Logo
Logo

भीमदत्त पन्त


कैलासकुमार पाण्डेय

2.9k
Shares

भीमदत्त स्वयं एउटा इतिहास हो
सधै इतिहास लेखिँदैन
इतिहास सबैले निर्माण गर्न सक्दैनन्
सबैको इतिहास पनि बन्दैन
इतिहास निर्माण गर्न
त्याग चाहिन्छ
बलिदान चाहिन्छ
समर्पण चाहिन्छ
त्याग, बलिदान, समर्पणको पर्याय हो भीमदत्त
जसले मुक्तिको लडाइँ लडे
जहानिया राणाका विरुद्ध लडे
सामन्ती व्यवस्थाका विरुद्ध लडे
गरिवी र पछौटेपनका विरुद्ध लडे
सामाजिक रुपान्तरणको पाञ्चजन्य फुके
जहाँ तानाशाही शासन व्यवस्था थियो
जहाँ बेठ बेगारी थियो
जहाँ जनता रैती थिए
दास प्रथा थियो
नारकिय जीवन जिउथे
विभेदको निकै ठूलो खाडल थियो
छुवाछूत जरा गाडेरै बसेको थियो
समाजमा खलो, हलि र डोली प्रथा थियो
छिटपुट देउकी पनि प्रथा कै रूपमा देखिन्थ्यो
देशको सिमा भित्र क्रुर वर्वर शासन थियो
व्यवस्था र अवस्था
सिद्धान्तको रटानले परिवर्तन हुँदैन
व्यवहार परिवर्तन हुनु पर्छ
सिद्धान्तको व्यवहारिक प्रयोग जरुरी थियो
भीमदत्तको लडाइँ
स्वतन्त्रता, समानता लोकतन्त्रका लागि थियो
जनताको अधिकारका लागि थियो
रैती, दासलाई नागरिक बनाउनका लागि थियो
गरिवको हुनाउ आयो ठालुको काल आयो भनेर
सामन्तका विरुद्धको लडाइँ थियो
तमसुक च्यात, भकारी फोड
अभियान चल्यो
जय जनता जय किसान भन्दै
सहुकाराले लिएका तमसुक च्यातिए
नुन नपाइँ तड्पेकालाई नुन, गुड मिल्यो
अधिकारको जंग लडे
कित जोत हलो कित छोड थलो भन्दै
खेत जोत्ने किसानको पक्षमा विप्लव भयो
विप्लवी दलको मोर्चा समाली
शसस्त्र युद्ध नै भयो
जसले संघर्ष गर्न जान्दछ उसले चाकरी गर्न जान्दैन
रुपान्तरणका लागि सधै संघर्षरत रहन्छ
युद्धै लडेको भए जनताको जीत हुन्थ्यो
आमनेसामने लडेको भए भीमदत्तले जित्थे
तर कायरहरु योद्धाको सामुन्ने टिक्न सक्दैनन्
आमने सामने पुग्न सक्दैनन्
छद्म रुपमा निहत्या निर्मम किसिमबाट
एउटा महापुरुषको अन्य गरियो
योद्धाले वीरगति पाउँदा अमरत्व पाएको हुन्छ
वीर शहीद अमर रहुन् युग युगले भन्दछ र
एउटा संघर्षको इतिहास निर्माण हुन्छ
कैयौ दुर्गादत्तहरु, नरबहादुरहरु
सिपाही बनि रहन्छन
हरेक गाउ बस्तीमा भीमदत्तहरु जन्मी रहन्छन्
जसले अधिकारका लागि प्राणाहुति गरे
उसको नाम स्वर्णिम अक्षरले इतिहासमा लेखिन्छ
जसको अधिकार स्थापित भएको उसले
युगौयुग गाथा गाइरहन्छ
युग पुरुषले रचना गरेको मार्गमा
समाज डोरिएको हुन्छ
भीमदत्त पन्त वीर योद्धा सँगै
मन, वचन, कर्मले पनि महान थिए
हरेक युगले सम्झी रहेने छ
निरंकुशका पक्ष पोशाकहरु
वीर योद्धासँग त डराउँछन् नै
वीरहरुका शवसँग पनि डराउँछन्
शालिकसँग डराउँछन्
नामसँग डराउँछन
कैयौ भीमदत्तहरु अझै
अधिकारको खोजिमा नै छन्
गल्लेकमा छाडिएको पार्थिव शरीर
लिङ्गोमा गाडेर झुण्ड्याइएको शीर
युद्ध मोर्चामा नै छ
आर्थिक, सामाजिक रुपान्तरणका लागि
जय जनता जय किसान भन्दै
गर्जना गर्दैछन् भीमदत्त पन्त

परशुराम–१२ डडेल्धुरा

प्रतिक्रिया दिनुहोस्