Logo
Logo

नेपाल भ्रमण वर्ष शुभारम्भ : ‘यी सडकको वैकल्पिक रुट प्रयोग गरौँ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ पुस । १ जनवरी, २०२० । आज बुधबार ‘नेपाल भ्रमण वर्ष–२०२०’को औपचारिक शुभारम्भ हुँदैछ । राजधानीको दशरथ रंगालामा हुने भव्य शुभारम्भ समारोहलाई
ध्यानमा राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडकका लागि वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।
अपरान्ह ४ बजे सुरु हुने शुभारम्भ कार्यक्रमका लागि दिउँसोको समयमा ठमेलबाट सुरु हुने  -यालि रंगशालासम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिएको छ ।
कार्यक्रममा आउने सम्पुर्ण सर्वसाधरणको लागि काठमाडौं मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको प्रहरीले जनाएको छ । ट्राफिकसम्बन्धि समस्या तथा अन्य जानकारी लिन परेमा ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा फोन गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।
उद्घाटन समारोहको औपचारिक कार्यक्रम करिब पाँच घण्टासम्म चल्नेछ । कार्यक्रममा सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिँदैछ । नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । राष्ट्रगान सकिएलगत्तै बाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ भने कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुति दिनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राखेपछि भ्रमण वर्षको राष्ट्रिय गीत सार्वजनिक गरिनेछ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्नेछिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्