धनगढी, १७ पुस । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुले व्यवसायप्रति आत्मनिर्भर भई मर्यादित र स्वतन्त्र ढंगले बाँच्ने आधारको विकास गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखा भवनको उद्घाटन गर्दै उनले भने, ‘कोही कसैको दवाव पुग्न नसक्ने प्रेस बनाउन सकिए मात्र स्वतन्त्र प्रेस भएको मान्न सकिन्छ ।’
आगामी दिनमा नेपाली मिडियालाई प्रदेशस्तरबाटै सेवा सुविधा पाउनेगरी एकीकृत कार्यालयको स्थापनाको पहल भइरहेको बताउँदै मन्त्री बाँस्कोटाले सातै प्रदेशमा स्थापना हुने एकीकृत कार्यालयबाटै लोककल्याणकारी विज्ञापन, प्रेस पास, उजूरी गर्नेलगायत सेवा पाउन सकिने बताए ।
साथै, सरकारले ल्याएको सूचना प्रविधि विधेयकमा ‘होडिङ बोर्ड‘ राख्न नपाउने व्यवस्था गरिएकाले मालवस्तु बेच्नेहरुले मिडियाको सहारा लिनुपर्ने अवस्था आएको र नेपाली प्रेस लाभान्वित हुने उनेको भनाइ छ । हाल सञ्चालनमा रहेका एफएम रेडियोमध्ये व्यापारिक र सामुदायिक कुन हुन् भन्ने नछुट्टिएको अवस्था रहेकाले एफएमहरुलाई व्यवस्थित गर्न लागिएको पनि उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघ कैलालीका सभापति जगत साउद, केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका गंगाधर पराजुलीलगायतले आफ्ना धारणा राखेका थिए । सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र तत्कालीन जिल्ला विकास समितिको सहयोग रु ३० लाखको लागतमा महासंघको उक्त चार कोठा र एक सभाकक्षसहितको एकतले भवन निर्माण पूरा गरिएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मिडियालाई सबल र सक्षम बनाउने काममा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए ।