Logo
Logo

दिनानाथ पनि ललिता निवासमा जोडिए


39.7k
Shares

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिनामा संलग्नमा सर्वाेच्च अदालतको न्यायिक सक्रियताले यतिबेला देश तरंगित बनेको छ । आइतबार सर्वाेच्चका न्यायाधीशद्वय अनिल सिन्हा र कुमार चुडालको इजलाशले माग नै नगरेको विषयमा आदेश दिएको हो । संयुक्त इजलाशले त्यस प्रकरणका नीतिगत निर्णयकर्तामाथि समेत छानबिन गर्न भनेको छ । धेरैले यो आदेशको प्रशंसा गरेका छन् कतिपयले भने न्यायालयको अतिरिक्त सक्रियतामाथि आशंका व्यक्त गरेका छन् ।

सिआइबीले पक्राउ गरेका मालपोतका पूर्वनासु योगराज पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धि रिटमा सर्वाेच्च माग नै नभएको विषयमा आदेश दिएको हो । मन्त्रिपरिषद्बाट निर्णय गर्ने, त्यसलाई प्रमाणित गर्नेमाथि समेत अनुसन्धान गर्न भनेर सर्वाेच्चले सिआइबीलाई निर्देशन दिएको छ । कुनै पनि अनुसन्धानमा यसरी अदालतबाट निर्देशन हुने यो बिरल र अनौठो घटना हो ।

यो आदेशले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि सिआइबीले अनुसन्धान गर्नुपर्ने भएको छ । त्यस्तै, त्यतिबेलाको मन्त्रिपरिषद्को सामाजिक समितिका पदाधिकारीहरु पनि छानबिनमा तानिएका छन् ।

२०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारको समयमा सामाजिक समितिको सभापति बिजयकुमार गच्छेदार नै थिए । त्यतिबेला शिक्षामन्त्री रहेका माओवादी नेता दिनानाथ शर्मा पनि समितिका सदस्य थिए । सोही समितिले नै पशुपति टिकिन्छा गुठीका मोहीलाई जग्गा दिने निर्णय गरेको थियो । जसआधारमा शर्मामाथि पनि सिआइबीले अनुसन्धान गर्ने भएको छ ।

तर, शर्माले भने यस प्रकरणमा आफ्नाे संलग्नता नरहेको बताएका छन् । शर्माले भने– ‘म मन्त्रिपरिषदको सामाजिक समितिमा थिए । र, त्यो दिन (२०६९ असोज १४ गते) बिहान ९ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सामाजिक समितिको छलफलका चार वटा एजेण्डा थिए । मेरो एजेण्डा भूमिसुधार मन्त्रालय अन्तर्गतको ललिता निवास थिएन, शिक्षा मन्त्रालयअन्तर्गत ‘साक्षर नेपाल अभियान कार्यक्रम’ थियो । विभागीय मन्त्री आफ्नो एजेण्डामा छलफल गराउन उपस्थित हुने हो । अर्को कुनै मन्त्रालयको एजेण्डा पारित गराउने काममा सहभागी हुँदैन । त्यसैले यसमा मेरो कुनै संलग्नता छैन ।’

सो समितिका बैठकमा माधव रेग्मी पनि सहभागी थिए । उनी प्रधानमन्त्री कार्यालयको सचिवका रुपमा त्यस निर्णय प्रक्रियामा सहभागी थिए । लोक सेवा आयोगका अध्यक्ष रहेका रेग्मीमाथि पनि अब सिआइबीले बयान लिनुपर्ने भएको छ । संयोग कस्तो भने ललितानिवासमा मुछिएका सर्वाेच्च अदालतका न्यायाधीश कुमार रेग्मी माधव रेग्मीका भाइ हुन् । दाजुभाइ नै एउटै काण्डमा मुछिएका छन् ।

ललितानिवास प्रकरणको अनुसन्धान सिआइबीले अन्तिम चरणमा पु¥याइसकेको छ । अनुसन्धान थालेको ४३ दिन भइसकेको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहँदा सर्वाेच्च अदालतको आदेशपछि छानबिन थप लम्बिने भएको छ । तीन सय भन्दा धेरै आरोपी भए पनि यो मुद्दामा २० जना मात्र पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्