समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भनाई छ, ‘कम्युनिष्ट विचारधारा विश्वको उच्च कोटीको सिद्धान्त हो ।’ यही उच्च कोटीको विचारधारा अंगाल्ने नेपाली कम्युनिष्टहरूले वर्तमानमा देश र जनतालाई ढाटिरहेको, विचार अनुसारको व्यवहार नभएको, महंगो जीवनशैली बिताइरहेको, नव धनाड्य बनेको, आन्दोलनको अपमान गरेको, दम्भ देखाएको, पार्टी सत्ता र राज्य सत्ताका निम्ति जेसुकै गर्ने जस्ता अनेकौं आरोप खेपिरहेका छन् ।
यदि, कम्युनिष्टहरूले देश र जनतालाई झुटो बोल्छन् भने ती कम्युनिष्ट होइनन् । तिनीहरू अर्कै जात हुन् । कम्युनिष्ट दर्शन, विचार र सिद्धान्तलाई बदनाम गराउने बिचौलियाहरू हुन् । त्यस्ता व्यक्ति र प्रवृत्तिबाट आन्दोलन र पार्टीलाई अलग राख्न सक्नुपर्छ ।
तर, आज नेपाली राजनीतिमा सबैभन्दा मौलाएको खेती केही हो भने झुटको खेती हो । हामी जे हौं, त्यो भन्दैनौं । हामी जे होइनौं, आफूलाई त्यहि हो भन्छौं । हामीले गर्न सक्ने कुरा बोल्दैनौं, हामी जे गर्न सक्दैनौं, त्यहि कुरा गर्छु भन्छौं । योभन्दा अरू झुट के हुन सक्छ ? अनि यस्तै झुटको विश्वास जनताले गरिदिने ? यो अर्को बिडम्बना हो ।
सात दशक लामो बलिदान र संघर्षपछि प्राप्त गरिएको संविधान कार्यान्वयनको पाटो अत्यन्तै सुस्त बन्दा अनेकखाले अराजकताले स्थान पाइरहेका छन् । संविधान कार्यान्वयनको पाटो कसका कारण कमजोर बन्यो ? यो कुरा आम मानिसलाई थाहा नै छ । आज मुलुक र मुलुकबासी अत्यन्तै निराश छन् । देशमा भूराजनीतिक गतिविधि विध्न छन् । यस्तो विषम अवस्थामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालै एउटा कार्यक्रममा संविधान कार्यान्वयनमा इमान्दार नबनेको, आफूलाई मात्र केन्द्र विन्दुमा राख्ने गरेको, देश र जनतालाई केन्द्र विन्दुमा राख्न नसकेको स्वीकारोक्ति प्रकट गरेको सुनियो ।
शीर्ष नेताहरू नेपाल, प्रचण्ड, देउवा, बाबुराम भट्टराईहरू नयाँ पुस्ताका निम्ति जिउँदो इतिहास् हुन् । उनीहरूले आफ्नो उर्जाशिल उमेर र संकटपूर्ण अवस्थामा क्रान्ति, आन्दोलन र परिवर्तनको लडाईंलाई दायाँबायाँ हुन नदिइकन लोकतान्त्रिक समाजवादी गणतन्त्र स्थापना गरेका छन् । यसमा कुनै दुईमत छैन । साथै पछिल्ला दिनमा उनीहरूले आफ्ना अभिव्यक्तिहरूमा देश र जनताका नाममा गल्तीहरू भइरहेको स्वीकारसमेत गरिरहेको सुनिन्छ । यो सर्वथा राम्रो कुरा हो । गल्ती मान्छेबाटै हुन्छ । तर, बारम्बार गल्ती असल मान्छेबाट हुन सक्दैन । माफी केही पटकका लागि हुन्छ, बारम्बारका निम्ति हुँदैन ।
आज हामी विज्ञानले दर्शनमाथि विजय खोजिरहेको र लोकप्रियतावादले राजनीतिलाई लतारिरहेको अवस्थामा आइपुगेका छौं । यसको ठोस् विश्लेषण गरेर अघिल्लो पुस्ताले विकल्प खोज्नु र रोज्नुपर्छ भनेर यसअघिको लेखमा उल्लेख गर्दा केही पाका नेताहरू रूष्ट भएको देखियो । स्मरण रहोस्, राजनीति उमेरले होइन, मुद्धाले गर्ने हो भन्नेहरू पनि हामी नै हौं । तर, अघिल्लो पुस्तासँग आजका दिनमा न त एज छ, न एजेण्डा । अनि सेनामेनाहरूले हातमा झुण्ड्याएर शौचालय लानुपर्ने अवस्थाका बुढा नेताहरूबाट समाजवादी क्रान्ति अगाडि बढ्छ भनेर कसले पत्याउछ ? कसरी पत्याउने ?
आफूप्रतिको जनआकर्षण घटिरहेको नदेख्नु पनि देश र जनतालाई ढाट्नु हो । प्रत्येक दिन रिबन काट्ने र भाषण छाट्ने कामले समाजवादी क्रान्तिले गति लिन सक्दैन । पार्टी शक्ति र राज्य शक्तिमा पुग्नका लागि स्थापित दलका नेताहरूले पालोप्रथा कडाइका साथ कार्यान्वयन गरिरहेका छन् । जसरी पार्टीशक्ति र राज्य शक्तिमा पुग्नका लागि पालो प्रथाको कार्यान्वयन गरिरहेका छन्, त्यसैगरी सामूहिकता, पार्टीको विचार, सिद्धान्त, विधि, नीतिको कार्यान्वयन गर्न सकेको भए हामीले विकल्पको आवाज बोल्नुपर्ने थिएन ।
राजनीतिक दलमा पालो प्रथा कुनै अपराधिकरण गरिएका प्रथाभन्दा कम अन्यायपूर्ण छैन । दासप्रथा, सतिप्रथा, दाइजोप्रथा, बालिघरे प्रथाभन्दा खराब प्रथाका रूपमा जकडिएको छ पार्टीमा पालोप्रथा । आफ्नो उमेर र उर्जाको प्रयोग, दुरूपयोग सब गर्न उद्दत रहेको पहिलो पुस्ताको सबैभन्दा कमजोरी पक्ष यही हो । पार्टी सदस्यता कहिलेदेखि बोकेको हो ? कति चाकडी गर्छ ? आतेजाते टिकट काटेको, दारुपानी खुवाएको मान्छेबाहेक क्षमता र सम्भावना बोकेका व्यक्तिलाई विभिन्न बाहनामा किनारा लगाउने काम भइरहेका छन् ।
आज जनवादी केन्द्रीयता, द्वन्द्वात्मक भौतिकवाद, वर्ग विश्लेषणमाथि नविन व्याख्याको प्रश्न उठिरहेको छ । यतीबेला नै लोकतन्त्र ओरालो यात्रामा छ । विचार, सिद्धान्त, विधि र नीतिले संटक झेलिरहेको छ । अर्काेतर्फ दर्शनमाथिको खतरा, राजनीतिमाथि लोकप्रियतावादको हमला कम छैन । लोकतान्त्रिक गणतन्त्रलाई कुरूप देखाएर यथास्थितिवादी, पुनर्उत्थानवादी र दक्षिणपन्थी अवसरवादीहरूले झुटलाई सयौँ पटक सत्य हो भन्दै भ्रमको खेती गरिरहेका छन् । अरुले गरेका राम्रा कामलाई आफूले गरेको भनेर जस लिने काम गरिरहेका छन् ।
परिवर्तन विरोधी शक्तिहरूको काम भनेकै यस व्यवस्थालाई असफल पार्नु हो । उनीहरूले गणतन्त्रका विरुद्ध जुनसुकै भ्रम र फण्डा झिक्न सक्छन् । त्यस्तो बेला प्रगतिशील जनताहरू, समाजवादी राजनीतिक शक्तिहरूले भ्रमलाई चिर्न सक्नुपर्छ । आज प्रतिगामीहरू निराशा बाढेर व्यवस्थाप्रतिको बितृष्णा जगाउने काम गरिरहेका छन् । यो देशमा केही छैन, नेताहरूले सारा बिगारे भन्दै नारा लगाउने काम गरिरहेका छन् ।
जसले जेसुकै भनेपनि यो देश आजसम्म ल्याउने पहिलो पुस्ताका नेता नै हुन् । पहिलो पुस्ताका नेताहरूले कठिन समय देखेको, भोगेको र लेखेको हो । पछिल्लो पुस्तालाई सजिलो बनाउनका निम्ति आज प्रयत्न लागिरहेको छ । हामीले यो कुरा बुझेका छौं कि भोलिको दिन सहज छैनन् । थप कठिन छन् । विज्ञान, प्रविधि, साइबर चुनौती, पर्यावरण, जातीय, लैंगिक र धर्मको राजनीति कुनै युद्धभन्दा कम छैन ।
त्यसैले अबको यात्रा पहिलो पुस्ताबाट सम्भव छैन भनिएको हो । समय निक्कै अघि बढिसक्यो । यही कुरा आम मानिसले बुझ्नुपर्छ । हरेक पार्टीको दोस्रो र तेस्रो पुस्ताले रूपान्तरणसहितको पुस्तान्तरणका लागि निर्णायक कदम चाल्नुपर्छ । भनिन्छ, बोलेर रित्तिनुभन्दा सुनेर भरिनु राम्रो कुरा हो । तर, हामीले नेताका कुरा धेरै सुन्यौँ । हामी भरिएर पनि पोखिने अवस्थामा आइपुगिसकेका छौं । सुन्दासुन्दा कान दुख्ने भइसके । एउटै नेताका कुरा हामीले धेरै पटक सुन्यौं । फरक केही भेटिएन । विगतको ब्याज खाएर मोटाउने बाहेक पहिलो पुस्ताको लागि आजका दिनमा अर्को कुनै सफलता देखिएन । पहिलो पुस्ताले गरेको संघर्ष एउटा कठिन संघर्ष थियो । जसको योगदानबारे इतिहास जानकार छ । एउटै व्यक्ति वा नेताले जीवनभर आन्दोलनको नेतृृत्व गर्न सक्दैन । यो प्राकृतिक नियम हो ।
अन्त्यमा, आज मुलुकमा समाजवादी मोर्चा बनेको छ । जसलाई मैले नयाँ आशावादका रुपमा ब्याख्या गर्ने गरेको छु । भलै जसकाप्रति बजारमा धेरै चर्चा र बहस सुनिँदैन । आखिर किन ? किन कि आजभन्दा ३०÷४० वर्ष पहिलेदेखि नेतृत्वमा रहँदै आएका नेताहरू नै मोर्चाको मुख्य स्थानमा छन् । जसको उपादेयता जनताले समाप्त भइसकेको बताइसकेका छन् । मुख्य नेताको उपादेयता अझै बाँकी छ भन्नेहरू सीमित कार्यकर्ता होलान् । जसले नेताको वरिपरी रहेर मौका र अवसर लिन पाइरहेका छन् ।
नयाँ बनेको समाजवादी मोर्चालाई कालान्तरमा एउटै पार्टीका रूपमा विकास गर्ने भनिएको सुनिन्छ । पछि एकता गर्ने भए अहिले किन नगर्ने ? पहिलो पुस्ताका नेताहरू सल्लाहकारको भूमिका बसेर दोस्रो र तेस्रो पुस्तालाई पार्टी र राज्य सत्ताको जिम्मेवारी दिदा हुँदैन ? पहिलो पुस्ताका नेताहरूलाई तीन चार दशक हेरिसकियो । युवा पुस्तालाई एक पटक हेरौं । विचारको उत्पादन र पुनर्रोपन गर्ने शक्ति नै युवा पुस्ता हो । युवालाई विश्वास गर्न जति ढिलो हुन्छ, विचार र सिद्धान्तले उत्तिकै रूपमा मात खाइरहनु पर्छ । चेतना भया ।