Logo
Logo

ल्यारक्यालको नियुक्तिले लुम्बिनी गन्हायो, सुशासन प्रचण्डको देखाउने दाँत


882
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिको चर्का भाषण गरे पनि सुशासन देखाउने दाँत मात्रै रहेको उनको पछिल्लो क्रियाकलापले देखाएको छ । दोहोरो नागरिकता, भारतीय रासनकार्ड÷राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्ति आर्जनदेखि बैंकको लकरमा बन्दुकका गोली राखेका विवादास्पद ल्यारक्याल लामालाई प्रधानमन्त्री प्रचण्डले लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि पवित्र धार्मिकस्थल गन्हाएको छ ।

लामाको नियुक्तिको लुम्बिनीमै व्यापक विरोध भएको छ । उनी लामा हुन् वा लामाको भेषमा अनेकौँ धन्दा गर्ने गिरोह हुन् भन्ने कुरा उनको विगतको चरित्रले स्पष्ट पारेको छ । यस्ता विवादास्पद व्यक्तिलाई लुम्बिनीजस्तो पवित्र स्थलको जिम्मेवारी सुम्पिएपछि बालुवाटारमा पनि पैसाको गन्ध आउन थालेको छ । विगतमा पनि लुम्बिनीको उपाध्यक्ष बन्न करोडौँ करोडको चलखेल हुने गरेको थियो । यस नियुक्तिमा पनि करोडौँको खेलबाहेक अरु केही नहुने माओवादीकै कार्यकर्ताहरूले बताएका छन् । ल्यारक्यालको नियुक्तिले प्रचण्डको निधारमा कलंकको दाग लागेको छ ।

विश्व सम्पदामा सूचीकृत बुद्ध जन्मभूमि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने, ऐतिहासिक सम्पदास्थलको संरक्षण गर्ने र बौद्ध दर्शनको अध्ययन–अनुसन्धान गर्ने÷गराउने सर्वोच्च निकायमा विवादास्पद छविका ल्यारक्याललाई नियुक्त गरेसँगै प्रचण्डको असली रुप देखिएको छ । लुम्बिनी कोषले वार्षिक करोडौँ बजेट सञ्चालन गर्छ । यसमा गृह, परराष्ट्र र अर्थ मन्त्रालयका सचिवसहित सदस्य हुन्छन ।

विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल लुम्बिनीको संरक्षण र अन्वेषण गर्ने निकायमा ल्यारक्यालको नियुक्तिले दीर्घकालीन रुपमा गम्भीर असर पर्ने सरोकारवालाहरू बताउँछन् । अरु कोही नभए जसरी शान्ति क्षेत्रमा बदनाम व्यक्तिको नियुक्तिले प्रचण्डको भित्री मनसाय बुझ्न सकिन्छ । त्यसमाथि पनि मन्त्रिपरिषदका अन्य सदस्यलाई थाहै नदिइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सिफारिस गर्न लगाएर प्रचण्डले नियुक्ति दिलाएका छन् । बैठक सकिएपछि प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिवले ल्यारक्यालको नाम निर्णयमा थपेको स्रोतले बताएको छ ।

विवादित लामालाई राजनीतिक संरक्षण हुँदै आएको छ । सुरुमा लामा कांग्रेससँग निकट थिए । बौद्धस्थित धाप्साङ रिम्पोछे गुम्बामा बौद्ध धर्मसम्बन्धी अध्ययन गरेका उनले भारतको कर्नाटकस्थित पेनोर रिम्पोछे गुम्बामा अध्ययन गरेका थिए । भारतबाट फर्केपछि उनले केही समय हेलम्बु क्षेत्रमा बौद्ध दर्शनसम्बन्धी प्रवचन चलाएका थिए ।

त्यही बेला कांग्रेस नेता मोहन बस्नेतसँग निकटसम्बन्ध बनाएर लामा ०५८ सालमा गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष बनेका थिए ।

त्यसपछि ०६४ सालमा एमाले प्रवेश गरेर लामा समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएका थिए । एमालेकै कोटाबाट उनी ०६७ सालमा अर्थराज्यमन्त्री बनेका थिए । अर्थराज्यमन्त्री बन्दा पनि करोडौँको खेल भएको एमाले नेताहरू बताउँछन् ।

तर, दोहोरो नागरिकता विवादमा मुछिएपछि उनले दुई सातामै राजीनामा दिएका थिए । लामाको विषय छानबिन गर्न न्यायिक आयोग नै गठन भएको थियो । पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेल नेतृत्वको आयोगले लामाको शंकास्पद भूमिकाबारे सूचनाहरू प्राप्त भए पनि क्षेत्राधिकार नभएको भन्दै छानबिन नै गरेन ।

माओवादीले रुपान्तरण अभियान संचालन गर्ने निर्णय गर्दै गर्दा प्रचण्डले ल्यारक्याललाई लुम्बिनी विकास कोषको नेतृत्व सुम्पिएर माओवादी सुध्रिदैन भन्ने सन्देश दिएका छन् । जबकि, माओवादीको केन्द्रीय समिति बैठकले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि माहोल सिर्जना गर्न माओवादी नेताहरू आगामी भदौ १६ गतेदेखि देशभर जनताको घरदैलोमा जाने निर्णय गरेको थियो । तर, अभियान सुरु हुन नपाउँदै प्रचण्डले लुम्बिनी विकास कोषबाट सुशासनको सन्देश दिएका छन् ।

आयोगले विदेशी राहदानी, रासनकार्ड र परिचयपत्रको आधिकारिकता जाँचका लागि गृह र परराष्ट्र मन्त्रालयसँग बारम्बार ताकेता गरेर सहयोग मागे प्राप्त नभएपछि छानबिन अलपत्र परेको थियो । पैसा, सत्ता र शक्तिले नै उनलाई बचाउदै आएका छन् ।

लामा स्वार्थअनुरुप दल पनि फेरिरहन्छन । कांग्रेस, एमाले हुँदै उनी हाल माओवादीमा छन् । पहिलो संविधान सभामा एमालेबाट सभासद बनेका लामा दोस्रो संविधान सभामा माओवादीबाट सभासद बन्न सफल भएका थिए । लामा ०७० सालको मंसिरको निर्वाचनअघि माओवादी प्रवेश गरेका थिए । मोटो रकम बुझाएर सरकारी लाभको पदमा लामा पुग्ने गरेको आरोप लाग्दै आएको छ ।

उनी वैदेशिक रोजगारको ठगी आरोपमा समेत पक्राउ गरेका व्यक्ति हुन् । मकाउ पठाउने भन्दै केही युवाबाट दुई करोड रुपैयाँ ठगेको आरोपमा उनी ०७२ चैतमा पक्राउ परेका थिए । त्यतिबेला लामा ३० लाख धरौटीमा रिहा भएका थिए । त्यसपछि लामामाथि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अनुसन्धान गरेको थियो ।

अनुसन्धान जारी रहेकै बेला ०७३ फागुन ३० मा उनको इन्भेस्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएको थियो । गोली भेटिएपछि पक्राउ परेका लामा ६६ हजार ७ सय रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

प्रहरीले गरेको अनुसन्धानमा स्वतन्त्र तिब्बत अभियानका नेता तथा बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोंगी ग्यारी र हलिउड अभिनेता रिचर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको खुलेको थियो । तर, प्रचण्डले यी विषयलाई वास्तै नगरी ल्यारक्याल जस्ता विवादास्पद व्यक्तिलाई लुम्बिनी विकास कोषको नेतृत्व सुम्पिएका छन् ।

माओवादीले रुपान्तरण अभियान संचालन गर्ने निर्णय गर्दै गर्दा प्रचण्डले ल्यारक्याललाई लुम्बिनी विकास कोषको नेतृत्व सुम्पिएर माओवादी सुध्रिदैन भन्ने सन्देश दिएका छन् । जबकि, माओवादीको केन्द्रीय समिति बैठकले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि माहोल सिर्जना गर्न माओवादी नेताहरू आगामी भदौ १६ गतेदेखि देशभर जनताको घरदैलोमा जाने निर्णय गरेको थियो ।

तर, अभियान सुरु हुन नपाउँदै प्रचण्डले लुम्बिनी विकास कोषबाट सुशासनको सन्देश दिएका छन् । प्रचण्डको उक्त निर्णयको माओवादीभित्रै पनि व्यापक आलोचना भएको छ । भुटानी नक्कली शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण लगायतका प्रकरणमा सरकारले प्राप्त गरेको जनताको विश्वास ल्यारक्याल प्रकरणले गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्