Logo
Logo

नरबलिबाट जोगिएकी मोडलको कथा


- एमपी सुब्बा

0
Shares

एमपी सुब्बा

यो साता मोडलिङ क्षेत्रलाई नै त्रसित बनाउने एउटा गम्भीर घटना सार्वजनिक भएको छ । ‘मोडलिङ गराउने भन्दै एक युवतीलाई बली दिन खोज्ने गिरोह पक्राउ’ शीर्षकमा आएका समाचारले मोडलिङ क्षेत्र त शसंकित बन्यो नै, उक्त घटनाले युवापुस्ताको रहर फूलाउने मोडलिङप्रति पनि त्रासदी फैलायो ।

उसै त नेपाली समाज मोडलिङप्रति त्यति सकरात्मक छैन । यसैबेला मोडलिङको प्रस्ताव गरेर ‘बली दिन खोजिएको’ डरलाग्दो र गम्भीर खुलासा भएपछि उक्त घटनाले मोडलहरुमा एक किसिमको मानसिक त्राश उब्जिएको छ ।

शरीरमा घाउँ चोट, शल्यक्रिया गरे–नगरेको र महिनावारी भए नभएको जस्ता अनावश्यक प्रश्नले बलिको अन्तिम तयारीमा रहेकी एक मोडलको त ज्यान जोगियो नै, अन्य पाँच युवतीको समेत ज्यान जोगिएको छ । यस घटनामा प्रहरीले समेत ठूलो सफलता हासिल गरेको छ । घटनामा संलग्नमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

मिडियामा बेला–बेला आउने समाचारले ग्ल्यामरस पेसाका रुपमा चिनिएको मोडलिङ क्षेत्रमा शारीरिक, मानसिक र आर्थिक शोषण हुन्छ भन्ने मानसिकता नेपाली समाजमा विद्यमान रहेको छ । यस्तो अवस्थामा एक युवतीलाई मोडलिङ गराउने प्रस्ताव गरेर बलि दिन खोजिएको गम्भीर खुलासाबाट प्रहरीलाई समेत अचम्ममा परेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती युवतीलाई भारतमा लगेर तान्त्रिक पूजा गरी बलि दिने तयारी गरिएको खुलेको हो ।

उक्त गम्भीर घटनामा संलग्नमध्ये सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङका २४ वर्षीय दिलकुमारी बुढामगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङका २३ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताएका छन् । उनका अनुसार अनुसन्धान जारी छ ।

हुन त नेपाली बालिका वा युवती भारत लगेर बलि दिन खोजिएको यो पहिलो घटना भने होइन, केही वर्षअघि पनि एक नेपाली बालिकालाई बलि दिन भारत लैजानेक्रममा उद्दार गरिएको थियो । यसरी हरेक वर्ष भारतीय त्रान्त्रिकहरुले नेपाली युवती तथा बालिका लैजाने गर्छ भन्ने यो पछिल्लो घटनाले देखाएको छ । तर, यसपटक सर्वधारण बालिका नभएर त्रान्त्रिक पुजाको नाममा मोडललाई बलि दिने प्रयास गरेपछि घटनाले बृहत्त रुपमा लिएको हो ।

यस्तो थियो प्रस्ताव

केही समययता मोडलिङ क्षेत्रमै सक्रिय शर्मिला (नाम परिवर्तन)लाई चिनेकै मान्छेबाट मोडलिङका लागि प्रस्ताव आयो, ‘एउटा राम्रो प्राजेक्टका लागि ६ फिट हाइटको मोडल चाहिएको छ । काम गर्ने हो ?’ म्युजिक भिडियोमा काम गर्दै आएकी शर्मिलाले यसरी आएको प्रस्तावबारे धेरै सोचेनन् । उनको भनाइअनुसार सितापाइलाकी प्रेममाया तामाङले उनलाई प्रस्ताव गरेकी थिइन् ।

मोडलिङका लागि विराटनगर आउ–जाउ गर्ने हवाई टिकटसहित ५० हजार रुपैयाँ दिने भनेपछि उनी दंग परिन् । मोडलिङ गर्नका लागि ६ फिट उचाइको हुनुपर्ने माग थियो । शर्मिलाको उचाई ५ फिट ११ इन्च भएकाले आफू फिट हुनेमा पक्का थिइन् । उनले प्रहरीलाई बताएअनुसार शर्मिलाले उनको उचाइ नापेर विराटनगरका उमेश शाहलाई पठाए ।

‘केही दिनमा तिम्रो नाम फाइनल भयो भन्ने खबर आयो’, पीडित शर्मिलाले प्रहरीसँग भनेकी छन् । त्यसपछि आफूलाई अनेक प्रश्नहरु सोध्न थालेको उनले प्रहरीलाई बताएकी छन् । उनी कार्यक्रमको ढाँचा माग्थिन् । तर, तामाङको समूहले अर्कै प्रश्न गर्थें, ‘मासु खान्छौं ? रक्सी खाने गरेको छौँ कि छैनौँ ? महिनावारी भएको छ कि छैन ?’ यतिमात्र नभएर भारतीय सीमा क्षेत्रमा गएर पूजा गर्ने भन्ने सुनेपछि उनी झस्किइन् ।

यस्तै प्रश्नले आफूलाई शंसकित बनाएको काठमाडौं प्रहरी परिसर, टेकुमा गएर मौखिक जानकारी गराएकी थिइन् । जुन कुरा सुन्दा प्रहरीलाई नै आश्चर्य लागेको थियो । भारततिर लानुपर्ने, पूजा पाठ र महिनावारीबारे सोध्नुपर्ने कारण के हुनसक्ला ? भन्ने लागेर त्यसको खोजीमा लागेको परिसरका डीएसपी बोगटीले बताए ।

प्रहरीको अप्रेशन

पीडित शर्मिलाको बयान सुनेपछि काठमाडौं प्रहरीले गोप्य अपरेशन चलाउने निर्णय ग¥यो । अप्रेशनका लागि शर्मिलालाई साथमै लिए । नुवाकोटका कृष्ण तामाङले उनलाई विराटनगर आउन भन्दै हवाई टिकट र २६ हजार रुपैयाँ दिए । तर प्रहरीसँग समन्वय गरिरहेकीले उनी त्यो दिन विराटनगर उड्न पाइनन् । अर्को दिन सोमबार १०ः३० बजे त्रिभुवन विमानस्थलबाट दाङकी दिलकुमारी बुढासँगै उनी विराटनगर गइन् । प्रहरी टोली पनि सँगै थियो ।

विमानस्थलमा उनलाई लिन नवलपरासीका कृष्ण तामाङ र सप्तरीका उमेश शाह आएका थिए । शर्मिलाका लागि जलजला चोकको कालिमन्दिर धर्मशालाको कोठा नं. २०५ र २०६ बुक गरिएको थियो । जहाँ उनलाई फेरि त्यही प्रश्न सोधे, उचाई कति, महिनावारी भएको छ कि छैन ? र शरीरका अंगमा घाउचोट छ कि छैन ? इत्यादि । त्यसपछि अपरेशनमा खटिएका प्रहरी अधिकृतहरु झस्किए ।

घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न काठमाडौं प्रहरी परिसरले आयोजना गरेकोे पत्रकार सम्मलेनमा अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बाहिर गएका बेला उनीहरुले अपरिचित व्यक्तिसँग तान्त्रिक पूजाका लागि सीमापारी लैजाने भनेको सुनियो ।’ शर्मिलालाई शपिङ गर्ने बहानामा भारतीय सीमा जोगवनी पु¥याए र एक घरमा राखेर तान्त्रिक पूजा गराउन लाग्दा अनुसन्धान अधिकृतको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

टोली काठमाडौं फर्किएपछि तामाङलाई सितापाइलाबाट पक्राउ गरिएको थियो । त्यसपछि शर्मिलालाई मात्र नभएर अन्य ५ जना युवतीलाईपनि बलि चढाउन खोजेको देखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा बताएका छन् ।

शरीरमा घाउँ चोट, शल्यक्रिया गरे–नगरेको र महिनावारी भए नभएको जस्ता अनावश्यक प्रश्नले बलिको अन्तिम तयारीमा रहेकी एक मोडलको त ज्यान जोगियो नै, अन्य पाँच युवतीको समेत ज्यान जोगिएको छ । यस घटनामा प्रहरीले समेत ठूलो सफलता हासिल गरेको छ । घटनामा संलग्नमध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताएका छन् । तर, प्रहरीका लागि भने मोडललाई बलि दिन लागिएको पहिलो घटना भएको जनाइएको छ । बेचविखनका लागि भारत लगिँदै गरेको अवस्थामा पक्राउ गरिएको थुप्रै घटना छन्, तर, बलि दिनकै लागि भारत लान तयारी गरिएको अवस्थामा पक्राउ गरिएको भने यो पहिलो घटना भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए । पछिल्लो घटनासँगै नेपाली युवती तथा बालिकाहरुलाई भारतमा बलि दिनका लागि लैजाने गरिएको तथ्य समेत खुलेको प्रहरीले जनाएको छ ।

नेपाल–भारत खुला सिमानाका कारण पनि मानव तस्करहरुलाई तस्करी गर्न सजिलो छ । यस्तो घटनामा प्रहरीमात्र नभएर अभिभावक तथा युवती आफै पनि सर्तक हुनुपर्ने प्रहरीको भनाइ छ । एक जना मोडल जो मोडलिङको नाममा बलि चढाइन लागेकी थिइन्, तर, उनको शर्तकताले गर्दा उनीमात्र बचिनन्, अन्य पाँच जना युवती पनि जोगिए भने प्रहरीका लागि उक्त घटना नयाँ अनुसन्धानको विषय बनेको छ । उनलाई कहाँ लगेर बलि दिन खोजिएको हो भन्ने कुराको विस्तृत अध्ययन गरेर भारत सरकारसँगको सहकार्यमा ‘अप्रेसन’ चलाउनु पर्छ । त्यसो भएन भने एक जना नेपाली चेली बलिबाट जोगिए पनि अन्य युवतीहरु बलि चढ्ने कुप्रथाको अन्त्य हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्