Logo
Logo

कविता सुनाउन नर्वेदेखि आएकी कविताले भनिन्- म कवि होइन


3.8k
Shares

काठमाडौं । नेपाली फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङले कवितासंग्रह ल्याएकी छन् । अभिनेत्री कविताको कवितासंग्रह ‘मेरो कविताको शीर्षक छ’ शुक्रबार एक समारोहबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राईलगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइ र अनुभवहरु कवितामार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफुले लेखेको कविता सबैलाई सुनाउन मन लागेर सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।
गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कवितासमेत थपेर संग्रहा ल्याउने सोच रहेको बताइन् । नर्वेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिक गर्नकै लागि नेपाल आएकी हुन् ।

‘भोलिका दिन म रहुँला वा नरहँुला, समयले साथ देला वा नदेला, मेरो कविता त्यतिकै थन्किएर बस्ला भनेर जे जति कविता तयार भयो । त्यो सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ’ उनले भनिन् । अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने उनको भनाइ छ ।

‘जब मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् ‘मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरेँ । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत बर्ष पुस्तक ल्याएँ । त्यसमा पनि साथ पाएँ ।’ पटकपटक साथ र सपोट गर्नेसँग भेट्ने बहानामा कविता लिएर नेपाल आएको उनले बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आँट र क्षमताको आफू सधैं प्रसंसक रहेको बताए । ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भएपनि राम्रो सुरुवात भयो ।’

कविताले पुस्तक पूरा गरेर सार्वजनिक गर्नेमा आफु आशावादी रहेको पराजुलीले बताए । कविता गुरुङमा साहित्यकारमा हुने राम्रो छनक आफुले पाएको पराजुलीको भनाइ छ । त्यस्तै, चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योती राईले अभिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनभुव भएकाले सबैको जीवनसँग कहिँ न कहीँ मेलखाने बताए ।

कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबैकुराहरु’ र ‘भेट्नुछ एकचोटी अब फेरि’ शीर्षकका तीन कविता बाचन गरेर सुनाएकी थिइन् । अभिनेत्री गुरुङले गतबर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि उनका जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशले परिवारको सहमतिबिना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्वे पुगेका उनीहरुको प्रेमकथामा केहही बर्षअघि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भुमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्