जितमा खुसी नहुने कुरै हुँदैन । उपाधि पोल्टामा पर्दा किञ्जल नेपाल पनि खुसीले फुरुंग भइन् । ‘मिस लिटिल एञ्जल-२०२३’को उपाधि उचालेकी किञ्जलले यसरी खुसी साटिन्, ‘विजेतामा मेरो नाम घोषणा हुँदा त सप्राइज नै भएँ ।’ कलश इभेन्टस्द्वारा काठमाडौंमा आयोजित ‘मिस लिटिल एञ्जल-२०२३’को उपाधि जितेपछि पहिलोपटक दृष्टिसँग खुसी साट्दै १३ वर्षीय किञ्जलले भनिन्, ‘यो उमेरमै ताज जित्नुमा मेरो ममी र बुबाको मुख्य देन छ ।’
कलंकीस्थित विस्टन इंग्लिस एकेडेमीमा ७ कक्षामा अध्ययनरत किञ्जलले डाक्टर बन्ने लक्ष्य लिएकी छन् । स्वभावले अलिअलि गम्भीर र हँसिली किञ्जल मोडलिङसमेत रुची राख्छिन् । ‘डाक्टरसँगै मिस नेपाल बन्ने मेरो इच्छा छ, डाक्टर बन्नेचाहँ मेरो सानैदखिको इच्छा हो’ किञ्जलले भनिन्, ‘ठूली भएपछि फिल्ममा अभिनय गर्ने रुची छ ।’ डान्सिङ, सिंगिङ र मोडलिङमा रुची राख्ने धादिङ निलकण्ठ-२ की ‘मिस लिटिल एञ्जल’ किञ्जल नेपालसँग दृष्टिको जम्काभेट :
‘मिस लिटिल एञ्जल-२०२३’ उपाधि उचाल्न पाउँदा कस्तो लागिरहेको छ ?
एकदमै खुसी छु । सुरुमा त सप्राइज नै भएँ किनकि मैले उपाधि जित्छु भन्ने लागेकै थिएन । तर, जब स्टेजमा विजेताको नाम घोषणा हुँदा मेरो नाम आयो, एकछिन त सप्राइज भएँ ।
आफ्ना प्रतिस्पर्धीलाई कसरी पछि पारेँ जस्तो लागिरहेको छ ?
मुख्य कुरा त पर्फमेन्स नै हो । हामी ३६ जना थियौँ । पर्फमेन्स पनि सबैको राम्रो थियो । तैपनि म कन्फिडेन्ड थिएँ । किनकि यो प्रतियोगितामा भाग लिनुअघि पनि यस्तैखाले प्रतियोगितामा पार्टिसिपेन्ट भएकी थिएँ, जसबाट ममा कन्फिडेन्ट डेवलभ भएको थियो । त्यही कन्फिडेन्टले गर्दा विनर बन्न सफल भएँ ।
सानैमा यस्ता प्रतियोगितामा भाग लिने सोच कसरी आयो ?
पहिलो पटकचाहिँ आमा–बुबाले सहभागी गराएको हो । यस ‘मिस लिटिल एञ्जल’मा त भाग लिन्छु भनेर सोचेकै थिइनँ । तर, मेरो सानीआमाका छोरा भाइले भाग लेउ, तिमी सक्छौं भनेपनि सहभागी भएकी हुँ ।
प्रतियोगितामा भाग लिएर के सिक्नुभयो ?
सबैभन्दा ठूलो हारेपनि, जिते पनि कोशिस गर्नु पर्ने रहेछ भन्ने कुरा सिकेँ । अर्को कुरा, गल्तीलाई स्वीकारेर जानुपर्छ भन्ने ज्ञान पाएँ । जस्तै, शिक्षकले गाली गर्छ, तर, शिक्षकबाटै ज्ञान आर्जन गरेर हामी ठूलो मान्छे बन्छौँ । यदि, शिक्षकले गाली गर्छ भनेर इख लिएर बस्यो भने आफैं पछाडि पछौँ ।
यस्ता इभेन्टमा भाग लिँदाको पाइदाचाहिँ के छ ?
धेरै फाइदा छन् । डिसिप्लिन मेनटेन्स हुन्छ । नयाँ नयाँ साथीहरुसँग भेटघाट हुन्छ । भेटघाटपछि कुराकानी हु्न्छ । र, नयाँ नयाँ कुरा सिक्न पाइन्छ । जसले ठूलो भएर पनि ती कुराहरुको स्मरण हुन्छ, र सोचिन्छ कि, म यसरी संघर्ष गरेर पो आएकी हुँ त । जसले मैले केही गर्नुपर्छ भनेर थप प्रेरणा मिल्छ ।
थुप्रै यस्ता इभेन्टहरु आयोजना हुन्छन् । कुनै इभेन्टको नाम थाहा छ ?
यो मिस लिटिल एञ्जल त भइहाल्यो, त्यसबाहेक ‘मिस नेपाल’, ‘मिस एसईई’बारे थाहा छ । ठूली भएर मिस नेपालमा भिड्ने मेरो पनि इच्छा छ ।
‘मिस लिटिल एञ्जल’मा सहभागी हुँदा स्कुलले सपोर्ट ग¥यो कि गरेन ?
स्कुलले पनि सपोर्ट ग¥यो । प्रिसिन्पलले बोलाएर छुट्टै राखेर बोल्नका लागि समय दिनुभयो । राम्रो राम्रो गर्नुपर्छ है भनेर प्रिसिन्पलले सजेशन दिनुभयो । मुख्यगरी मैले ममीबाट सर्पोट पाएँ । त्यसो त बाबाले पनि सपोर्ट गर्नुभयो । मेरो ममी र बाबाको सपोर्टले नै मिस लिटिल एञ्जलको उपाधि जित्न सफल भएकी हुँ ।
ठूलो भएपछि के बन्ने इच्छा छ ?
डाक्टर बन्ने मेरो सानैदेखिको इच्छा हो । त्यसबाहेक मोडल बन्ने । मोडल बन्नका लागि मिस नेपालमा सहभागी हुने इच्छा छ । र, आम मानिसको आइडल बन्न सकौँ भन्ने मेरो उद्देश्य हो ।
तपाइँको आइडल व्यक्ति को हो ?
डा. भगवान कोइराला । उहाँको काम र नामले म इम्प्रेसिव छु । र, मोडलिङमा सृष्टि महर्जनबाट इम्प्रेसिव छु । उहाँ मल्टि ट्यालेन्टेड हुनुहुन्छ । मैले रोहिया मेमबाट पनि धेरै कुरा सिक्न पाएकी छु । मेरो मुख्य आइडल व्यक्ति मेरो ममी हो । उहाँले आफ्नो दुःखलाई लुकाएर पनि अरुको सामु हाँस्नुहुन्छ । ममीकै सपोर्टले अगाडि बढिरहेको छु ।
आफूजस्तै साथीहरुलाई सुझाव दिनुपर्दा के भन्नुहुन्छ ?
सानैदेखि ‘मिस लिटिल एञ्जल’जस्ता प्रतियोगितामा भाग लिनुस् । जसबाट धेरै कुरा सिक्न सकिन्छ । यस्तो प्रतियोगिताबाट छुट्टै किसिमको नाम र पहिचान कमाउन सकिन्छ । जिते पनि, हारेपनि प्रयास गर्नुपर्छ । कोशिसले नै मानिसलाई सफलता दिलाउँछ ।
तपाइँको रुची के केमा छ ?
डाक्टर बन्ने मेरो सानैदेखिको उद्देश्य हो । रुचीचाहिँ डान्सिङ, सिंगिङ र मोडलिङमा छ । ठूली भएपनि यदि मौका पाए फिल्ममा अभिनय गर्ने इच्छा छ ।
नेपाली सिंगर को–कसलाई चिन्नुहुन्छ ?
गायक राजु लामा, प्रमोद खरेल, गायिका बेनिशा अधिकारी र अञ्जु पनि थाहा छ । उहाँहरु नेपालको राम्रो सिंगर लाग्छ ।
हाम्रो नेताहरु कस–कसको नाम सुन्नुभएको छ ?
केपी ओली, माधवकुमार नेपाल, प्रचण्ड र डा. रामवरण यादवको नाम सुनेकी छु । तर, उहाँहरु कुन पार्टी र के पदका हुन् भन्नेचाहिँ अलिक थाहा छैन ।
अन्त्यमा आफ्नो मनको कुरा भन्नुपर्दा ?
अहिले हामीलाई आर्थिक अभाव छ । तर, पछि आमालाई काठमाडौंमा घर बनाएर राख्ने इच्छा छ । अहिले मलाई स्कुलको फी तिर्नुलाई नै धौधौ छ । अस्ति, मैले जितेको पुरस्कारले पनि स्कुलको फी तिरेकी थिएँ ।