Logo
Logo

हिमपातसँगै बढ्यो चिसो, जनजीवन प्रभावित


- दृष्टि न्युज/संवाददाता

0
Shares

बैतडी, १७ पुस । उच्च हिमाली भेगमा पुन हिममात भएको छ । मौसममा आएको परिवर्तनसँगै जिल्लाको उच्च लेकाली भेगमा हिमपात सुरु भएको हो ।
खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा आज बिहीबार पुन हिमपात भएको छ । यसअघि यो वर्ष मंसिरमै यहाँ हिमपात भएको थियो । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको स्थानीयले बताएका छन् । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको उनीहरुको भनाइ छ ।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न रोगकीरासमेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जनाए ।
प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको जनाएका छन् ।
यस्तै, बैतडीमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्