‘स्वाभिमान’ मान्छेको एउटा शक्ति रहेछ, स्वाभिमानी हुनु अभिमानी हुनु होइन । जापानका ती ‘ठूलामान्छे’ सँगको भेटघाटमा स्वाभिमानका साथ कुराकानी गर्ने बित्तिकै स्थितिले जसरी पुरै सकारात्मक मोड लियो, त्यसले त्यहाँ मलाई सहयोग गर्न पुगेका नयाँ पुराना मित्रहरू मात्र होइन, टोकियोमा रहेका साथीहरू पनि सबै खुसी भए । यो कुरा सरोजलाई पनि थाहा दिएँ ।
जापान छोड्ने बेला भइसकेको थियो, तर भिसाको म्याद अझै सकिएको थिएन । साथीहरूको माया पनि बाँकी नै थियो । बेफुर्सदी साथीहरूलाई थप दुःख दिन चाहिनँ । फेरि चीन नै फर्किनु थियो । यात्रा न हो जिन्दगी !
सरोज नेपालबाट चीन फर्किसकेका थिए, आफ्नो थेसिसको अन्तिम काम सिध्याउनका निम्ति । म जापानबाट फर्किन अलि ढिलो हुँदा उनलाई एक्लै बस्न गाह्रो पनि भएछ । मलाई फोनमा वा चिठीमा केही घुक्र्याउन पनि थाले । म पनि वास्तवमा फर्किने नै तयारीमै थिएँ । वास्तवमा मलाई चीन फर्कन भन्दा नेपालै फर्कन हतार लागिसकेको थियो ।
छिटोभन्दा छिटो उनको सपना पुरा होस् र नेपालमा चाहेजस्तै एउटा राम्रो अस्पताल बनोस् भन्ने कामनाले मात्र हैन, छोरीसँग भेट्ने हतारोले पनि नेपाल कहिले पुगुँ जस्तो भएको थियो । सरोज नेपालबाट चीन फर्कँदा छोरीलाई घरमै छोडेर फर्केका थिए । त्यसैले उनी पनि एक्लै नै भएका थिए ।
जापान बसाईको अन्तिम दिन मलाई जहाजमा पुर्याउन तोजी सानकै गाडीमा आसाही, इसुजुका सँगै ‘बन्दरगाह’सम्म आएका थिए । ओहारा आफ्नै गाडीमा आए । कोबेमा भएका सबै मित्रहरू कामबाट छुट्टी नै लिएर एयरपोर्ट पुगे ।
सबैप्रतिको मैत्री भाव अझै बढ्यो । पानीजहाजबाट मलाई शाङहाई पुग्नुथियो– दुई दिन दुई रात लाग्ने । इशिजुकाले बाटोमा खान भनेर खानेकुराको पोको पनि ल्याएकी रहिछन् । छुट्ने बेलामा हातमा थमाइदिइन् । कस्तो वास्ता, कति माया !
ती असल जापानी साथीहरूको प्रेम देखावटी मात्र थिएन । हृदयदेखि नै माया गर्ने साथीहरू थिए । जापान जाने बेला पनि कलेजकै अर्की साथी नुरिकोले ‘जापानमा अवस्था हेरेर लगाउनु है !’ भनेर उनकै कोट लगायत राम्रा लुगा दिएकी थिइन् । र, ‘यो जापान पुगेपछि मात्र खोल्नु’ भनेर एउटा खाम पनि दिएकी थिइन् । उनको वचन मानेरै मैले पनि धैर्यका साथ जहाजमा रहूञ्जेल दुईदिनसम्म खाम खोलिन ।
जापान पुगिसकेपछि खोलेर हेर्दा भित्र चालिस हजार येनसँगै एउटा नोट पनि रहेछ– ‘जापान महंगो ठाउँ हो । सबै कुरा महंगो हुन्छ । केही गरी साथीहरू नभएका बेला परेछ भने अप्ठ्यारो हुनसक्छ । भोकै नबस्नु… । आवश्यक परेको बेला यो पैसा खर्च गर्नु, है !’ भनेर दाम पनि राखिदिएकी रहिछन् ।
कस्तो वास्ता ! जापानमा म भोकै बस्नु पर्ने अवस्था त कहिल्यै आएन नै, बरु साथीहरूको माया धेरै भएर उल्टै मोटाएँ पनि । उनको वचनलाई सम्मान गर्दै त्यो पैसालाई जस्ताको तस्तै फर्काई दिने सोच लिएर पछि फर्काई पनि दिएँ ।
साथीहरूको व्यवहार सम्झँदा मनमा अझै प्रेम उर्लेर आउँछ । उनीहरूले मलाई गरेका सहयोगका बारे कहिल्यै कसैले अरूका अगाडि उल्लेखसम्म पनि गर्दैनन् । न त कहिल्यै मबाट कुनै फाइदा नै लिन चाहे । ‘नेपाल घुम्न आउ, म पनि तिमीहरूलाई सक्दो माया गरेर देश घुमाउँछु’ भनेकी थिएँ । नुरिको एकपल्ट आइन् । निसिकावा दुईपल्ट आइन् । अरू अझै आएका छैनन् ।
२०१८ मा मेरी छोरीले टोकियो यूनिभर्सिटीबाट ‘पिएचडी’ सिध्याउने बेला मलाई फेरि जापान जाने अवसर मिल्यो । मैले साथीहरूलाई खबर गरेँ । टोकियो र नजिकका धेरैजसो साथीहरूसँग भेट भयो । २८ वर्ष पछि पनि ती पुराना साथीहरूको हार्दिकता उस्तै थियो ।
टोकियोको एकजना फोटोग्राफर साथी मासुओ त ह्वीलचेयरमै बसेर पनि मलाई भेट्न आए– उनकी श्रीमती योकोको साथमा । उनले नेपालमा खिचेका तस्बिरहरूको एउटा फोटोपुस्तक नै प्रकाशन गरेका छन् ‘मेरो देश नेपाल’ शीर्षकमा ।
ती जोडी साँच्चै नै नेपाललाई हृदयदेखिनै प्रेम गर्ने मान्छेहरू हुन् । धेरै साथीहरूसँग भेटघाट भयो– खोयोको, सुसुमु, आसाही, तामायो, नुरिको र अरू पनि ! निशिकावाको घर बेप्पुसम्म पुग्यौं छोरीसमेत । तर, कोबे जान नसकेकोले उताका साथीहरूसँग भने भेट हुन सकेन । तर, ती सबै मेरो हृदयमा छन् । सबै उत्तिकै प्रिय र सम्मानयोग्य लाग्छन् ।
निशिकावा त कोभिडको कहर अघिसम्म पनि हरेक वर्ष नयाँ वर्षको क्यालेण्डर पठाइरहन्थिन् । अचेल भने सम्पर्क पातलिएको छ । धेरै साथीहरूको फोन नम्बर, ठेगाना आदि सम्पर्क माध्यम पनि हराएछु, घर सर्नेबेला । चिठीपत्रसमेत पहिलेजस्तो हुन सकेको छैन ।
ती प्रिय साथीहरूमध्ये नुरिको र निसिकावालाई मात्र उनीहरू नेपाल आएका बेला ‘काठमाण्डू मोडेल अस्पताल’ देखाउन भ्याएँ । कत्रो सपना थियो त्योबेला । अहिले त सरोजले नै बिरामी हेर्ने काम छोडिसके । अस्पतालमा काम गर्ने धेरै नयाँ कर्मचारीहरूले त हामीलाई चिनेकै पनि छैनन् ।
तर, आमाबाबुलाई जस्तै आफ्नो ‘मानस सन्तान’ हुर्किरहेको देख्दा सन्तोष लाग्दोरहेछ । आफै मोडेल अस्पतालमा जाँदा होस्, वा कतै चर्चा चल्दा होस्, म आफैले लेखेका यी पंक्ति सम्झन्छु–
‘हृदयले रोपेको बिरुवाले
मायाँले फुलाएको फूलले
आफूलाई हुर्काउने मालीलाई
साँच्चै नै चिन्न सक्छ र ?
कहिल्यै आफै अघि सरेर
आफ्नो मालीलाई सम्झेर
‘धन्यवाद’ भन्न सक्छ र ?
चीनमा मेरो पढाई पनि सकिइसकेकोले चीन फर्किहाल्नुपर्ने कुनै हतार त थिएन । तर, फिर्ती टिकटको मितिमै शाङ्हाई फर्किने निर्णय गरेँ । साथीहरू सबैसँग कृतज्ञ थिएँ । मनकारी मित्रहरूसँग विदा भएर म एक्लै जहाजभित्र पस्दा मन भारी भयो । छुट्टिने बेला आसाही र तोजी सानकोसमेत आँखामा आँसु देखेँ । मैले निकै मुश्किलले आँसु थामे । तर, जहाजमा एक्लै भएपछि भने सबैको गुन सम्झेर आँखा आफै भरियो ।
म विवाह गरेको १० वर्षपछि एक्लै भ्रमण गर्दै थिएँ । कहिले स्वतन्त्रताको अनुभूति हुन्थ्यो, कहिले भने बन्धन जस्तो । जहाज पनि सिंगो र संयुक्त घर जस्तै थियो– समुद्रमा हिँडिरहेको घर जस्तो । बाहिर चारैतिर पानी नै पानी । समुद्र नभएको देशको मान्छे म । अचम्म पनि लाग्थ्यो । समुद्रमा ठूलो छाल आउँदा डर पनि लाग्थ्यो– आफ्नो परिवारदेखि टाढा पानीको बीचमा । छोरी त नेपाल नै पुगिसकेकी थिई । छोरीलाई बेस्सरी सम्झिन्थें, एक आमा न हुँ !
जहाजमा विभिन्न देशका नयाँ सहयात्रीहरूसँग भेट भयो । ती पनि साथी नै भए । यात्रामा भेट्नु र छुट्नु त भइनै रहन्छ । मलाई माया गर्ने ती असल साथीहरूलाई सम्झेर मन भरिन्छ, तर ‘धन्यवाद’ भन्न पनि सक्दिनँ… !