काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो ।
नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । बोर्ड अध्यक्ष रमेश हमालले मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिएका छन् ।
नियमावली स्वीकृत भएसँगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको छ । जसअनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन् ।
त्यस्तै प्रिमियममा आईपीओ निष्काशन गर्ने व्यवस्था पनि केही परिमार्जन गरिएको छ । पुँजीबजारमा रियल सेक्टरका कम्पनीहरूको सहभागिता बढाउने उदेश्यले त्यस्ता कम्पनीहरुलाई आईपीओ जारी गर्नको लागि केहि खुकुलो व्यवस्था समेत गरिएको छ ।