Logo
Logo

रेल विभाग र परामर्शदाताबीच निजगढ-भरतपुर रेलमार्ग डिपिआर सम्झौता


- दृष्टि न्युज/संवाददाता

0
Shares

निजगढ, २० पुस । मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच डिपिआर सम्झौता भएको हो ।
१५ महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । उनका अनुसार डिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेशनको समय दिइएको छ । २०७७ वैशाखसम्ममा परामर्शदाताले डिपिआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।
परामर्शदाताले डिपिआरका लागि विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४०० अमेरिकी डलर र नेपाली साझेदारका लागि रु १२ करोड नौ लाख ८० हजार ६५२ प्रस्ताव गरेका थिए ।
मेची–महाकाली रेलमार्गअन्तर्गतको निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको डिपिआर निर्माण गर्न १३ परामर्शदाताले आवेदन हालेका थिए । विभागको मूल्यांकन समितिले कार्यक्षमताका आधारमा छ परामर्शदाताको प्रारम्भिक सूची तयार गरेको थियो । २०७५ पुस १८ गते सूचीकृत भएका परामर्शदातासँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको थियो ।
रेल विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहे पनि कुनै पनि आयोजनाका लागि ठेक्का लगाउन र सम्झौता गर्न मन्त्रालयको सहमति आवश्यकता नपर्ने विभागले जनाएको छ ।
विभागको प्रारम्भिक सूचीमा परेका परामर्शदातामध्ये युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभी प्राविधिक तथा आर्थिक क्षमताका आधारमा निजगढ–हेटौँडा–भरतपुर सडकखण्ड रेलमार्ग निर्माणको डिपिआरका लागि योग्य देखिएको हो । उसले प्राविधिक क्षमतामार्फत ९२.५७ प्रतिशत अंक प्राप्त गरेको विभागले जनाएको छ ।
डिपिआर तयार गर्न विदेशी साझेदारका लागि १२ लाख ८५ हजार ४०० अमेरिकी डलर र नेपाली साझेदारका लागि रु १२ करोड नौ लाख ८० हजार ६५२ प्रस्ताव गरेको थियो । निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको रेलमार्ग डिपिआर अगाडि बढाइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्