Logo
Logo

भारतमा बृहत् कला प्रदर्शन गर्दै कला परिषद्


504
Shares

काठमाडौं । नेपाल प्राकृतिकले मात्र होइन, कला र संस्कृतिले पनि धनी मानिन्छ । र, धनी पनि छौँ । तर, नेपाली कलाकृतिको सोचेजस्तो प्रवद्र्धन गर्न सकिएको छैनौं । यो तितोसत्य हो । त्यसैले कतिपय नेपाली आधुनिक कला, संस्कृति र परम्परागत कलाकृति केवल हामीमै सीमित छ । यसो हुनुको पछाडि सरकारको कलाप्रतिको उपेक्षा नै हो । नेपालको मौलिक पहिचान भनेकै कला संस्कृति हो । यसको जगेर्ना गर्नु सबैभन्दा पहिला राज्यको दायित्व हो ।

नेपालको कला र संस्कृति देखेर विश्वभरका पर्यटकहरु अचम्म मान्छन् । हस्तकला एवं मूर्तिकला जस्ता नेपाली कलाकृतिहरु विश्वमै उत्कृष्ट मानिन्छ । अहिलेको आवश्यकताको भनेको हाम्रो कला, संस्कृतिको प्रवद्र्धन नै हो । यसो भनेर नेपाली कलाकृतिको प्रवद्र्धन गर्ने प्रयास नगरिएको होइन । नेपाली कलाकृतिको प्रवद्र्धन एवं सम्वद्र्धन गर्ने उद्देश्यले स्थापित नेपाल कला परिषद आफ्नो उद्देश्यअनुसार सक्रिय छ ।

यही उद्देश्यअनुरुप कला परिषद्ले हालसम्मकै सबैभन्दा ठूलो नेपालका आधुनिक कलाकृतिको प्रदर्शनी गर्दैछ । भारतको विहारमा हुन गइरहेको जी–२० मुलुकहरूको सम्मेलनका अवसरमा यही साउन २२ देखि २० असोजसम्म आयोजना हुने ‘विहार म्युजियम वियनाल–२०२३’ नामक अन्तर्राष्ट्रिय कार्यक्रममा परिषद्ले नेपालको बृहत् कलाकृति प्रदर्शन गर्न लागेको हो ।

कला परिषदले काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै कला प्रदर्शनीबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष सागरशम्शेर राणाले भने, ‘यस परिषद्लाई विहार संग्रहालयको आयोजनामा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा निमन्त्रणा प्राप्त भएको छ । नेपालका तर्फबाट सहभागी हुने यस परिषद्लाई प्रदर्शनीस्थलमा भारतले नेपालको सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शन गर्न निःशुल्क चार हजार वर्गफिटको एकल ग्यालरी उपलब्ध गराएको छ । यो हाम्रो लागि एकदमै खुसीको कुरा हो ।’

परिषदका अनुसार जहाँ नेपाली कलाकारले १६ फिटको मण्डलासमेत प्रदर्शन गर्ने भएका छन् । जसले विश्वका कलाप्रेमीको ध्यानाकृष्ट गर्न सक्ने कला परिषदको अपेक्षा र विश्वास छ ।

कला परिषदको पछिल्लो यस प्रदर्शनीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र यति एअरलाइन्सको पनि साथ रहेको छ । पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र यति एअरलाइन्सको सहकार्यप्रति कला परिषदले खुसी व्यक्त गरेको छ ।

परिषदका अध्यक्ष राणाले भने, ‘नेपालको कला एवं संस्कृतिक पहिचानलाई विश्वसमक्ष चिनाउने यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीलाई राज्यले पूर्ण सहयोग गर्नुपर्ने हो । तर, राज्यले गर्नुपर्ने दायित्य नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र यति एअरलाइन्सले गरेको छ । यसमा हामी खुसी छौँ ।’

विहारका मुख्यमन्त्री नितिशकुमारले स्थापना गरेको विहार संग्रहालय भारतको सबैभन्दा नयाँ आधुनिक संग्रहालय हो । उक्त प्रान्तीय संग्रहालय शुभारम्भ सन् २०१५ भई विधिवतरूपमा सन् २०१७ मा भारतका उत्कृष्ट सांस्कृतिक सम्पदा तथा धरोहरहरूको प्रदर्शन गर्न करिब १३ एकड जग्गामा संग्रहालय अवस्थित छ ।

विहार एवं समग्र भारतको कला एवं संस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले त्यसेबला विहारका मुख्यममन्त्री नितिश कुमारले उक्त संग्रहालयको स्थापना गरेका हुन् । जुन संग्रहालय अहिले भारतमै चर्चित छ ।

यसपटकको कला प्रदर्शनीमा नेपालका विभिन्न ६६ कलाकारका दुई सय पाँच उत्कृष्ट कलाकृति प्रदर्शन गराइने अध्यक्ष राणाले जानकारी दिए । सो प्रदर्शनीमा नेपाल, भारतसँगै रसिया, इजरायल, कोष्टारिका, पनामाले पनि कला प्रदर्शनी गर्दैछ ।

एकैपटक यति धेरै नेपालका आधुनिक कलाकृतिहरू विदेशमा प्रदर्शन हुन लागेको यो पहिलो अवसर भएको अध्यक्ष राणाको भनाइ छ । सो अवसरमा विभिन्न देवीदेवताका चित्र, मञ्जुश्री, कुमारी, गौतम बुद्ध, भैरव, सांस्कृतिक पर्वसम्बन्धी मूर्ति, चित्र र पेन्टिङ प्रदर्शनी हुने बताइएको छ । साथै, काष्ठकलाका नमूना कृति पनि प्रदर्शनी गरिनेछ ।

विगतमा पनि कला परिषद्को तत्वावधानमा सन् २०१९ मा नेपाललाई प्रतिनिधित्व गरी विश्व प्रसिद्ध ‘वेल्ट म्युजियम भियना’मा २५ कलाकारका एक सयभन्दा बढी परम्परागत तथा आधुनिक कलाकृति प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीताका नेपाली कलाकृतिको विश्वमा चर्चा भएको थियो ।

कला परिषद् निजी सरकारी साझेदारीको अवधारणाअनुसार ६० वर्षअघि स्थापना गरिएको संस्था हो । परिषद्को उद्देश्यअनुसार राष्ट्रिय, प्रान्तीय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाहरूको प्रचारप्रसार तथा विस्तार गर्ने कार्यमा सक्रियरूपमा योगदान रहिआएको छ ।

पछिल्लो समय परिषदले निरन्तर नेपालका आधुनिक कला, जनजातीहरुको कला, परम्परागत एवं समसामयिक कलासम्बन्धी प्रवद्र्धधात्मक कार्यहरु गर्दै आएको छ । जसले केही हद भएपनि कला पारखी र कलाप्रेमीलाई हौसला र प्रेरणा मिलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्