कम्युनिष्ट र कांग्रेसका निम्ति साउन महिना विशेष महिना हो । विपी र पुष्पलालको स्मृतिमा महिमा गाउने, बिरुवा रोप्ने, गोष्ठी, छलफल, बहस गर्ने गरिन्छ । यस वर्ष पहिलेका वर्षभन्दा फरक दृश्यहरू देख्न पाइयो । कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गर्याे । यसलाई ब्याख्या गर्नु परेन ।
यता कम्युनिष्ट नेता विप्लवले भने महत्वपूर्ण कुरा अघि सारेका छन् । सतहमा नयाँ बहसको विषय फ्याँकिदिएका छन् । उनले ‘द्वन्द्वात्मक भौतिकवादको काम छैन, यो अपूरो छ । यसका नियम असफल भइसके’ भनेका छन् । विप्लवले द्वन्द्वात्मक भौतिकवाद र यसका नियमले समाजवाद ल्याउन मद्दत गरे पनि समाजवादलाई बचाउन नसक्ने भन्दै अब यसको सान्दर्भिकतामाथि नवीन बहस गरिनुपर्नेमा जोड दिएका छन् ।
प्रश्न उठ्छ, के साँच्चै महान् दार्शनिक कार्लमाक्र्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद २१औँ शताब्दीसम्म आइपुग्दा त्यसको सान्दर्भिकता सकिएकै हो त ? विप्लव विमर्शमाथि मिहिन विमर्श आवश्यक छ ।
द्वन्द्वात्मक भौतिकवाद कार्लमाक्र्सको सम्पूर्ण राजनीतिक दर्शनको आधारशीला मानिन्छ । तर, द्वन्द्वात्मक भौतिकवाद माक्र्सको आफ्नै मौलिक सिद्धान्त भने होइन । हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादलाई जोडेर द्वन्द्वात्मक भौतिकवादको निर्माण गर्ने काम गरेका हुन् ।
माक्र्सका निम्ति पदार्थ नै सबथोक हो । माक्र्सले भौतिकवादलाई द्वन्द्वात्मक मानेका छन् । यान्त्रिक भौतिकवादका अनुसार भौतिक पर्दाथको विकासको पाटोलाई वातावरणले प्रभाव पार्छ भने द्वन्द्वात्मक भौतिकवादका अनुसार पदार्थमा आउने परिवर्तन त्यसको भित्रबाट निर्धारण हुन्छ । बाहिरी वातावरणले तेज वा मन्दगति मात्र सिर्जना गर्छ । अब प्रश्न उठ्छ– द्वन्द्ववाद के हो ?
कुनै पनि वस्तुमा रहेको गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्धति नै द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद एउटै कुरा होइन । द्वन्द्ववादको विकास हेगेलले गरेका हुन् । उनले द्वन्द्ववादलाई निरपेक्ष विचार र परमात्मासँग लुलना गरेका थिए ।
उनले परमात्मा वा विचारको विकास भएर बस्तु जगत बन्दछ र त्यो बस्तु जगत फेरि विकसित हुँदै त्यही निरपेक्ष विचार वा परमात्मामा पुग्दछ । यो हेगेलको आदर्शवादी विचार थियो । हेगेलको द्वन्द्ववादमाथि टिप्पणी गर्दै माक्र्सले भनेका छन्, ‘हेगेलका लेखहरूमा द्वन्द्वात्मकता टाउकोले उभिएको छ, त्यसैले यदि त्यसबाट मुख्य सार खोज्नु छ भने त्यसलाई गोडाले उभ्याउनुपर्छ ।’
अर्थात्, माक्र्सले तत्कालीन समयसम्म मानव दुनियाँ टाउको टेकेर हिँडिरहेको थियो । त्यसलाई खुट्टा टेकाउने महान् काम गरेका थिए । अब अर्को प्रश्न उठ्छ– भौतिकवाद के हो ?
यो ब्रम्हाण्ड र सारा संसार पदार्थबाट बनेको हो । पदार्थ वा प्रकृति नै पहिलो हो । ईश्वर छैन । विचार वा परमात्माबाट जगत बनेको होइन । भौतिकवादी कुराहरूको वकालत गर्ने सिद्धान्त नै भौतिकवाद हो । बगरको बालुवादेखि रुखका पालुवासम्म, कमिलादेखि डाइनोसरसम्म, पृथ्वीदेखि सूर्यपिण्डसम्म सबै गतिशील छन् ।
माक्र्स भन्छन्, ‘सम्पूर्ण प्रकृति, अति साना वस्तुदेखि लिएर अति विशाल वस्तुसम्म पनि अस्तित्वमा आउन र अस्तित्वबाट लोप हुनका लागि अविरल गतिमा छन् ।’ भौतिकवादको व्याख्या फायरबाखले गरेका थिए । तर, उनीहरूले पदार्थलाई परिवर्तनशील छ भनेर भन्न सकेनन् र दुनियाँ बदल्ने कुरासँग भौतिकवादलाई जोड्न सकेनन् ।
माक्र्सले ती कमजोरीलाई हटाएर भौतिकवादलाई परिवर्तनको पद्धति वा द्वन्द्ववादसँग मिलाउने काम गरे । यस दर्शनमा लेनिन तथा माओले थप विकास गरेपछि माक्र्सवादी–लेनिनवादी–माओवादी दर्शन बन्न पुग्यो ।
यति महत्वपूर्ण मानिएको धारणाबारे माक्र्सले पर्याप्त प्रकाश पारेका छैनन् । सोही कारण पनि द्वन्द्वात्मक भौतिकवाद अति नै जटिल र अस्पष्ट सिद्धान्त बन्न पुगेको हो । यसै कुरालाई लिएर विप्लवले द्वन्द्वात्मक भौतिकवादको सान्दर्भिकतामाथि प्रश्न उठाएको देखिन्छ ।
राजनीतिक दर्शनमाथि विज्ञानले विजय गर्ने सम्भावना बढेर गइरहेको अवस्थामा विप्लवले उठाउन खोजेको विषयलाई असान्दर्भिक भन्न सकिन्न । यसभन्दा पहिले रूस र पूर्वी युरोपका परिवर्तनहरूले पनि माक्र्सको भौतिकवादी ब्याख्यामाथि प्रश्न उठाइ सकेका छन् ।
द्वन्द्वात्मक भौतिकवादको सान्दर्भिकतालाई नविनतम रुपमा परिभाषित र प्रयोग गरिनुपर्छ । यो एउटा यस्तो क्रान्तिकारी विचारधारा हो, जसलको भेल र प्रभावबाट बच्नका लागि विश्वका पुँजीवादी मुलुकहरू भरमग्दुर प्रयास गरिरहेका देखिन्छन् ।
यसबीचमा नेकपाका महासचिव विप्लवले २०७९ को असोज–कात्तिकमा सम्पन्न पार्टीको ९औं महाधिवेशनमा ‘अनिश्चय, रक्षा र रूपान्तरण’को नयाँ नियमको संश्लेषण गरेका थिए । जो भौतिक विज्ञानमा हाइजनवर्गको ‘अनिश्चितताको सिद्धान्त’सँग सम्बन्धित छ । जसले वस्तुको अवस्थिति र गति एकै समयमा ठिक ढंगले जान्न वा नाप्न सकिँदैन भन्छ ।
यसबारे भरत सी लेख्छन्, ‘हामी वस्तुको अवस्थाबारे निश्चित भएको बेला त्यसको गतिबारे अनिश्चित हुन्छौं भने गतिकोबारे निश्चित भएको बेला अवस्थाको बारे अनिश्चित हुन्छौं । यो नियम प्रकृति, मानवसमाज र चिन्तनका क्षेत्रमा पनि लागू हुन्छ । त्यसैले यो दर्शनको विषय बन्छ ।
हामी पुँजीवादी अवस्थामा छौं । यसबारे जति निश्चित हुनसक्छौं त्यति नै यसको गतिबारे अनिश्चित छौं कि यसको गति समाजवादमा कतिबेला कसरी पुग्छ ? ठीक त्यसरी नै ‘यसको गति जो समाजवाद उन्मुख छ’का बारे जति निश्चित हुनसक्छौं त्यति नै बढी पूँजीवाद यही अवस्थामा रहनेमा अनिश्चित हुनेछौं कि यसको कतिबेला कसरी अन्त्य हुन्छ ।’
अन्त्यमा, माक्र्सले द्वन्द्वात्मक भौतिकवाद मात्रै होइन, इतिहासको भौतिकवादी ब्याख्या गरेका छन् । परिवर्तनको सम्पूर्ण श्रेय आर्थिक पक्षलाई दिएका कारण त्यसको पनि आलोचना भएको छ । मानवीय इच्छा, चाहाना, भावना, राष्ट्रियता जस्ता कुराले पनि इतिहास प्रभावित हुने कुरालाई माक्र्सले वेवास्ता गरेको देखिन्छ । अतिरिक्त मूल्य र वर्ग संघर्षको सिद्धान्त प्रतिपादन गरे ।
माक्र्सले अघि सारेका सिद्धान्तहरु आजका दिनसम्म पनि बहसका विषय बनिरहेका छन् । त्यो अलग पाटो हो । तर, माक्र्सले प्रतिपादन गरेका हरेक सिद्धान्त विज्ञानसँग नजिक छन् । त्यसै कारण पनि उनको धेरै आलोचना र विरोध भएको देखिँदैन ।
माक्र्स जन्मेको भूगोल, अर्थतन्त्र, राजनीति, विकास र खासगरी त्यहाँको समाजको राम्रोसँग विश्लेषण गरेको देखिन्छ । यो कुराबाट २१औँ शताब्दिका कम्युनिष्टहरूले धेरै कुरा सिक्नुपथ्र्यो । माक्र्सपछि धेरै सयम अगाडि बढि नै सक्यो ।
नढाँटी भन्नुपर्छ राजनीति र अर्थतन्त्र नै माक्र्सको विश्लेषणभन्दा धेरै भिन्न अवस्थामा पुगिसकेको छ । माक्र्सले नदेखेको र कल्पनासमेत नगरेको आधुनिक जमनामा मानवसमाज आइपुगेको छ । माक्र्सवादी दृष्टिकोणबाट नयाँ जमानालाई हेर्नुपर्छ । ठोस् विश्लेषण गरेर अघि बढ्नुपर्छ ।