Logo
Logo

प्रमोदले ल्याए एकल गीतिसंग्रह ‘चुपचाप मन पराएँ’ (भिडियोसहित)


1.1k
Shares

काठमाडौं । लामो समयदेखि गीत रचनाको क्षेत्रमा सक्रिय गीतकार प्रमोद भट्टराई ‘प्रतीक’द्वारा रचना गरिएका आधुनिक गीतहरुको पहिलो गीतिसंग्रह ‘चुपचाप मन पराएँ’ काठमाडौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ ।

गीतकार प्रमोद भट्टराई प्रतीकको जन्मदिनको अवसर पारेर साउन १५ गते सोमबार गीतकार संघ नेपालले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको उक्त सांगीतिक समारोहमा उक्त गीति संग्रह लोर्कापर्ण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरु संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त संग्रह लोकार्पण गरेका थिए ।

बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु संग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो ।

लोकप्रिय गायक राजेशपायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गरेका थिए । उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालको यूट्युब च्यानलमा उपलब्ध छ । यो गीतमा किर्ति न्यौपानेको संगीत छ ।

‘चुपचाप मन पराएँ’मा लोकप्रिय गायक–गायिकाको स्वर रहेको छ । एल्बममा समावेश गीतहरुमा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई र रचना रिमालको स्वर रहेको छ ।

यी गीतहरुमा संगीतकार किर्ति न्यौपाने (दिवाकर शर्मा)द्वारा संगीतबद्ध छ वटा गीतहरु समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।

एल्बममा समावेश गीतहरुलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको संगीत संयोजन छ । एल्बममा समावेश गीतका म्युजिक भिडियोहरु पनि तयार पारिएका छन् । ती भिडियोहरुलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् ।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको भिडियोमा मदनकृष्ण आफैँले अभिनय गरेका छन् भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गरेका छन् ।

संग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गरेका छन् । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । बिनोद बमले यसको भिडियो निर्देशन गरेका छन् । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोलाई फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका छन् । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्