूको स्वार्थ तत्कालका लागि कार्यविधि र नियमावाली आफ्नो आर्थिक चाँजो सहजै मिल्नसक्ने किसिमले आवोस् भन्ने नै छ ।
यो कित्ता ठूलो छ र यस कित्ताका धेरै मानिसहरू अहिले नेपालमा रहेको आफ्नो सम्पतिको असुरक्षाले पिरोलिएका छन् । अहिले व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता छिटो लागु होस् भन्ने पनि यही कित्ताका मानिस हुन् ।
दोस्रोथरिको कुरा गर्दा, उनीहरूको नेपालमा जग्गाजमीन र बैङ्क मौज्दात खासै छैन भए पनि गाउँमा नाम मात्रको जग्गाजमीन छ । यस्ता मानिसलाई अहिलेको गैरआवासीय नेपाली नागरिकताको कुनै अर्थ छैन । यो कित्ताका मानिसको राजनीतिसँग वा गैरआवासीय नेपाली संघको चुनावी जोडघटाउसँग सम्बन्ध छ भने उनीहरू वंशजको नागरिकताको निरन्तरताको पक्षमा चर्को आवाज निकालिरहेका हुन्छन् । तर, नेपालको आन्तरिक तथा गैरआवासीय नेपाली संघको चुनावी राजनीतिसँग कुनै साइनो नभएकालाई भने गैरआवासीय नेपाली नागरिकता हुनु वा नहुनुले खासै अर्थ राखेको देखिदैन ।
यस अतिरिक्त कित्ताकाटको तेस्रो आयाम पनि पाइन्छ । यो आयाम विशुद्ध भावना अझ सामाजिक प्रतिष्ठासँग जोडिएको छ । त्यो के भने अझै पनि विदेशी राहदानीमा नेपालको भिसा लगाएर नेपाल जानु सामाजिक प्रतिष्ठाको विषय बन्न सकेको छैन । त्रिभुवन विमानस्थलको अध्यागमन कक्षमा विदेशीको लाइनमा लागेर नेपाल भित्रिने नेपाली अनुहारमा खासै चमक देखिदैन ।
एक किसिमले पाइन झरेका जस्ता देखिने ती अनुहारहरू अध्यागमन कक्ष पार हुने बित्तिकै विदेशी राहदानी लुकाएर पुरानै नेपाली नागरिकताले काम चलाउन थाल्छन् । यो क्रम नेपाल रहुञ्जेल अर्थात् फेरि विदेशी नागरिक भएको देश फर्कने क्रममा विमानस्थलको प्रस्थान कक्ष नपुग्दासम्म जारी रहन्छ । यसको एउटा पक्ष भावनासँग जोडिएको छ भने अर्को पक्ष आर्थिक पनि छ ।
यो कित्ताकाटसँगै जोडिएको अर्को पाटो पनि छ । त्यो के भने विदेशी राहदानीमा नेपाल जाँदा भिसा दस्तुर तिर्नुपर्ने हुन्छ । आफ्नै जन्मभूमीमा जाँदा पैसा तिर्नुपर्ने कुराले उनीहरूको मन अमिलो हुन्छ । यसरी अमिलो बनाउनेहरू एकाथरि विशुद्ध पैसाका कारण त्यसो गरिरहेका हुन्छन् भने अर्कोथरि भावनासँग जोडिएर मन दुखाइरहेका हुन्छन् ।
यी सबै पात्रसँग मात्र हैन, प्रवृत्तिसँग जोडिएका कित्ताकाटका विविध आयाम हुन् । विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीहरू जो जहाँ भेटिन्छन्, यी पक्षमा बसिबियालो गरिरहेकै भेटिन्छन् ।
सरकारले गैरआवासीय नेपाली नागरिकताका लागि कार्यविधि र नियमावाली बनाउन समय लगाइरहेकै बेला गैरआवासीय नेपालीको छाता संस्था गैरआवासीय नेपाली संघ भने आगामी दशैताका काठमाडौंमा हुने संघको ११औं महाधिवेशनको चुनावी जोडघटाउमा लागेको छ ।
संघले आधिकारिक रूपमा गैरआवासीय नेपाली नागरिकताको स्वागत गरे पनि वर्तमान केन्द्रीय नेतृत्वमा रहेका कसैले पनि त्यसको पूरै स्वामित्व लिइरहेका छैनन् । उनीहरूलाई थाहा छ, अहिलेको संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकताको विकल्प छैन । तर, यसको पक्षमा उभियो भने संघमा अलोकप्रिय भएर आउने चुनाव जितिदैन ।
‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने मूलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले आफ्ना विदेशी नागरिकता लिइसकेका सदस्यका लागि गर्न सक्ने अधिकतम कुरा नै गैरआवासीय नेपाली नागरिकता हो ।
२०७२ को संविधानमा ठूलो मेहनत र बहस पैरवी गरेर नै यो प्रावधान राख्न सम्भव भएको थियो । गैरआवासीय नेपाली नागरिकता पनि नेपालको संविधानमै व्यवस्था भएको एक प्रकारको नेपाली नागरिकता नै भएकाले यो लिनेहरू स्वतः एकपटकको नेपाली सधैँको नेपाली हुन्छन् । यो यथार्थ हो र यही भाष्य निर्माण गरेर अगाडि बढ्नु नै गैरआवासीय नेपाली संघका लागि हितकर देखिन्छ ।
तर, दुर्भाग्य त्यसो हुन सकेको छैन । यसपटकको महाधिवेशनको क्रममा विभिन्न देशमा भएका गैरआवासीय नेपाली संघको चुनावमा पनि यो भाष्य निर्माण गर्नतिर कोही लागेन । किनकि, यो भाष्यले उनीहरूको चुनावी डुंगा पार लाग्ने थिएन । अहिले पनि गैरआवासीय नेपाली संघमा दोहोरो नागरिकताको प्राप्ति नै एकपटकको नेपाली सँधैको नेपाली भन्ने सनातनी भाष्यले नै काम गरिरहेको छ । यो लिकबाट मूल नेतृत्व अझै पनि बाहिर निस्कन सकेको छैन । यसको मूल कारण संघलाई चुनावी परिणाममार्फत् आवधिक रूपमा राजनीतिक पार्टीको भातृसंगठनका रूपमा उभ्याउने प्रपञ्च नै हो । यसका लागि नेपालका मुख्य राजनीतिक दल जति दोषी छन्, त्योभन्दा बढी दोषी उनीहरूको हली हुन तयार गैरआवासीय नेपाली संघका अगुवाहरू हुन् ।
गैरआवासीय नेपाली संघ विदेशमा रहेका नेपालीको सबैभन्दा ठूलो र साझा संस्था हुँदाहुँदै पनि यो गोलमाले संघ भएको छ । यसमा नेपाली नागरिकता मात्र भएका पनि छन्, विदेशी नागरिकता लिइसकेका पनि छन् । यी दुईबीच नेपाली मूल बाहेक बाँकि सबै कुरामा स्वार्थ बझान हुन्छ । दुई परस्पर विरोधी स्वार्थ र सोच बोकेका सदस्य भएको कुनै पनि संस्थाको गति न हाँस न बकुल्लाको जस्तै हुने हो । अहिले गैरआवासीय नेपाली संघको हालत पनि ठीक त्यस्तै भएको छ ।
गैरआवासीय नेपाली संघ इतिहासमै सबैभन्दा प्रतिरक्षात्मक स्थितिमा पुगेको छ । यसको वर्तमान नेतृत्वमा गैरआवासीय नेपाली संघको प्रसव पीडा भोगेको बिरासतको निरन्तरता लगभग सकियो भन्दा पनि हुन्छ । अहिले जो नेतृत्वमा पुगेका छन्, उनीहरू बिशुद्ध राजनीतिक पार्टीको बैशाखी टेकेर उभ्याइएका बुख्याचा नै हुन् । उनीहरू आफूलाई उभ्याउने पार्टीको लाइनमै उही खाले भाषा बोल्ने हुन्, बोलिरहेकै छन् ।
यसले गर्दा संघको विश्वसनियता पनि गुमेको छ, छविमा पनि नराम्ररी क्षय भएको छ । यो एक पदलोलुप पैसावाल झगडियाहरूको क्लबजस्तो भएको छ । यसले गर्दा नेपाली डायस्पोरामा रहेका १० प्रतिशत मानिस पनि यो संस्थामा जोडिन सकेका छैनन् । पुरानाहरू झगडा गरेर बसेकै छन् भने नयाँहरू आकर्षित हुन सकेका छैनन् । जो आकर्षित भएका भनिएका छन्, अपवादबाहेक उनीहरू पनि चुनावी उम्मेद्वारका सौजन्यमा बनाइएका खेताला मतदाता मात्र हुन् ।
अहिलेको अवस्था खासगरी नेपालमा जग्गा–जमिन र जायजेथा भएका गैरआवासीय नेपालीका लागि चुनौतीपूर्ण बन्दै जाँदा चासो र चिन्ताको विषय भएको छ । तर, उनीहरूका लागि बोलिदिने कोही छैन । एकातिर सरकार पश्चगामी कार्यविधि र विनियमावली बनाएर उनीहरुको सम्पत्तिको अधिकार र निर्वाध भोगचलनलाई अंकुश लगाउन चाहिरहेजस्तो देखिन्छ भने अर्कोतिर दोहोरो नागरिकताको पपुलिष्ट चुनावी नारामा गैरआवासीय नेपाली संघको आगामी नेतृत्व हत्याउने दाउमा रहेको नेतृत्व यस्तो संगीन अवस्थामा पनि मौनता साँधिरहेको छ । गैरआवासीय नेपाली नागरिकतातिर ध्यान दिदा आफू दोहोरो नागरिकता विरोधी देखिने भएकाले चुनाव नजितिने आँकलनमा उसको मुखमा बुझो लागिरहेको हो । यो सत्य बुझ्न कुनै आइतबार पर्खनु पर्दैन ।
वास्तवमा बसुधैव कुटुम्बकमःमा विश्वास गर्ने हामी नेपालीका लागि संसार नै एउटा परिवार हो । संसारभर छरिएर रहेका नेपालीले नेपाललाई खुम्च्याइरहेका छैनन्, बिस्तारित गरेर संसारलाई नै आफ्नो परिवार बनाइरहेका छन् । यो सत्यलाई ध्यानमा राखेर नेपाल सरकारले पनि उनीहरूलाई भावनात्मक रूपमा जोडिराख्न प्रयत्न गर्नुपर्छ भने विदेशी नागरिकता लिइसकेका नेपालीले पनि म नै नेपाललाई रैथाने माया गर्ने नेपाली हुँ, त्यसैले मलाई दोहोरो नागरिकता हुनुपर्छ भन्ने लिढेंढिपी गर्नु हुदैन । यो लिढेंढिपीले घरदेश र परदेशमा रहेका नेपालीबीचको दूरी बढाएर अन्ततः भाइचारामै संकट ल्याउँने हो ।
अहिलेका लागि भने सम्बन्धित सबै पक्षले यो विषयको संवेदनशीलता बुझेर संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयनमा जानु नै श्रेयस्कर हुनछ । त्यसका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघले दुबै पक्षका संवेदनशीलता बुझेर दुबैको जीत हुने गरी समयसापेक्ष कार्यविधि र नियमावाली बनाएर कार्यान्वयनमा ल्याउनु नै वुद्धिमता हुने छ । अन्यथा, यो मुद्दा दुबै पक्षलाई घाइते बनाएर चहराइरहने एक किसिमको घाउ मात्र हुने छ ।