काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । सो वित्तीय विवरण हेर्दा बैंकहरूको खराब कर्जा बढेको बढ्यै छ । मर्जरपछि ठूला बैंकहरुमा रुवावासी छ । अर्थतन्त्रमा मन्दी आउँदा वाणिज्य बैंकहरूको खराब कर्जा अघिल्लो आवको तुलनामा गत आवमा दोब्बरले बढेको छ । २०७९ असारमा १.२० प्रतिशत रहेको वाणिज्य बैंकहरूको औषत खराब कर्जा दोब्बर बढ्दै असार २०८० मा २.७ प्रतिशत पुगेको छ ।
खराब कर्जा बढ्नुमा अर्थतन्त्रमा आएको सुस्तता र चर्को ब्याजदरलाई कारण देखाइएको छ । तर कारण यतिमात्रै भने होइन । मर्जरका क्रममा बैंकहरूले आफ्नो जोडी उपयुक्त हुने गरी छान्न नसक्दा पनि अहिले कतिपय राम्रा बैंकहरु पनि खराब कर्जाको शिकार बनेका छन् । एक्लै कारोबार गरिरहेका बैंकहरूको तुलनामा मर्जरमा गएका बैंकहरूको खराब कर्जा उल्लेख्यरुपमा बढेको हो ।
चालु आर्थिक वर्षको असार मसान्तमा सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेको २० वटा बैंकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा ५५ अर्ब १७ करोड४५ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
तर, यसबीचमा ६ वटा वाणिज्य बैकहरू मर्जर भएर आफ्नो अस्तित्व गुमाएका छन् । मर्जर भएको कमजोर बैंकहरु एनसीसी, मेगा, सनराइन, सिभिल, सेञ्चुरी र बैंक अफ काठण्माडूले कमाएको नाफा समेत जोड्दा आर्थिक वर्ष २०७८÷७९ मा वाणिज्य बैंकहरूले ६७ अर्ब ७३ करोड भन्दा बढी मुनाफा कमाएका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा करिब साढे २ अर्बले मात्रै नाफा बढेको छ ।
हिमालयन बैंकमा गाभिएको सिभिल बैंकको २ अर्ब ६० करोड रुपैयाँ घाटा एड्जस्टमेन्ट गरेको छ । साथै, बैंकले कर्जा लगानीमा धितोले धान्ने भन्दै ऋण राइटअपको लागि १ अर्ब ७ करोड रुपैयाँ गैर सञ्चालन खर्चमा देखाएको छ । जसले गर्दा बैंकको वित्तीय विवरण प्रभावित भएको छ । बैंकले सिभिल बैंकलाई गाभ्दा आएको स्वाप रेसियो बार्गेन पर्चेज नभई गुडविलको रुपमा आएको र त्यसलाई रिजर्भमा समायोजन गरिएको बताएको छ ।
कुमारी बैंक र एनसीसी बैंक मर्जर भई बनेको कुमारी बैंकले सम्भावित कर्जा नोक्सानीको लागि मात्रै करिब ५ अर्ब ७४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । जसले गर्दा बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकको मर्जर अगाडिको सञ्चित नोक्सानी २ अर्ब ४० लाख रुपैयाँ देखाएको छ । जसले गर्दा बैंकको वित्तीय विवरण सञ्चित नोक्सानीमा देखिन्छ ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरण पनि त्यस्तै देखिन्छ । बैंकको सम्भावित कर्जा नोक्सानीका लागि २ अर्ब ४४ करोड रुपैयाँ प्रोभिजनिङ गर्दा बैंकले ब्याज उठाउन नसकेर ५० करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याएको छ ।
असार मसान्तमा २ अर्ब ६० करोड सञ्चित नाफामा भएपनि मर्जर अगाडिको मेगा बैंक २ अर्ब ४४ करोडले सञ्चित नोक्सानीमा रहेकोले त्यसको दबाब वितरणयोगय मुनाफामा परेको बैंकको वित्तीय विवरणमा देखिन्छ ।
मर्जर हुँदा गाभिएका सबै बैंकहरुको सञ्चित घाटामा रहेको वित्तीय विवरण देखिइएको छ । मर्जर अगाडि सिभिल बैंक २ अर्ब ६० करोड घाटामा रहेको हिमालयन बैंकले देखाएको छ । यस्तै एनसीसी बैंक २ अर्ब ४० करोड घाटामा रहेको विवरण देखाउँदा मेगा बैंक २ अर्ब ४४ करोड घाटामा रहेको विवरण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देखाएको छ ।
प्रभु बैंकमा गाभिएको सेञ्चुरी बैंक पनि १ अर्ब ६६ करोड घाटामा रहेको देखाइएको छ । प्रभु बैंकले करिब २ अर्ब ४४ करोड सम्भावित कर्जा नोक्सानीका लागि प्रोभिजन गर्दा करिब ४१ करोड ब्याज उठ्न नसकेको भन्दै रेगुलेटरी रिभर्जमा देखाएको छ ।
ग्लोबल आईएमईमा गाभिएको बैंक अफ काठमाण्डू पनि मर्जर अगाडि ९ करोड ५२ लाख सञ्चित घाटामा रहेको एकीकृत वित्तीय विवरणमा लेखाङ्कन गरिएको छ । असार अन्तिम साता लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भई बनेको लक्ष्मी सनराइज बैंकमा पनि सनराइज बैंक १६ करोड ३५ लाख रुपैयाँले सञ्चित घाटामा रहेको लेखाङ्कन भएको देखिन्छ ।
मर्जर भएका बैंकको रिकभरीमा झनै समस्या देखिएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउँछन् । ‘मर्जर अगाडि पुससम्म हिमालयन बैंक घाटामा थिएन । निष्क्रिय कर्जा पनि यति धेरै थिएन,’ उनले भने, ‘सिभिल बैंकको मात्रै साढे २ अर्ब नोक्सानी देखिएको छ भने धेरै कर्जा बिग्रिएको छ ।’
हिमालयन बैंकको बैंकिङ कल्चर अनुसार उक्त प्रोभिजनिङ गर्नुपर्ने देखिएको भन्दै अन्य बैंकमा पनि यस्तै जोखिम बढेको हुनसक्ने उनले बताए । यसमा राष्ट्र बैंकले उच्च निगरानी गर्नुपर्ने राणा बताउँछन् ।
सबैभन्दा धेरै निष्क्रिय कर्जा कुमारी र एनसीसी मर्जर भई बनेको कुमारी बैंकमा देखिएको छ । बैंकको निष्क्रिय कर्जा ४.७७ प्रतिशत हुँदा हिमालयन बैंकको ४.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.३५ प्रतिशत पुगेको छ । यस्तै प्राइम कमर्सियल बैंकको ४.२३ प्रतिशत र प्रभु बैंकको ४.१५ प्रतिशत पुगेको छ । प्राइम बाहेकका ४ वटै बैंक मर्जरमा गएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा मर्जर भएका बैंकहरूमा राष्ट्र बैंकले निरन्तर निगरानी गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताउँछन् । उनले भने, ‘अहिले बैंकहरू पनि र केन्द्रीय बैंक पनि मर्जरको उत्सव मनाइरहेका छन् । समस्या आएपछि मात्रै थाहा पाउने अवस्था आउँदा ढिला हुन्छ ।’
मर्जर भएका बैंकहरूमा ‘मिसम्यानेजमेन्ट’ भइरहेको उनले बताए । यस्तो अवस्थामा केन्द्रीय बैंकले निगरानी गर्ने र जोखिम नियन्त्रणका लागि कदम चाल्नुपर्ने उनी बताउँछन् ।