काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरीमा पनि बेला बेलामा यौनकाण्ड बाहिर आएका छन् । पछिल्लो पटक सहायक रथी पंकज कार्की यौन काण्डमा बर्खास्त भएका थिए । २८ नम्बर बाहिनी सिराहामा कार्यरत रहँदा उनीमाथि यस विषयमा छानबिन भएको थियो ।
महिला सैनिकको उजुरीको आधारमा छानबिन हुँदा उनी दोषी देखिएपछि बर्खास्त भएका थिए । अन्य सैनिक अधिकारी पनि बेला–बेलामा यस्तो काण्डमा कारबाहीमा परिरहन्छन् । यस्ता छानबिन र कारबाहीलाई सेनाले गोप्य राख्दै आएको छ ।
अर्काे सुरक्षा संगठन सशस्त्र प्रहरी बलभित्र पनि यौनकाण्ड मच्चिने गरेका छन् । तीन वर्षअघि एसएसपी राजेन्द्र अधिकारी बलात्कार घटनामा पक्राउ परे । चितवनकी एक महिलालाई क्वार्टरमै बोलाएर बलात्कार प्रयास गरेको उजुरी उनीविरुद्ध परेको थियो ।
ती महिलासँग उनको पुरानो सम्बन्ध थियो । त्यस दिन उनले एसएसपी अधिकारीसँग ठूलो रकम माग गरेकी थिइन् । तर, एसएसपीले गाली गरेपछि प्रहरीको कन्ट्रोलमा फोन गरेर उनले खबर गरेकी थिइन् । क्वार्टरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पछि युवतीलाई बयान फेर्न लगाएर उनले सफाई पाएका थिए । यो घटनाले सशस्त्र प्रहरीको समेत बदनाम भएको छ । पछिल्लो समय सशस्त्र प्रहरीले महिला हिंसाका घटनामा शून्य सहनशीलताको नीति लिइ कारबाही गर्दै आएको छ ।