Logo
Logo

राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले ओलीले भन्नुभएको छ– ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् । यस्तो विविधतायुक्त साझा सांस्कृतिक पूँजीलाई हामीले संरक्षण गर्दै आएका छौं । तमु समुदायको महान् पर्व तमु ल्होछारका अवसरमा तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ ।’ तमु ल्होछार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रुपमा लिइन्छ । गुरुङ (तमु) भाषामा ‘ल्हो’ दिन, र ‘छार’लाई पुस १५को रुपमा लिइन्छ । भूगोल अनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्होछारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रुपमा मनाउने गर्दछन् ।’

‘हाम्रो सुन्दर देशमा बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

अन्त्यमा, तमु ल्होछार पर्वले तमु समुदाय लगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्