Logo
Logo

बीमा क्षेत्रमा अराजकता


2.6k
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीमा कार्यरत सञ्चालक, कर्मचारी, अभिकर्ता, सर्भेयरको शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा चासो देखाएपछि यस क्षेत्रमा खैलाबैला मच्चिएको छ । बीमा क्षेत्रमा नक्कली शैक्षिक योग्यताको बिगबिगी नै छ । पैसा र पहुँचका आधारमा बीमा कम्पनीमा महत्वपूर्ण पदमा पुगेकाहरुको नक्कली प्रमाणपत्र र किर्ते कागजातको जानकारी प्राधिकरणमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि गुहारेको छ ।

दिनेश उपाध्याय

पहुँचका भरमा योग्यता नै नपुगी राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बनेकामध्ये दिनेश उपाध्याय पनि हुन् । उनी नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाका पति हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो आदेशमा २०७९ असोजमा उनको नियुक्ति भएको हो ।

योजनावद्ध तरिकाले चुनावको मुखमा नियुक्त भएका उपाध्यायविरुद्ध दर्ता भएको उजूरीमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा नियुक्ति गैरकानूनी र त्रूटीपूर्ण रहेको भनिएको छ । नियुक्तिका बेलामा वायोडाटा पेश गरेका उनले आवश्यक प्रमाणपत्र तथा कागजातहरु पेश नगरेको अख्तियारको उजूरीमा उल्लेख छ ।

राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बन्न योग्यताबारे असोज २३ २०७९ मा राजपत्रमा उल्लेख छ । जस अनुसार बुँदा नम्बर ४९ को क मा बिमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाका सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने भनिएको छ । ४९ को ख मा कुनै विषयमा स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको उल्लेख छ ।

४९ को ग मा चार्टर्ड एकाउन्टेण्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्तानकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ । तर, योग्यता नपुगेका उपाध्यायले नेपाली काँग्रेसकी सहमहामन्त्री डीना उपाध्यायको पति भएकै कारण राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष बन्ने अवसर प्राप्त गरे ।

जर्नादन शर्मा अर्थमन्त्री हुँदा शेरबहादुर देउवाको दबाबमा दिनेश उपाध्याय कम्पनीको अध्यक्ष बन्नुअघि उनी मकवानपुर जिल्ला सहकारी संघका सचिव थिए । उपाध्यायले बायोडाटा बुझाएपनि योग्यताको वृस्तृत विवरण नबुझाएको खुलेको छ । बीमाबारे ज्ञान नभएका र योग्यता नपुगी नियुक्ति पाएका उपाध्यायका कारण राष्ट्रिय बीमा कम्पनीले महत्वपूर्ण कामहरु गुमाइरहेको छ । जसमध्ये नेपाली सेनाको फाष्ट ट्रयाकको बीमा पनि हो । बिमाको अनुभव नभएकालाई पहुँचको बलमा अध्यक्ष बनाउँदाको नोक्शानी राष्ट्रिय बिमा कम्पनीले भोगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्